Comments Add Comment

प्रीय गाेरू, तिम्रो सम्झनामा

वेदप्रकाश तिमिल्सेना

प्रीय ! अचेल त तिम्रो सम्झनाले निकै सताइरहन्छ । वाल्यकालका महत्वपूर्ण पलहरु तिमीसँगै बितेका थिए । स्कुलमा विदा हुदा त म झन् तिम्रै नजिक हुन्थे । बर्षे विदा, दशै तिहार विदा र शनिवारको विदामा तिमी मात्रै मेरो साथी थियौ । तिम्रा केही हर्कतले मैले निकै सास्ती भोग्नु परे पनि माया भने कहिल्यै कम भएन । तिमीसँगको निकटतामा त्यसले कुनै असर पारेन । तिमी मेरालागि निकै प्रीय थियौ ।

bedprakash timilsinaम तिमीलाई यति धेरै माया गर्थें र गर्छु की भनि साध्य छैन, लेखि साध्य छैन । तिमीसँगको त्यो समय मेरो मानसपटलमा घुमिरहन्छ । कुइकामा (अछामको कुइका गाविस) बस्ने अनुकुल स्थिति नभएपछि तिमीसँग टाढिएको थिए । कुइकाबाट विदा हुदै गर्दा नयाँ नेपालको कल्पना गर्ने फटाहाहरुले अरु समानसँगै तिम्रो तस्विर पनि लुटेर लगे । न्यास्रो मेट्नका लागि तिम्रो तस्विर पनि थिएन मसँग । तिमीसँग विछोड भएको पनि ठ्याक्कै १६ बर्ष पूरा भयो । पछि स्थिति अनुकुल भएपछि २०६३ साल तिर मैले तिम्राबारेमा गाउँमा पुगेर सोधखोज गरें । तर तिम्रो मृत्यु भैसकेको खबर सुनेपछि म रोएँ पनि । तिमी यो संसारमा नभएको खबरले गहिरो चोट पुग्यो । म तिमीलाई भेट्नलाई आतुर थिएँ । तर, त्यो दुःखद खबरले मेरो प्रीयसँग भेट्ने उत्कट चाहना र अभियानमा ठेंस पुग्यो ।

तिमी अरुका लागि अराजक थियौ । कहिले हिंस्रक पनि बन्थ्यौ । तर मेरो सामुन्नेमा भने तिमी निकै सोझो बन्ने प्रयास गथ्र्यौ । दुःख दिएपछि धेरैपटक मैले तिमीलाई पिटे पनि तर तिमी सहजै लिन्थ्यौ । सणाकोट, गाउखेत, बुडेलीइजर र कुइका गाडको सेरोफेरोमा तिमीसँगका मिठा क्षणहरु सम्झनाको तरेलीमा बयली खेल्न आउँछन् । एक्लै एकान्तमा तिमीसँग बितेका ति दिनहरु सम्झेर भावुक हुन्छु प्रीय । तिमी आफ्ना समकालिनहरु भन्दा अब्बल, सुन्दर र स्मार्ट थियौ । तिमीलाई देखेपछि सबै लोभिन्थे ।

तिमी यस धर्तीमा नभए पनि तिमीप्रतिको मायामा कुनै कमी आएको छैन । हरपल तिमी मेरो सम्झनामा छाउछौ । तिम्रो हिडाइँ डुलाइ मेरो स्मृतीमा अझै ताजा छन् । अनि आफ्ना साथीहरुसँग झगडा गर्ने तिम्रो बानीलाई पनि म कहाँ बिर्सन सक्छु र ! सणाकोटको सेरोफेरोमा तिमीलाई कसैले चुनौति दियो भने स्वीकार गरेर तिमी प्रतिस्पर्धाकालागि तयार हुन्थ्यौ । तिम्रो झगडा गर्ने बानीले कहीलेकाही मलाई समस्या पाथ्र्यो । कहिलेकाही म आफैले अरुसँग झगडा गर्न तिमीलाई हौसाएको अहिले झल्झली याद आइरहेको छ । प्रीय तिम्रो सम्झना नमेटिने गरी छापिएको छ दिलमा । कहिले गाउँ कुइका तिर गएर सणाकोट र कुइका गाडको सेरोफेरोमा पुग्दा तिमीसँग बितेका ति दिनहरु स्मृतिमा ताजा भैजान्छन् ।

बुडेली इजर, सणाकोट, कुइका गाड र गाउखेतको सेरोफेरोमा एक समय तिमी र मसँगै हुन्थ्यौं प्रीय । तिमी र म डुलेका-हिडेका ति ठाउँ जसका तस छन् तर तिमी छैनौ । तिमी अब सम्झनामा सिमित छौ । अहिले पनि गाउँमा तिम्रो जवानीका कुरा धेरै हुन्छन् । बाल्यकालमा तिम्रो नजिक भएकाले होला मसँग धेरैले तिम्राबारे कुरा गर्दछन् । साँच्चै तिमी जस्तो कोही हुन सक्तैन । कोही छैन प्रीय ।

अहा ! कुइकामा तिमीसँगका ति दिनहरु कम्ता रमाइला थिएनन् । कठै त्यो क्षणको अहिले झलझली याद आइरहेछ । म पनि तिम्रो सुन्दरतामा घमण्ड गर्थें । अनि आफ्ना साथीहरुसँग फुइँ लगाउन पछि पर्दैनथें । किनकी तिमी त तिमी नै थियौ । तिम्रो चर्चा गर्दा मेरा अरु बालसखाहरुा सहमत नभएर सुखै पाउदैनथे । तर वर्तमानमा तिमी सम्झनामा मात्र सिमित छौ । अब केबल तिम्रो सम्झना मात्र बाँकी छ । म मात्रै होइन मेरो परिवारका सबै सदस्य र पूरै बुडेलीइजर तिमीलाई सम्झिरहेको छ ।

नियतीले हामीबाट यसरी टाढा पुर्‍यायो की तिम्रो तस्विरसमेत खोसेर लग्यो । मन र मुटुमा खिचेको तिम्रो तस्विर भने जरुर साथमा छ । आखिर मनको क्यामराले खिचेको तस्विर च्यातिने कुरा भएन । मन मस्तिष्कमा तिम्रो तस्विर नच्यातिने गरि साँचेर राखेको छु । प्रीय रते बल्ल (गोरु) आज गोवर्द्धन पूजा अर्थात गोरु तिहारमा धेरै धेरै सम्झना छ । यस अवसरमा तिमीप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै तिम्रो आत्माले शान्ति पाओस् भन्ने कामना गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment