Comments Add Comment

सिंहदरबारको चोरी प्रकरण : जसले बोल्यो, उसैलाई पोल्यो

५ कात्तिक, काठमाडौं । सस्तो लोकप्रियताका लागि जिम्मेवार पदाधिकारीले राज्यका जिम्मेवार निकायमा उपस्थित भएर जे पनि बोल्ने कि, प्रमाण पनि पेश गर्ने ? एमाले सभासद सुरेन्द्र पाण्डेले संसदको अर्थ समितिमा बुधबार प्रश्न उठाए ।

arjunkarki
सचिव अर्जुन कार्की

पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेको जस्तै प्रश्न उठाउने सभासद कांग्रेसका चन्द्र भण्डारी र जगदीशनरसिंह केसी पनि थिए । उनीहरुको संकेत थियो शहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्कीतिर । कार्कीले मंगलबार समितिको बैठकमा उपस्थित भएर सिंहदरबारभित्रै सरकारी गाडीहरु व्यक्तिले नै चोरी गरेको र कतिपयले भाडामा लगाएको बताएका थिए ।
तर, कार्कीले गाडी चोर्ने व्यक्ति को हुन् भन्ने सभासदलाई जानकारी दिन मानेका थिएनन् ।
‘जिम्मेवार ओहोदामा बसेका व्यक्तिले सस्तो कुरा गरेर मात्र हुँदैन, कारवाही गर्नुपर्छ र कारवाही गर्ने निकायलाई सघाउनुपर्छ’ पाण्डेले भने ‘अर्जुन कार्कीजीप्रति नै यो आरोप तेर्सिने गरेको छ’ ।

सभासदहरूले सबैभन्दा बढी गाडी दुरूपयाेग गर्ने व्यक्ति अर्जुन कार्की नै भएकाे अाराेप लगाएका छन्

मुलुकमै सबैभन्दा धेरै सरकारी गाडी दुरुपयोग गर्ने संस्थान नेपाल विद्युत प्राधिकरण हो । कार्की त्यसको कार्यकारी निर्देशक भइसकेका व्यक्ति हुन् । कार्कीमाथि आफ्नो फाइदाका लागि अनधिकृत व्यक्तिहरुलाई समेत आयोजनाका गाडी दिएर खुसी पार्ने गरेको आरोप लाग्दै आएको छ ।
कार्कीले गाडी भाडामा लगाउने र आयोजनाका गाडी चढ्ने एवं सिंहदरबार भित्रैबाट गाडी चोर्नेहरुको नाम दिन नमानेपछि सभासदहरुले यस्तो कार्यमा कार्कीकै नाम आउने गरेको बताएका हुन् ।
समिति बैठकमै पूर्वअर्थमन्त्री पाण्डेले अर्जुन कार्कीकै पालामा विद्युत प्राधिकरणबाट सबैभन्दा धेरै गाडी गायब भएको दाबी गरे ।
‘सबैभन्दा धेरै गाडी हराउनेमा उहाँको नाम पनि छ, कहाँ-कहाँबाट कसले गाडी गायब पारेको हो ? त्यसको विवरण जिम्मेवार भएर दिनुपर्छ’ पाण्डेको भनाइ थियो ।
कांग्रेस सभासद चन्द्र भण्डारीले पनि गाडी गायब पार्नेहरु को-को हुन् नाम दिनुस् भनेर कार्कीलाई आग्रह गरेका थिए । तर, आफैंमाथि प्रश्न उठेपछि कार्की समितिले जे भन्छ, त्यही मान्छु भन्दै बैठकबाट हिँडेका थिए ।
बुधबारको बैठकमा सभासदहरुले सिंहदरबारबाट गाडी गायब पार्ने र विद्युत प्राधिकरण लगायतका ठूला परियोजनाको गाडी दुरुपयोग गर्नेहरुको नाम कार्कीले समितिलाई दिनुपर्ने दोहोर्‍याएका छन् ।
बैठकपछि पनि सभासदहरुले गाडी गायव पार्नेमा कार्की नै एक नम्बरमा रहेको भन्दै यसको सबै विवरण संकलन गर्नुपर्ने बताए ।
स्रोतका अनुसार गाडी दुरुपयोगको खोजी हुँदा आफैं फस्ने संकेत पाएपछि कार्की पछि हटेका छन् । समितिले बुधबार गरेको निर्णयले कार्कीलाई पनि तान्ने एक सभासदले बताए ।
समितिको निर्णयमा ‘हालसम्म अनाधीकृत रुपमा उपलब्ध गराइएका सवारी साधनहरुको सम्पूर्ण विवरण संकलन गरी कात्तिक मसान्तसम्म अर्थ समितिलाई उपलब्ध गराउने’ उल्लेख छ ।
यो निर्णयपछि कार्कीले विद्युत प्राधिकरण लगायत उर्जा र हालको सहरी विकास मन्त्रालयमा रहँदा शक्तिशाली व्यक्ति रिझाउन दिएका गाडीहरुको विवरण पनि सार्वजनिक हुनेछ ।
कार्कीले अर्थसचिव हुनका लागि पनि पछिल्लो समयमा आफ्नो पदको दुरुपयोग गरेको आरोप उनका समकक्षीहरुले लगाएका छन् ।

यो पनि पढ्नुहोस्

सिंहदरबारबाटै यसरी हराउँछन् सरकारी गाडी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment