Comments Add Comment

सुधार होला त त्रिभुवन विमानस्थल ?

फाइल तस्वीर
फाइल तस्वीर

७ असोज, काठमाडौं । विश्वका खराब विमानस्थलहरुको सूचिमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तेस्रो स्थानमा परेपछि विश्व समुदायमा नेपालबारे नकारात्मक सन्देश गएकमो छ । यसले मुलुकको छवि बिगार्ने महसुस गर्दै सरकारले विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधार गर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएको छ ।

‘दी स्लिपिङ इन एयरपोर्ट’ नामक वेबसाइटले केही दिन अगाडि सार्वजकि गरेको सूचिमा त्रिभुवन विमानस्थल खराब विमानस्थल परेको छ । सूचि सार्वजनिक भए लगत्तै मुख्य सचिवसहित सरोकारवाला उच्च अधिकारीहरुको बैठक बसेको थियो ।

बैठकले विमानस्थलको सुधारका लागि यसअघि गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा रहेको ‘शिघ्र समस्या सम्बोधन समूह’लाई पुर्नगठन गरेको छ । समूहले विमानस्थलमा भएका कमी कमजोरी सुधार गर्न, अध्यागमन, भन्सार, श्रम डेस्क, सुरक्षा व्यवस्था, बैंक, विमानस्थलमा हुनुपर्ने सेवा सुविधा लगायतका विषयमा नियमित अनुगमन गरेर सुधारका लागि सरकारलाई सुझाव दिने छ ।

यस्तो छ समूह
गृहमन्त्रालयको संयोजकत्व रहेको समूहमा अर्थमन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव सदस्यका रुपमा रहनेछन भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक सदस्य सचिवका रुपमा रहनेछन् ।
 
विमानस्थल सुधार्न निर्देशन

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल खराब विमानस्थलको सूचिमा परेपछि सबैभन्दा धक्का प्रधानमन्त्रीको कार्यालयले महसुस गरेको छ ।
प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले विमानस्थ्ल निरीक्षण गरी तत्काल भौतिक, मनोवैज्ञानिक तथा प्रवृत्तिगत सुधार गरी अन्तर्राष्ट्रियस्तरको मापदण्ड अनुरुप बनाउन विमानस्थलमा कार्यरत कार्यालयका प्रमुखलाई निर्देशन दिएका छन् ।

यस्तो छ विमानस्थल
विदेशी पाहुनाहरुको प्रवेशद्धार त्रिभुवन विमानस्थल निकै फोहोर र अस्तव्यस्त  छ । शौचालय पनि फोहोर र अव्यवस्थित रहेको छ ।
सचिव सुवेदीले विमानस्थलको शौचालयसहित विमानस्थलका अन्य संरचनाहरुको सफाइ कार्यमा खटिने व्यक्तिहरुको जिम्मेवारी तोकी काममा लगाउन निर्देशन दिएका छन् ।
सरसफाइसम्बन्धी कामको विमानस्थल महाप्रबन्धकले नियमित अनुगमन गरी आफ्नो जिम्मेवारी अनुरुप काम नगर्ने व्यक्तिलाई भेदभाव नगरी तत्काल कारबाही गर्न आग्रह गरिएको छ ।

विशिष्ठ कक्षमा अनावश्यकलाई प्रवेश निषेध

सरकारले विशिष्ट व्यक्तिहरुको आगमन तथा प्रस्थानमा स्वात र विदाई गर्न विशिष्ट कक्षमा जान तोकिएको भन्दा अन्य व्यक्तिलाई प्रवेश गर्न नदिन निर्देशन दिएको छ ।

विदेशी दुतावास, अन्तर्राष्ट्रिय नियोग तथा संघ-संस्थामा कार्यरत विदेशी कुटनीतिज्ञहरुलाई विशिष्ठ कक्ष प्रयोग एवं तिनीहरुको सामानको सहज जाँचपास अन्तर्राष्ट्रिय प्रचलन, भियना अभिसन्धि तथा पारस्परिकताको आधारमा गर्नुपर्ने छ ।

सुरक्षा भयमुक्त हुनुपर्ने
विमानस्थलको शान्ति सुरक्षा, चुस्त, दुरुस्त र यात्रुहरुलाई सहज तथा झन्झटिलो नहुने भयमुक्त किसिमको हुने गरी व्यस्था गर्नुपर्ने छ ।

भन्सार, अध्यागमन, वैदेशिक रोजगार डेस्क तथा बैंकको कार्यालयलाई सरल र सिघ्र सम्पादन हुने गरी समयानुसार परिवर्तन गर्न पनि निर्देशन दिइएको छ ।

शौचालय स्टाण्डबाई सफाइ गर्नुपर्ने

विमानस्थलको आगमन , प्रस्थान तथा विश्राम कक्षहरुमा भिडभाड हुन नदिने, भुइँ, रेष्टुरेन्ट, शौचालयहरुलाई सफा र व्यवस्थित गराउने, प्रत्येक शौचालयमा स्टान्डबाई सफाइ गर्ने व्यक्ति राख्ने, साबुन पानी, हात पुच्छ्ने व्यवस्था अद्यावधिक गर्ने र यसको नियमित अनुगमन गर्ने बताइएको छ ।

इन्टरनेट, टेलिफोन, ट्रली, ट्याक्सी सेवा चुस्त

अध्यागमनका आगमन तथा प्रस्थान काउन्टरहरु मर्मत सुधार गरी सहज र आकर्षक बनाउनुपर्ने पनि निर्देशन दिइएको छ ।

त्यसैगरी, आसन्न सार्क सम्मेलनलाई समेत ध्यानमा राखेर विमानस्थ्लमा परिसर सम्पूर्णको स्तरोन्नति, व्यवस्थापन सुधार र सेवाग्राहीलाई सहज सेवा र स्तरीय सुविधा उपलब्ध गराउनुपर्ने छ ।

नियमित बैठक बसेर सुधारमा लाग्नुपर्ने

विमानस्थलभित्र रहेका सरोकारवाला निकायहरुको समन्वय र सहजीकरणको लागि विमानस्थलमा रहेको सरोकारवाला समन्वय समितिको नियमित बैठक बसी उपलब्ध सेवा सुविधाको अनुगमन तथा सुपरिवेक्षण गरी तत्काल सुधार गर्न पनि सचिव सुवेदीले निर्देशन दिएका छन् ।

विमानस्थलको स्तरोन्नती गर्ने निर्माण कार्यलाई म्याद नथपी यथाशिघ्र निर्माण सम्पन्न गरेर सुचारु रुपमा सञ्चालन हुने व्यवस्थालाई उच्च प्राथमिकता दिन पनि निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment