Comments Add Comment

बढ्दै छ सहरमा कुकुर पाल्ने चलन

Dog
५ कात्तिक, काठमाडौ । गुल्मी पुर्कोटदहका प्रकाश केसीले कुकुरका छाउरा उत्पादन गर्न लागेको चार वर्ष भयो । काठमाडौ कीर्तिपुरमा कुखुरापालन गरिरहेका केसीले आम्दानी देखेर यता लागेको बताए ।
अहिले उनीसँग छाउरा, पोथी र भाले गरी २० वटा कुकुर छन् । ‘महिनामा ३०-३५ हजार रुपैंयाँ बचत हुन्छ,’ केसीले भने । अहिले काठमाडौमा कुकुर ब्रिडिङ् ब्यवसाय फस्टाउँदो छ । केसीका अनुसार कीर्तिपुर क्षेत्रमै लगभग १५ वटा बि्रडिङ केन्द्र छन् । काठमाडौमा सबैभन्दा धेरै कुकुर बेचविखन गरिरहेका ललितपुरका दिनेश केसी भन्छन्,’कीर्तिपुरमा सबैभन्दा धेेरै कुकुर उत्पादन गरिन्छ ।’ उनका अनुसा काठमाडौ उपत्यकामा ३० हाराहारी ब्रिडिङ् केन्द्र छन् ।
पछिल्लो समय काठमाडौमा कुकुर पाल्ने चलन निक्कै बढेको छ । ब्यापार पनि धेरै हुन थालेको छ । ब्यवसाय बढे पनि मूल्य भने निरन्तर घटिरहेको ब्यवसायीहरु बताउँछन्, नागरिक दैनिकमा खबर छ ।
घरमा दुई-तीन वटा कुकुर पाल्ने, ब्रिडिङ् गर्ने र बेच्ने चलन धेरै छ । यसले ब्यापारै गरेर बसेकालाई घाटा भएको प्रकाशको अनुभव छ । ‘पहिला एउटा छाउराको १२/१५ हजार पथ्र्यौ,’ प्रकाशले भने, ‘अचेल त ५/६ हजार पनि पाउन मुश्किल छ ।’
प्रकाशले अहिले जर्मन सेर्फड, गोल्डेन रिटिभर, ल्याबोटर, पगलगायत जातका कुकुरका छाउरा उत्पादन गरिरहेका छन् । उनका अनुसार राम्रो पालनपोषण भयो भने एउटा कुकुरले १४ महिनामा दुईपटक छाउरा जन्माउँछ । एकपटकमा १३ वटासम्म जन्माएको उनको अनुभव छ ।
दिनेशले पनि कुकुर ब्यवसाय बढिरहेको बताए । ‘मैले महिनामा ३० देखि ४० वटासम्म कुकुर बेच्ने गरेको छु,’ दिनेशले भने, ‘मूल्य घटे पनि ब्यवसाय बढ्दो छ ।’ नेपालमा विदेशबाट पनि कुकुर आयात हुन्छ । भारतको नयाँ दिल्ली, कोलकाता, पञ्जावलगायत ठाउँबाट ब्यवसाय गर्न छाउरा ल्याउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment