Comments Add Comment

तीनदल नमिले सीके राउत र खुमबहादुरलाई फाइदा पुग्ने दाबी

६ कात्तिक, काठमाडौं । संविधान निर्माणका मूलभूत विषयमा प्रमुख राजनीतिक दलहरु सहमतिमा पुगेनन् भने मुलुकको राजनीति कसको हातमा रहला ? कांग्रेस, एमाले, माओवादी वा अरु नै कोही ?

3-dal-meetingनेकपा एमालेका अध्यक्ष केपी ओली माघ ८ पछि सुशील कोइरालालाई  हटाएर आफू प्रधानमन्त्री बन्ने सोचाइमा छन् । तर, सुकुम्वासी आयोगलगायतका विषयलाई लिएर कांग्रेस नेताहरु सरकारको तालाचाबी एमालेलाई सहजै जिम्मा लगाउने पक्षमा छैनन् ।
यो स्थितिमा कांग्रेस वा एमाले दुबै दलले एमाओवादी र मधेसवादी लगायतका साना दलको समर्थन जुटाएर सरकारको नेतृत्व आफूले गर्ने प्रयास गर्न सक्छन् ।
माघ लागेपछि एमालेले केपी ओली र कांग्रेसले शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा ‘प्रोजेक्ट’ गर्ने सम्भावना बढ्दो छ । सुशील खेमाले आफैं टिक्ने प्रयास गर्नु अन्यथा हुने छैन ।
तर, यो कुरा निश्चित छ कि संविधानका मूलभूत विषयमा आफ्ना एजेन्डामाथि कांग्रेस र एमालेमध्ये जो बढी लचिलो देखिन्छ, एमाओवादी र मधेसवादीले उसैलाई साथ दिने सम्भावना छ ।

तीनदलवीच सहमति नभए नेपाली राजनीतिमा खुमबहादुर खड्का र सीके राउत हावी हुने विश्लेषकले दाबी गरेका छन्

राजनीतिको लगाम एमाले कांग्रेसमा रहला ?
एमाले र कांग्रेसले मधेसवादी, जनजाति र माओवादीको विश्वास लिएनन् भने माघ ८ पछि मुलुकको राजनीति उनीहरुको हातबाट उम्केर अतिवादी शक्तिका हातमा जान सक्ने विश्लेषण गर्न थालिएको छ ।
‘तीन दलवीच सहमति भएन भने त्यो अवस्थामा दक्षिणपन्थी दलको लगाम खुमबहादुर खड्का र पूर्वराजावादी लगायतका हिन्दु अतिवादीका हातमा जान्छ,’ माओवादी र मधेसवादीको लगाम तराईमा सीके राउत र पहाडमा विप्लवको हातमा जान सक्छ,’ एक माओवादी नेताले भने-‘त्यो स्थितिमा राजनीतिको लगाम न कांग्रेसले समाउन सक्छ, न एमालेले ।’
बाबुरामको स्वीकारोक्तिफाइल फोटो

यसैवीच एमाओवादी नेता एवं संवैधानिक राजनीतिक सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले पनि तीन दलवीच सहमति नभए देशमा अतिवाद हावी हुने खतरा आफूले पनि देख्न थालेको बताएका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै डा. भट्टराईले भने-‘मैले पनि त्यो अवस्थामा हिन्दुवादी र विखण्डनवादी अतिवादीहरु हावी हुने खतरा देखिरहेको छु । र, यो विषयमा गम्भीर हुन शीर्ष नेताहरुसँग बारम्बार आग्रहसमेत गरिरहेको छु ।’

खुमबहादुर र सीके राउतको चलखेल
अघिल्लो साता कांग्रेस नेता खुमबहादुर खड्काले राजधानीमा एक कार्यक्रमको आयोजना गरेर हिन्दु राष्ट्रको मागमात्रै गरेनन्, यसका लागि अभियान चलाउने घोषणा नै गरे ।
खड्काको यो अभियान नेपाली कांग्रेसकै लागि सबैभन्दा ठूलो चुनौती हो । किनकि खड्काको कार्यक्रममा कांग्रेसका नेता एवं सभासदको समेत सहभागिता देखिनुले विषयको गम्भीरतालाई स्पष्ट पार्छ ।
खुमबहादुर खड्काले हिन्दुवादी भेला गरेलगत्ततै कमल थापाले खुमबहादुरसँग वार्ता र छलफल गर्ने घोषणा गरेका छन् । त्यसलगत्तै राप्रपाका अध्यक्ष पशुपतिसमशेर राणाले पनि खुमबहादुरलगायत हिन्दु राष्ट्रका पक्षपातीसँग छलफल गरिने बताएका छन् ।khum-bahadur
खुमबहादुर खड्काको पहल कदमीले नेपाली कांग्रेसको आन्तरिक पार्टी जीवनलाई समेत खल्बल्याउन सक्ने कतिपयको विश्लेषण छ ।
बाराको सिम्रौनगढमा हालै भएको गोलीकाण्ड पछिको प्रदर्शनमा नेपालबाट तराई अलग गर्नुपर्छ भन्ने अभियानका खेलाडी सीके राउतका कार्यकर्ताको चलखेल रहेको प्रहरीको आरोपले तराईमा अतिवादका लागि जमीन तयार भइरहेको अनुमान लगाउन अप्ठ्यारो छैन ।
कांग्रेस र एमालेका नेताहरुलाई यस्तो लागेको हुन सक्छ कि एमाओवादी र मधेसवादी दलहरु कमजोर अवस्थामा रहेकाले उनीहरुलाई पेलेर जान सकिन्छ । तर, यो स्थिति आयो भने कांग्रेस र एमालेका नेताहरुले खुमबहादुर र सीके राउतहरुको सामना एक्लैले गर्नुपर्ने स्थिति आउन सक्ने एमाओवादी नेताहरु बताउँछन् ।

राजनीतिक विश्लेषक झलक सुवेदी माघ ८ मा संविधान बनेन भने पनि एक वर्षभित्रै उपद्रो भैहाल्नेमा  विश्वास नलागेको बताउँछन्

तर, राजनीतिक विश्लेषक झलक सुवेदी भने माघ ८ मा संविधान बनेन भने पनि एक वर्षभित्रै त्यस्तो कुनै उपद्रो भैहाल्नेमा आफूलाई विश्वास नलागेको बताउँछन् ।
‘कांग्रेस एमालेले पाएको जनमतमा खासै परिवर्तन भइसकेको छैन, त्यसैले एक वर्षभित्रै कुनै उपद्रो भैहाल्छजस्तो मलाई लाग्दैन,’ सुवेदीले अनलाइनखबरसँग भने, ‘त्यसपछि खुमबहादुर या सीके राउत भन्दा पनि अरु नै कुनै पात्रमार्फत् बितन्डता मच्चिन सक्छ ।’

देशले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
यसैवीच एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले prachanda  (3)अन्तरिम संविधान, १२ बुँदे सम्झौता, विस्तृत शान्ति सम्झौता र विभिन्न आन्दोलनपछि भएका सहमतिको मर्म भावना विपरीत जान खोजे संविधान नबन्ने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लबको देउसी टोलीसँग विहीबार कुरा गर्दै प्रचण्डले विगतमा भएका सहमतिको मर्मअनुसार संविधान बनाए आफू लचिलो हुन तयार रहेको स्पष्ट पार्दै अन्यथा मुलुकले ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment