Comments Add Comment

प्रणवलाई सधैं कुकुर तिहार

dog५ कात्तिक, भक्तपुर । भुस्याहा कुकुर, त्यसमा पनि विरामी, कतिका लागि छिःछि र दुरःदुर हुन्छन् । भक्तपुर १२ गपलीका प्रणव जोशी भने तिनलाई आँगाल्छन् र उपचारमा जुट्छन् । ‘मेरो लागि त सधैं कुकुर तिहार’ क्यानलमा रहेका दुई दर्जन भुस्याहा कुकुरको हुल देखाउँदै भन्छन्,’विगत चार वर्षदेखि यस्तै अशक्त कुकुरको रेखदेख गर्दै आएको छु ।’ उनीसँग रहेका २५ ककुरमा कुन गाडीले कुल्चेका, कुनै खुट्टा नभएका, कुनै शरीरभर घाउ भएका छन्, नागरिक दैनिकमा खबर छ ।
‘समाजको रखवारी गर्ने कुकुरलाई जब आपत पर्छ तब समुदायले छिःछि र दुरःदुर गरेका पाएँ,’ उनले भने, ‘त्यही भएर यी असहाय कुकुरको रेखदेख गर्न थालेको हुँ ।’ उनीसँग एउटा त विदेशी नश्लको कुकुर पनि छ । ‘कुकुर बुढो भएपछि कसैले यसलाई पनि बेवारिसे बनाएर छाडेछन्,’ उनले भने, ‘त्यही भएर यहीँ यहाँ ल्याएँ ।’
पेशाले पशु चिकित्सक जोशीले सन् २००८ तिर इन्टर्नको सिलसिलामा जावलाखेलस्थित एक कलेजमा काम गर्दा भुस्याहा कुकुरको सेवामा जुट्ने सोंच पलाएको सुनाए । ‘त्याहाँ नेपालीहरु आफूले पालेका उन्नत जातका कुकुर मात्र लिएर उपचार गर्न आउँथे, विदेशी भने हाम्रै गल्लीमा छाडिएका भुस्याहा कुकुर बोकेर ल्याउँथें,’ उनले सुनाए ।
कुकुरको शरीरमा घाउ भएर गन्हाउन थालेपछि समस्या आउने उनले सुनाए । उनको आफ्नै निजी क्लिनिक पनि छ । जहाँ मानिस आफूले पालेका कुकुर ल्याउँछन् । उनी उपचार गरिदिन्छन् । ‘अन्य कुकुरको उपचार गरेर आफ्ना लागि पैसा कमाउँछु,’ उनले भने, ‘यी असहायको उपचार गर्दा शान्ति पाउँछु ।’ कुकुरको सेवाका लागि उनले ‘भक्तपुर एनिमल वेलफेयर सोसाइटी’ नामक संस्था समेत गठन गरेका छन् ।
कुकुर पाल्ने आफ्ना यी बानीका कारण सुरुका दिनमा केही समस्या आएका उनले सुनाए । ‘पीडाले रातभर कुकुर कराउँथे, छिमेकी रिसाउँथे,’उनले भने, ‘मैले उपचार गरेर कुकुरलाई निको बनाएको देखेपछि उनीहरु चुप लाग्न थाले ।’ कुकुरको उपचार गर्ने अभियानमा आफूलाई केही सहृदयीले सहयोग गर्न थालेको उनले सुनाए । ‘यसले मलाई झनै सजिलो बनाएको छ,’ उनले भने ।
उनी कुकुरको उपचारपछि त्यसलाई पुनः समाजमा स्थापित गराउँछन् । ‘सवै कुकुर राखेर सम्भव हुन्न,’ उनले भने, ‘जब ठिक हुन्छन्, तब समाजमा र्फकन्छन् ।’ भुस्याहा कुकुरलाई खान भन्दा पनि उपचारको समस्या बढी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment