Comments Add Comment

मरुभूमिमा सास गयो, परिवारले लास पाएनन्

५ कात्तिक, काठमाडौं । ‘कि सास देऊ, होइन भने लास देऊ’ कुनै नागरिक मारिएपछि तीनका आफन्तले राज्यसँग माग्ने पहिलो चीज यही नै हो ।

नेपालमा बेकारी भएर विदेशमा पैसा कमाउन गएकाहरु दिनदिनै मरुभूमीमा मरिरहेका छन् । आफन्तले तीनका सास होइन, लासका लागिसमेत राज्यसँग गुहार माग्दा पनि पाउन सकेका छैनन् ।

व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा सरकारले पेश गरेको विवरणअनुसार ४४ जना नेपालीका लास विभिन्न मुलुकमा अलपत्र अवस्थामा छन् ।

समितिलाई श्रम मन्त्रालयले उपलब्ध गराएको विवरणमा अझै थुप्रै नेपालीका लास विदेशमा रहेको र कानुनी तथा व्यवहारिक जटिलताका कारण नेपाल ल्याउन नसकिएको उल्लेख छ ।

समितिका सभापति प्रभु साहले भने-हामीले विदेशमा रहेका नेपालीका लास किन आएनन् भनेर सोध्यौं, उहाँहरुले कतिका आफन्त नभेटिएको र कतिपय कानुनी समस्याका कारण ४४ जनाको लास ल्याउन नसकिएको जवाफ दिनुभयो ।

कतिपय शव एक वर्ष भन्दा लामो समयदेखि ल्याउन नसकिएको मन्त्रालयले जनाएको छ । साउदी अरब, दुबई र मलेसियामा वैदेशिक रोजगारीमा गएका नेपालीका शव हुन् ती ।

राज्यलाई जानकारी दिएर, बैधानिक कागजातमै विदेश जानेहरुको संख्या अहिलेसम्म ३० लाख देखिएको छ । चोरबाटोबाट र दलालमार्फत जानेहरुको संख्या यसमा छैन ।

यीमध्ये मलेसिया, कतार र साउदीमा बिभिन्न कारणले दैनिकजसो नेपालीहरुको मृत्यु हुने गरेको छ । दैनिक चार शव नेपालमा भित्रिने गरेका छन् । यस हिसाबले वर्षमा १ हजारभन्दा बढी नेपाली विदेशी भूमिमा मरिरहेका छन् ।
परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयबीच समन्वय नहुँदा विदेशमा मरेका नेपालीको शव ल्याउने प्रक्रिया झन्झटिलो र जटिल बनेको समितिले ठहर गरेको छ ।

बैठकमा सभासदहरुले मन्त्रालयबीच एकले अर्कोलाई देखाएर उम्किने भन्दा पनि दीर्घकालीन समाधानको उपाय खोज्न सुझाव दिएको समितिका सदस्य नागेन्द्र चौधरीले अनलाइनखबरलाई बताए ।

समितिका अर्का सदस्य राजन भट्टराईले शव व्यवस्थापन र बैदेशिक रोजगारीमा जाने सबै नेपालीको सुरक्षाका विषयमा काम गर्ने गरी संसद र सरकारको संयुक्त पहलमा एउटा कमिटी बनाउनुपर्ने प्रस्ताव राखेका थिए ।

सभासदको सुझाव र सरकारी अधिकारीहरुको बयानका आधारमा विदेशमा मृत्यु भई अलपत्र भएका शव नेपाल भित्र्याउन आवश्यक प्रक्रिया तत्काल शुरु गर्न निर्देशन दिएको समितिका सभापति साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment