Comments Add Comment

नेपालसँग विप्पा र सुपुर्दगी सन्धी गर्न चीनको प्रस्ताव

५ कात्तिक, काठमाडौं । चीनले नेपालसँग विप्पा सम्झौता र सुपुर्दगी सन्धी गर्न औपचारिक प्रस्ताव अघि सारेको छ ।

चीन भ्रमणमा गएका उपप्रधानमन्त्री एबम् गृहमन्त्री बामदेव गौतमसँग चीनिया पक्षले दुई पक्षीय लगानी सम्बन्धी बिप्पा सम्झौता गर्न प्रस्ताव राखेकेा हो ।

नेपालले यसअघिनै भारतसँग विप्पा सम्झौता गरिसकेको छ । चीनले विप्पा सम्झौताको प्रस्ताव राखेको र यसबारेमा नेपालले बिचार गर्ने जवाफ आफूले दिएको गृहमन्त्री गौतमले बताए ।

एक साता लामो चीन भ्रमण सकेर बुधवार फर्किएका गौतमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सुपुर्दगी सन्धीका लागि पनि चीनले प्रस्ताव राखेको बताए ।

‘चीने विप्पा र सुपुर्दगी सन्धीको प्रस्ताव राखेकेा छ, हामीले सुपुर्दगी सन्धी सम्बन्धी ऐन बनाइसकेका छौं, यसमा आवश्यक गृहकार्य हुन्छ,’ गौतमले भने, ‘तत्काल सुपुर्दगी सन्धी नभए पनि यो प्रक्रिया अघि बढ्छ ।’

चीनको सार्वजनिक सुरक्षा मन्त्रीको निमन्त्रणामा बेइजिङ पुगेका गौतमले चीन सरकारले सशस्त्र प्रहरी बलको प्रतिष्ठान बनाउन आर्थिक र भौतिक सहयोग गर्ने आश्वासन दिएको जानकारी दिए । त्यस्तै नेपाल प्रहरीको सन्चार विकासमा पनि चीनले सघाउनेछ ।

उनले नेपालको एक चीन नीतिप्रति आफूले चीनिया समकक्षी र कम्युनिस्ट पार्टीका नेताहरुलाई आफ्नो प्रतिबद्धता दोहोर्‍याएको बताए । उनले चीनले नेपालमा स्थिरता र विकास चाहेको जानकारी दिए ।

गौतमले सार्क सम्मेलनमा सुरक्षाको दृष्टिबाट कुनै खतरा नरहेको र कतैबाट सुरक्षा थ्रेट समेत नआएको प्रष्ट पारे । उनले सार्क सम्मेलनको सुुरक्षा तयारी पूरा भइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment