Comments Add Comment

आम्दानीभन्दा खर्च बढी, शोधनान्तर घाटा साढे १० अर्ब

money६ कात्तिक काठमाडौं । तीन वर्षयता निरन्तर धनात्मक रहेको देशमा भित्रिने र देश बाहिरिने रकमबीचको अन्तर (शोधनान्तर स्थिति) घाटामा गएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको भदौ महिनामा शोधनान्तर अर्थात भुक्तानी सन्तुलनको स्थिति १० अर्ब ५० करोड रुपैयाँले ऋणत्मक छ ।

शोधनान्तर स्थिति ऋणात्मक हुनु भनेको मुलुकले आम्दानीभन्दा बढी खर्च गर्नु हो । यसअघि आर्थिक वर्ष २०६७/०६८ को १० महिनासम्म शोधनान्तर घाटामा गएको थियो ।

आर्थिक वर्ष २०६६/०६६मा शोधनान्तर घाटा २४ अर्ब रुपैयाँ पुगेपछि राष्ट्र बैंकले सुन आयातमा कडाई गरेको थियो । उक्त वर्ष ४५ अर्ब रुपैयाँ बराबरको सुन आयात भएको थियो ।

चालू खाता ९ अर्ब ९८ करोड रुपैयाँले घाटामा गएपछि शोधनान्तर स्थिति पनि घाटामा गएको हो । राष्ट्र बैंकका अनुसार वस्तु तथा सेवा आयात बढ्ने क्रमसँगै रेमिट्यान्स र वैदेशिक अनुदान घटेका कारण चालू खाता घाटामा गएको हो । अन्य महिनाको तुलनामा दशैंतिहारका कारण साउन र भदौमा आयात बढ्ने भएकाले शोधनान्तर स्थितिमा त्यसको असर देखिएको हो ।

आर्थिक वर्षको दुई महिनामा आयात २० दशमलव ९ प्रतिशतले बढेको छ । यो १ खर्ब २६ अर्ब रुपैयाँ बराबर हो । अघिल्लो वर्ष १५ प्रतिशतको मात्र वृद्धि थियो । भारतबाटभन्दा चीनतर्फको आयात बढेको छ । भदौ महिनासम्म भारततर्फको आयात १९ दशमलव १ प्रतिशतले बढेको छ । चीनतर्फ अघिल्लो वर्षको पहिलो दुई महिनामा आयात घटे पनि यस वर्ष ४० प्रतिशतले बढेको छ । यी दुईबाहेक अन्य मुलुकबाट हुने आयात पनि आर्थिक वर्षको दुई महिनामा १८ प्रतिशतले बढेको छ ।

आयात चुलिँदै जाँदा निर्यात भने घटेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको दुई महिनामा कुल वस्तु निर्यात ४ दशमलव ८ प्रतिशतले घटेको छ । यो १४ अर्ब ४३ करोड रुपैयाँ बराबर हुन्छ । अघिल्लो वर्षको यस अवधिमा निर्यात ८ दशमलव ६ प्रतिशतले बढेको थियो । भारततर्फको निकासी भने अघिल्लो वर्षभन्दा घटेको छ ।

आयात निर्यात असन्तुलनका कारण वस्तु व्यापार घाटा २५ दशमलव २ प्रतिशतले बढेको छ । यो १ खर्ब ११ अर्ब रुपैयाँ बराबर हो । चीनबाट बढेको आयातका कारण नेपाल र चीनबीचको व्यापार घाटा ४१ दशमलव १ प्रतिशतले बढेको छ । भारत नेपाल व्यापार घाटा भने २३ दशमलव ३ प्रतिशतले थपिएको छ ।

शोधनान्तर घाटाको असर विदेशी मुद्रा सञ्चितिमा पनि देखिएको छ । राष्ट्र बैंकका अनुसार यस्तो सञ्चिति ० दशमलव ७ प्रतिशलते घटेर ६ खर्ब ६० अर्ब रुपैयाँमा आइपुगेको छ । अघिल्लो वर्ष यो बढ्ने क्रममा थियो । त्यसैगरी राष्ट्र बैंकमा रहेको सञ्चिति पनि  असार मसान्तको तुलनामा १ दशमलव ७ प्रतिशतले घटेर ५ खर्ब ६२ अर्ब रुपैयाँमा झरेको राषट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment