Comments Add Comment

कुकुरको पूजा वैज्ञानिक कि धार्मिक अन्धविश्वास ?

मात्रिका पौडेल
५ कात्तिक, काठमाडौं । हिन्दकुश सभ्यताको नेपाली समाजमा प्रकृति पूजक र पशुपन्छी पूजक समुदाय छन् । हिन्दू र बौद्ध सम्प्रदायको ९० प्रतिशत बढि जनघनत्व रहेको यो नेपाली समाजले आफ्ना प्रमुख चाडबाडमा आफूमात्र रमाइलो गर्दैन, घर पालुवा जनावरको पनि भरपूर सेवा सेवा गर्छ ।

यस्तै भाग्यमानी जवारमध्येको एक हो कुकुर । सामान्यतः कुकुर शब्द हेपाहा र उपेक्षित शव्द हो । तर यो जन्तुका लागि वर्षमा एक दिन भव्य हुने गर्छ । सिंगो नेपाली समाज तिहारको रमझममा झुमिरहेका बेला कुकुरले पनि यो मौका पाउनु नेपाली समाजको मौलिक विशेषता हो ।

कुकुर तिहारको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ ।

आखिर मान्छेले मनाउने चाडपर्वमा किन कुकुरको पूजा गरियो त ? संस्कृतिविद तथा ज्योतिष सूर्यप्रसाद ढुंगेलका अनुसार यमराजलाई खुसी पार्नमात्र कुकुर पूजा गरिएको होइन, मानव जीवनमा कुकुरको महत्व दर्शाइएको हो ।

ढुंगेल भन्छन्- हाम्रो धर्म, संस्कृति, संस्कार र परम्परा अनुसार हामी प्रकृतिको पूजा गर्छौं । तुच्छ तुच्छ प्राणीको पनि हामी सत्कार र सेवा गर्छौं । काग र कुकुर दुबैलाई यमराजको दूतको रुपमा लिइन्छ । यिनको पूजा गर्दा यमराज पनि खुशी हुन्छन् भन्ने कुरा यहाँ जोडिएको छ ।

कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरु पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ ।

kukur-tihar-policeप्रहरीको पनि प्रहरी

परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रुपमा पूजा गर्ने चलन चलिरहेको ढुंगेल बताउँछन् । संसारका ठूला अपराधी पत्ता लगाउन कुकुर प्रमुख सहयोगी हुने गरेको छ, तर यसलाई पूजा गर्ने चाहिँ नेपाली समाज मात्र हो ।

त्यसैगरी विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । नेपाल प्रहरीले त तालिमप्राप्त कुकुरलाई सेवा सुविधा दिएर पालेको छ ।

कुकुर इमान्दार र बफादार जनावर पनि हो । घरको रेखदेखको काम पनि कुकुरले नै गर्छ । कुकुरका गुणको कदर गरेर नेपाली समाजले वर्षमा एकपटक यमपञ्चकको दोस्रो दिन पारेर पुज्ने गरेको संस्कृतिविदहरुको ठहर छ ।

सत्यवादी धर्मराज युशिष्टिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।

नेपाली मौलिकता

यमपञ्चकमा काग, कुकुर, गाई र गोरु जस्ता पशुपक्षीको पूजा गरी सम्मान गर्ने जुन संस्कार छ यो वास्तवमै विश्वमै मौलिक हो ।

प्रकृतिका सबै जीवसँग मानव जातिको सह-अस्थित्व छ भन्ने जीवन दर्शनको प्रतीकका रुपमा नेपाली संस्कृतिमा परापूर्वकालदेखि यो मौलिकता जीवित रहँदै आएको छ ।

नरक चतुर्दशी

नरक चतुर्दशीसमेत भनिने यो दिन मासको पात खाने चलन छ । लिंग पुराणअनुसार यस दिन मासको पातको साग खानाले मानिसको सबै पाप नास हुन्छन् भन्ने विश्वास छ ।

यही दिन पाप नास गर्न तथा नरकलाई खुशी पार्न नर्के नुहाउने चलन छ । नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो ताप्ने प्रचलन छ । यसो गर्दा स्वर्ग गइन्छ भन्ने विश्वास छ ।

नरकासुरको रोचक कथा

लक्ष्मीपूजाको अघिल्लो दिन अर्थात् कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ । पुराणमा नरक चतुर्दशीलाई लिएर रोचक कथा छ । शास्त्रका अनुसार यस दिन बिहानै स्नान गरी यम तर्पण एवं साँझ दीपदान गरिन्छ । यसो गर्नाले मृत्युपछि पनि यमराजको भय रहँदैन अर्थात् नर्कमा जानु पर्दैन भन्ने धार्मिक विश्वास छ ।

नरकासुर नामक एक असुरले १६ हजार कन्यालाई बन्दी बनाएर राखेको थियो । भगवान श्रीकृष्णले नरकासुरलाई बध गरेर ती सबै कन्याहरुलाई मुक्त बनाएका थिए ।

नरकासुरको बन्दीगृहबाट मुक्त भएपछि पनि अर्को समस्या आइ लाग्यो । ती कन्याहरुले समाजले अब आफूहरुलाई नराम्रो दृष्टिकोणले हेर्ने भएकाले समाजमा स्थापित हुन गाह्रो हुने श्रीकृष्णलाई अप्ठेरो सुनाए । त्यसैले कुनै उपाय गरेर समाजमा सम्मानपूर्वक बस्ने व्यवस्था मिलाइदिन उनीहरुले अनुनय विनय गरे ।

अब भने श्रीकृष्णलाई अर्को आपत आइलाग्यो । के गर्ने भनेर उनले सोच्न थाले । र, उनी निष्कर्षमा पुगे, सबै १६ हजार कन्यासँग विवाह गर्ने । त्यसपछि श्रीकृष्णले सत्यभामाको सहयोग लिएर नरकासुर असुरको बन्दीगृहबाट मुक्त बनाएका सबै १६ हजार कन्यासँग विवाह गरे ।

नरकासुरका वध र १६ हजार कन्यालाई बन्धन मुक्त बनाएको उपलक्ष्यमा नरक चतुर्दशीको दिन दीपदानको परम्पार शुरु गरिएको धार्मिक विश्वास छ । नरक चतुर्दशीको दिन दिपावली समेत गरिन्छ । लक्ष्मीपूजाको दिनभन्दा अघिल्लो दिन गरिने दिपावलीलाई सानो दिपावली पनि भन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment