Comments Add Comment

ओखलढुंगा जिप दुर्घटनामा परेकी लीला भन्छिन्- एक हातले रुख र अर्कोले बच्चा समातें

दुर्घटनास्थलको तस्वीर
दुर्घटनास्थलको तस्वीर

११ कात्तिक, काठमाडौं । यसपटक निशंखेमा रहेको मावली घरमा तिहारको टीका लगाउने कार्यक्रम बनाएका थियौं । म मेरो घर रामपुर (ओखलढुंगा) बाट भाइटीकाको अघिल्लो दिन मामाघर पुगेकी थिएँ । शनिबार भाइटीका सकेर जसरी पनि म आइतबार रामपुर पुग्नुथियो । तिहारमा टीका लगाएर र्फकने मानिसको सडकमा चहलपहल थियो ।
म पनि सदरमुका हुँदै रामपुर जान आइतबार गाडी पर्खेर बसेकी थिए । निशंखेबाट ओखलढुंगामात्र पुग्नसके त्यहाँबाट अर्को गाडी चढेर रामपुगर जान म गाडी कुर्न सडकमा निस्किएँ । थरथरे भन्ने ठाउँमा निकैबेर गाडी कुरेपछि धुलो उडाउँदै परबाट एउटा जिप आएको देखें । हामी तीनजना कुरेर बसेका थियौं । जिप रोकियो । यसो हेरेको जिपभित्र पाइलो राख्ने ठाउँ थिएन । चढौं कि नचढौं भनेर दुविधामा परे । गाडी साहुले ल छिटो चढनुहोस भने । तर कसरी चढ्ने ठाउँ नै थिएन । एक मन त नचढौ कि पनि जस्तो लागेको थियो । तर समयमै ओखलढुंगा नपुगे रामपुर जाने  गाडी छुट्थ्यो । त्यसैले होस् न त भनेर जिपमा चढें ।
जिप चढेपछि ड्राइभर र साहुबीच थप यात्रु  राख्ने नराख्नेबारे सामान्य छलफल भएको थियो । ड्राइभरले जिपले तान्न सक्दैन कि भनेर बढी आशंका गरेका थिए । अगाडिका दुई सिट र त्यसपछिका चारजना अट्ने सिटमा खचाखच मानिस थिए । त्यसपछाडिका सबै सिट निकालेर राखिएका थिए र ब्रोइलर कुखुरा बोक्ने गाडी जस्तो बनाइएको थियो । २५ जना यात्रु गाडीमा कुखुराजस्तै गरी कोचिएको थियो । गाडी भने सामान्य गतिमा गुडिरहेको थियो । गाडी अघिपछि जस्तै सामान्य रुपमा नै चलाइएको हुनाले कसैले दुर्घटना हुने भन्ने सोचेकै थिएन ।
अँधेरी नारायणथानको घुम्तीको उकालोमा पुगेपछि जिपले तान्न सकेन ।
जिप विस्तारै पछाडितर सर्न थाल्यो । पछिल्लो भागमा बसेका साहुले चालकलाई राम्ररी केयर गर है भन्दै थिए । त्यत्तिकैमा गाडी पछाडि सरेको सर्‍यै गर्‍यो र पल्टियो । म र सानो दुई वर्षको बच्चा रुखको बेदमा बजारिन पुग्यौं । मैले एक हातले रुख र अर्को हातले बच्चा समाते । अन्य घाइते ‘मरें नि आमा’ भनेर चिच्याइरहेका थिए । कोह ीभने हलचल गर्न छाडेका थिए । मलाई एकजना आएर तानेर माथि निकाले । केहीबेरपछि एम्बुलेन्सले म र बच्चालाई मिसन अस्पताल ओखलढुंगा पुर्‍यायो । घटनास्थल र अस्पतालमा गरेर ११ जनाको मृत्यु भएछ । मलाई पनि दोस्रो जुनी पाएजस्तै लागेको छ । कालको मुखमा पसेर फर्केर आएजस्तो भा’को छ ।
ओखलढुंगा जिप दुर्घटनामा परेर घाइते भइ ओखलढुंगा अस्पतालमा उपचार गराइरहेकी लीला पोखरेल दाहालसँग अन्नपूर्णपोस्टले गरेको कुराकानीमा आधारित ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment