Comments Add Comment

यात्रानुभूति : नारायणथानदेखि बनेपासम्म

कृष्णचन्द्र बञ्जारा
यो पोजमा द्रब्य शाह पनि उभिएका थिए । लिगलिगे दौडमा जितेको पहिलो क्षण । सबैका अगाडि श्रीपेच लगाउँदै गर्दाको  पल । फलस्वरुप : पृथ्वीनारायण शाह राज्य एकीकरणका लागि दौडन पाए । प्रत्येक राज्य जितेपिच्छे यही पोजमा उभिए ।

yatra-sasmaran
त्यसो त कोलम्बस पनि यही पोजमा उभिएका थिए । कसैले नदेखेको अमेरिका देखेको क्षण । कल्पना गर्दा सारै मज्जा आउँछ । फोटो हेर्न मन लाग्छ । मन भएर के गर्नु ? पोज पोजमा क्यामेराले ‘क्लिक.. क्लिक ‘ पार्ने यो युगभन्दा निकै अगाडि उभिए ती अभागीहरु  । हामीले पो फोटोसमेत खिचाउने सौभाग्य पायौँ ।

हामी द्रब्य, पृथ्वीले जस्तो राज्य जित्न हिँडेका थिएनौं । हामी त कोलम्बस जस्तो यात्रामा दौडिएका थियौँ । फरक यति थियो : अमेरीका छ भन्ने थाहा नपाई उनी यात्रामा दौडिएका थिए । हाम्रो भने गन्तव्य थाहा पाएर पनि अहिलेसम्म एक पाइला उचालिएको थिएन । उनले केही पाउन यात्रामा, खोजमा हिँडनुपर्छ भन्ने उदाहरण दिइरहेका थिए । हामी  नजिकको तीर्थ नै  हेला गरेर धुमधुमती बसिरहेका थियौँ ।

‘अब सबैजना राज्य जितेको पोजमा उभिने है ।’ रमेश सापकोटाले हात उचाल्दै गन्तव्य पुगेलगत्तै भने । नजिकै रहेका बाबुराम ढुंगेलले दुबै हात उठाए । साथमा रहेका रघुनाथ सापकोटा, रामशरण पराजुली, अच्युत तिमल्सिना, दीपक तिमल्सिना, दिनेश तिमल्सिना, कृष्ण सापकोटा र रामचन्द्र न्यौपानेले मुस्कुराँउदै साथ दिए । राज्य जितेसरह पोज दिए । मैले हत्तपत्त क्यामेराले फोटो ‘क्लिक’ कैद गरेँ ।

काभ्रे जिल्लाको सबैभन्दा अग्लो (समुन्द्रसतह देखि ३,०१८ मिटर), माहाभारत लेकको सबैभन्दा सुन्दर नाराणथानमा हामी उभिएका थियौँ ।  महाभारतका टाकुराहरु मध्ये ऐतिहासिक, धार्मिक पर्यटकीय अनुपम ठाउँमा मुस्कुराइरहेका थियौँ ।

काभ्रे जिल्लाको ढुंखर्क-१ मा पर्छ नारायणथान । यहाँ पुग्न दुई दिनको समय छुट्याइनु उचित हुन्छ । पहिलो दिन ढुंखर्कको मीठो खुवा, लोकल खानाको स्वाद लिएर होम स्टे गर्नु सारै राम्रो । बस्नलाई खासै समस्या छैन । अतिथिलाई ‘देवो: भव’ भन्ने स्थानीय निकै सहयोगी छन् । उनीहरुले आफ्नै भान्सामा पाक्ने स्वादिलो खाना पस्किनेछन् ।

अगाडि नै त्यहाँका युवाहरुलाई खबर गर्ने हो भने उनीहरुले तामझामका साथ सबै तयारी गरिदिने छन् ।
भोलिपल्ट  बिहान सबेरै त्यहाँबाट यात्रामा निस्कँदा उचित हुन्छ । नत्र करिव पाँच किलोमिटरको लेकको उकालो हिँड्न धौ-धौ पर्नेवाला छ । पहिलोपटक नारायणनथानको चुचुरी पुग्नु भए आफुमा कहिल्यै नभरिएको आँट भरेर अवस्य र्फकनुहुनेछ । साहस र जोशले घनिभूत हुनुहुनेछ  । जसले जीन्दगीमा तमाम यात्राका लागि बल दिनेछ ।

मेरो अनुभव छ : यहाँ पुगेपछि सगरमाथा चढेसरहको मजा पाइन्छ । किनकि त्यस चुचुरीबाट गणेश, मनासलु र जुगल हिमाल आमने सामने देखिनेछन् । पहाड मध्येहरुको पहाड : महाभारत श्रृंखलाको सबैभन्दा अग्लो भागमा पुगिनेछ, जहाँबाट मै हुँ भन्ने सबै पहाडहरु झिनामसिना लाग्नेछन् । पहाड, तराई, खोलााला, लहरा-पहरा आँखै अगाडि हुनेछन् ।  हिमाललाई आमने सामने र समानान्तर भेटेपछि स्वर्ग जान पनि मन हुने छैन ।
कात्तिक १ गते हामीले यो यात्राको साइत जुराएका थियौँ । हाम्रो यात्राका नायक थिए रामेश सापकोटा । ‘म त हिजोआज राजेश हमाल पो भएको छु ।’ हाम्रो यात्राका १० जनामध्ये ९ जनाले यात्रभरि जिस्काएपछि उनले भनेका थिए ।
यात्राकै क्रममा : काभ्रेकै ढुंखर्क उच्च माध्यमिक विद्यालयमा कक्षा ११मा पढिरहेका दीपक तिमल्सिनाले ‘मेरो दिल छ पोखरामा..’ बोलको गीत गुन्गुनाए । ‘म छु आज धेरै टाढा…’बाट धुन अगाडि बढ्दै थियो ‘मेरो दिल छ कोरियामा…’ थपेर बाबुराम ढुंगेलले त्यहाँबाट गीत अगाडि बढाइहाले । त्यसपछि हामी सबैले बाँकी गीतलाई साथ दियौँ ।

यसपालि कोरिया जान भाषा परीक्षा दिएका करीव ६२ हजार मध्येका  उनी भाग्यमानी थिए । किनकि उनी परीक्षामा पास भएका थिए । त्यसैले उनलाई हामीले यात्राभरि नायक बनायौँ । उनको सफलतालाई हामी सबैको सफलतासरह बनायौँ ।
टिममा हामीले ढुंखर्क पुगेपछि दुईजना महत्वपूर्ण व्यक्तिहरुलाई थप्न पाएका थियौँ । स्थानीय ढुंखर्क बोर्डिङ स्कुलका पि्रन्सिपल रघुनाथ सापकोटा र सोही स्कुलका प्रबन्ध निर्देशक राशरण पराजुली । उहाँहरु नभएको भए खाजा कस्तो लानुपर्छ भन्ने हेक्का नभएका हामी भोकै हुने थियौँ । बाटाको खास भेउ समेत नपाएका हामी उतै अँध्यारो हुञ्जेल रुमल्लिने थियौँ ।

साथमा हामीले अन्य दुईजना पनि त्यहाँबाट थप्यौँ । हाम्रो यात्राका सबैभन्दा कान्छा सदस्य दिनेश तिमल्सिना र उनकै दाइ दीपक तिमल्सिना ।
बिहान पाँच बजे हामी ढुंखर्कबाट हिँड्याैं । हामीलाई नेतृत्व रघुनाथ सर र रामशरण सरहरुले भरपुर गर्नुभयो । उहाँहरुकै कारण हामीले यात्राको खास मज्जा लिएर बेलुका सबेरै फर्किन सफल भयौँ ।
बेलुका पाँच बजे ढुंखर्कबाट अन्तिम बस पनौतीतिर लाग्दोरहेछ । हिँड्दा हिँड्दा थाकेका खुट्टालाई बसमा चढेपछि आराम दिइयो । साँझ ढल्कँदै थियो । यात्राभरिका रमाइलाहरु सम्झँदै र फोटो हेर्दै पानौती आइपुग्याैं । हामीले कम्तिमा बनेपा सम्म पुग्नु थियो । तर सात बजेपछि आजकल पनौतीबाट बनेपा जाने बस नपाइने रहेछ । निकै गाडीहरुलाई रोक्ने प्रयास गर्‍याैं । तर, कुनै रोकिएनन् ।

खुट्टाले अब एक पाइला चाल्न पनि मानेको थिएन  । यात्राका सहयोद्धाहरु मध्ये म, अच्युत तिमल्सिना र रमेश सापकोटा मात्र बाँकी थियौँ । जसरी पनि हिँड्नै पर्ने भयो । अन्धकार रातमा फेरि पनि नचाहाँदा नचाहँदै पुनः अर्काे यात्रा सुरु भयो । आफ्नै गन्तब्यमा पुग्न ।
जीन्दगीमा धेरैपटक कयौँ साथीहरुसँग भेटने र केहीबेर सँगै यात्रा गर्ने मौका मिल्छ । तर, चोकमा पुगेर आफ्नै बाटो छुट्याउने बेला भएपछि आ-आफ्नै बाटो पहिल्याउन् पर्छ । बेतमासले एक्लै एक्लै हिँड्नुपर्छ ।
बनेपा पुगुञ्जेल हामी तीन भाइले फेरि सँगै र एउटै हालतमा सुस्तरी  पाइला चाल्ने निर्णय गरेका थियौँ  । घडीमा करीव साढे आठ बजिसकेको छ । हिँड्न मन छैन । बोल्न र हाँस्न पनि शक्ति छैन । पाइला उचालिन नमाने पनि बल गरेरै उचाल्नु परेको छ । यो तालले कति बजे बनेपा पुगिन्छ ? खुट्टा मात्र हैन, थाकेको शरीरले  कहिले आराम पाउँछ ? केही थाहा छैन । मनमनै यस्तै सोच्दै हामी एक अर्कासँग नबोली हिँड्न थाल्यौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment