Comments Add Comment

सिंहदरबारबाटै यसरी हराउँछन् सरकारी गाडी

४ कात्तिक, काठमाडौं । मुलुकको सबैभन्दा सुरक्षित स्थान कुन हो ? सबैको जवाफ हुन्छ अवश्य पनि देशको केन्द्रीय सचिवालय सिंहदरबार नै हो ।

singha durbarप्रहरी र सेनाका ब्यारेक, प्रधानन्त्री कार्यालयसहित सबै मन्त्रालय र संसदसमेत एकै ठाउँमा रहेको सिंहदरबारमा सर्वसाधारणले सहज प्रवेश गर्न समेत पाउँदैनन् ।
तर, मुलुककै सम्भवतः सबैभन्दा सुरक्षित सिंहदरवारभित्रै चोरी हुने गरेको छ । चोरी पनि नगद वा सानातिना सामान होइन, अनगिन्ती सरकारी गाडीहरु सिंहदरबारभित्रैबाट चोरी भइरहेको खुलासा भएको छ ।
शहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्कीले संसदको अर्थ समिति बैठकमा सभासदहरुकै सामुन्ने सिंहदरबार परिसरबाट करोडौं रुपैयाँका सरकारी गाडीहरु हराउने गरेको बताए ।
उनले निस्फिक्री भएर भने-‘सिंहदरबार भित्रैबाट कति गाडी हराए भन्ने लेखाजोखा नै छैन ।’
सहसचिवभन्दा माथिका सरकारी कर्मचारीलाई सरकारले गाडी सुविधा दिने गरेको छ ।
विभागीय प्रमुखहरुका हकमा उपसचिवले पनि सरकारी गाडी पाउँछन् । सचिव कार्कीले कसैले सरकारी गाडी नै बेच्ने गरेको र कतिपयले सेतो नम्बर प्लेट फालेर भाडामा लगाउने गरेको बताए ।
कार्कीले भने-‘केही व्यक्तिले आफूलाई सरकारले सुविधा वापत दिएको गाडी भाडामा लगाएर प्रोजेक्टका महँगा गाडी चढ्ने गरेका छन्, कतिपयले त्यस्ता बेचेको समेत पाइएको छ ।’
कार्कीले त्यस्ता व्यक्तिको नाम भने समितिलाई उपलब्ध गराएका छैनन् । उनको कुरा सुनेपछि अचम्मित भएका सभासदहरुले सरकारी गाडी बेच्ने र भाडामा लगाउने कर्मचारीहरुको नाम सार्वजनिक हुनुपर्ने र उनीहरुमाथि कारवाही गर्नुपर्ने बताए ।
अर्थ समितिले सरकारी गाडीहरुको व्यवस्थापनका सन्दर्भमा छलफल गर्न मुख्य सचिव लीलामणि पौडेलसहित विभिन्न मन्त्रालयका सचिवहरुलाई समितिमा बोलाएको थियो ।
सरकारी गाडीहरु सरकारी कर्मचारीबाटै दुरुपयोग हुने गरेको र हराउने गरेको मुख्यसचिवदेखि सचिवहरुसम्मको कुराबाट पुष्टि भएको समितिका सभापति प्रकाश ज्वालाले अनलाइनखवरसँग भने ।
सो बैठकमा मुख्यसचिव पौडेलले सिंहदरबारमा बेबारिसे गाडीहरु धेरै भएको भन्दै एक वर्षभित्रमा लिलामी गरेर सबै गाडी हटाइने जानकारी दिए ।
समितिमा अर्थसचिव सुमन शर्मा, भौतिक पूर्वाधार मन्त्रालयका सचिव तुलसी सिटौला, प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदी लगायतले सरकारी गाडी लिलामीमा पनि समस्या रहेको बताएका थिए ।
समितिले सरकारी गाडी व्यवस्थापन गर्ने सम्बन्धमा आफ्नो निर्णय बुधबार गर्ने सभापति ज्वालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment