Comments Add Comment

पेट्रोल किन्दा उपभोक्ताले तिरेको ५० पैसा काम लागेन

 ७ कात्तिक काठमाडौं । के तपाईलाई थाहा छ ? पेट्रोलियम पदार्थ किन्दा तपाईले प्रतिलिटर ५० पैसाका दरले ‘प्रदुषण नियन्त्रणका लागि’ भन्दै सरकारलाई बुझाइरहनुभएको छ । उपभोक्ताबाट यसरी उठाइएको रकम हालसम्म २ अर्ब २७ करोडभन्दा माथि पुगिसकेको छ ।

Petrol-Pump
तर, सरकारले पेट्रोलियम पदार्थ बिक्री गर्दा प्रदुषण नियन्त्रण गर्न भन्दै उपभोक्ताबाट उठाएको २ अर्ब २७ करोड रुपैयाँ प्रयोजनबिहीन भएर बसेको छ । उपभोक्तासँग प्रतिलिटर ५० पैसाको दरले उठाएका सो रकम संचित कोषमा थन्किएर बसेको छ ।
उपभोक्ताले तिरेको रकम जम्मा गरेर आफूहले सरकारलाई बुझाएको नेपाल आयल निगम प्रवक्ता मुकुन्द घिमिरेले ्अनलाइनखबरलाई जानकारी दिए । सरकारको निर्णय अनुसार बर्सेनी नियमले बुझाउनुपर्ने रकम बुझाएको उनले बताए ।

आर्थिक वर्ष ०६५/०६६ देखि ०६९/०७० सम्म यस्तो शुल्क वापत १ अर्ब ७२ करोड ७७ लाख २९ हजार रुपैयाँ उपभोक्ताबाट उठाइएको छ । आर्थिक वर्ष ०७० र ७१ मा प्रदुषण शुल्क वापत ५४ करोड ५१ लाख रुपैयाँ बुझाएको निगमले जनाएको छ । यो दुबै रकम जोड्दा सरकारले प्रदुषण शुल्क वापत मात्रै २ अर्ब २७ करोड २८ लाख २९ हजार रुपैयाँ उठेको छ ।

आर्थिक ऐन ०६४ मा काठमाडौं उपत्यकामा पेट्रोल र डिजेलको विक्रीबाट प्रतिलिटर ५० पैसा प्रदुषण नियन्त्रण शुल्क उठाउने र सो रकम छुट्टै कोष स्थापना गरेर प्रदुषण नियन्त्रण गर्ने कार्यमा खर्च गरिने उल्लेख थियो । यस्तै ०६६ सालको आर्थिक ऐन कार्यान्वयनमा आएदेखि देशभरबाट नै यसरी प्रतिलिटर ५० पैसाको दरमा रकम उठाइएको थियो ।

यसरी उपभोक्तावाट उठाइएको प्रदुषण नियन्त्रण शुल्क विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयमा जम्मा हुने र सोही मन्त्रालयले प्रदुषण नियन्त्रणका कामहरु गर्ने ब्यवस्था गरिएको थियो । तर, मन्त्रालयले अहिलेसम्म प्रदुषण नियन्त्रणका कुनै पनि काम गरेको छैन ।

‘पैसा कसरी खर्च गर्ने भन्ने आधार नै तय भएको छैन, प्रदुषण नियन्त्रणको कार्यविधि तयार हुदैछ, त्यो तयार भएपछि खर्च हुन्छ’ मन्त्रालयलका एक अधिकारीले भने ।

प्रदुषण नियन्त्रणको कार्यविधि नै नबनेको कारण यस्तो रकम खर्च हुन नसकेको मन्त्रालयका अधिकारीहरुको भनाइ छ । कुन क्षेत्रमा कसरी के कस्ता कार्यक्रम बनाएर खर्च गर्ने भन्ने यकिन हुन नसकेकोले रकम सञ्चित कोषमा राखिएको उनीहरुको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment