Comments Add Comment

किन बहिस्कार गरे केपी ओलीले प्रचण्डको चियापान ?

अरुण बराल
एमाले अध्यक्ष केपी ओलीले सोमबार भृकुटीमण्डपमा आयोजित एमाओवादी लगायत २२ दलको चियापान बहिस्कार गरेपछि प्रचण्डले मञ्चबाटै गुनासो गरे, ‘केपी ओलीजी बोलाउँदा पनि आउनुभएन, उहाँ आइदिएको भए राम्रो हुन्थ्यो ।’susil-prachanda-and-madhav
सोमबारै सिंहदरबारमा आयोजित तीन दलको बैठकमा समेत एमालेका शीर्षनेता नआएको परिस्थितिमा एमाले नेता माधवकुमार नेपालसमेत भृकुटीमण्डप नगइदिएको भए प्रतिपक्षी दल र एमालेवीचको सम्बन्ध झनै चिसो हुने निश्चित थियो । तर, त्यसो हुन पाएन ।

माधव नेपालले निम्तो मानिदिएकोमा खुशी हुँदै प्रचण्डले भने,’तर, ओलीजी नआए पनि एमालेका बरिष्ठ नेता माधवकुमार नेपालजी आउनुभएको छ, त्यसैले यहाँ नेकपा एमाले पन छि भन्ने हामीले महसुस गरेका छौं ।

किन बहिस्कार गरे ओलीले चियापान ?

केपी ओली बिरामी परेकाले २२ दलको चियापानमा नभएका होइनन् । त्यहाँ नजाने उनको नियत नै थियो । तर, २२ दलको चियापानमा नगएर ओलीले केही प्रश्न उठाएका छन् र केही विषयको जवाफसमेत दिएका छन् ।

नेपाली संस्कृतिको मौलिक परम्परा के छ भने जतिसुकै मनमुटाव भए पनि सम्बन्धित पक्षले नबोलाए पनि मलामी जानुपर्छ । सुखको ‘कार्जे’मा भने बोलाएपछि मात्रै जाने नेपाली प्रचलन छ । तर, बोलाएपछि पनि कोही मानिस त्यस्तो कार्जेमा गएन भने निम्तो दिनेले उसलाई ‘मार्क’ गर्छ र मनमा गुनासो पाल्छ । तर, म आउन सकिँन है भनेर कसैले स्पष्टीकरण दिएपछि यो विषय सामान्य बन्छ ।

ओलीले चियापानमा अनुपस्थित भएर केही सन्देश दिन खोजेका छन्, उनी एमाओवादीलाई पूर्णतः उपेक्षा गरेर अघि बढ्न चाहन्छन्

राजनीतिमा पनि समाजिक मौलिकता र संस्कृतिको प्रतिविम्बन हुन्छ । निम्तो गरेपछि त्यसलाई स्वीकार गर्ने या आउन सकिन है भन्ने नेपाली संस्कारलाई केपी ओलीले तोडेकै कारण प्रचण्डले मञ्चबाटै गुनासो पोखेका हुन्, ‘ओलीजी आएदिएको भए राम्रो हुन्थ्यो ।’

दलका शीर्ष नेताहरुले आपसमा मिलेको र सहमतिमा जनतालाई संविधान दिन तयार रहेको सन्देश जनतामा दिन यस्ता दलगत चियापानले अर्थ राख्छन् । केपी ओलीकै नेतृत्वमा बल्खुमा आयोजना गरिएको चियापानमा प्रचण्ड र बाबुराम भट्टराई लगायतमा नेताहरु गएकै थिए । तर, ओलीले प्रचण्डको चियापान बहिस्कार गरेर गुन तिरे ।

केपी ओलीको यस्तो व्यवहार बहसको विषय बन्न सक्छ । ओली एकजना व्यक्ति होइनन् । उनी नेकपा एमालेको अध्यक्ष समेत भएकाले उनका गतिविधिमा एमालेको जीवनसमेत जोडिन्छ ।

दसैं, तिहार, नेपाल सम्वत, छठ, इद, बलिहाङ तङनाम, ल्होसार आदि जेजति नेपाली चाडपर्वहरु छन्, तिनले हामीलाई एकापसमा जोड्नुपर्छ, फुटाउने होइन । कांग्रेस, एमाले र एमाओवादीले आयोजना गरेका चियापानहरुले नेतालाई जोडेकै थिए, केपी ओलीको व्यवहार कवाफमा हड्डी नबनेको भए ।

तर, केपी ओलीले २२ दलको चियापानमा अनुपस्थित भएर केही सन्देश दिन खोजेका छन् । उनी विशेषगरी एकीकृत नेकपा माओवादीलाई पूर्णतः उपेक्षा गरेर अघि बढ्न चाहन्छन् । यो मुला एमाओवादी भनेको केही पनि होइन भनेर ओलीले स्पष्ट सन्देश दिन खोजेका छन् । २२ दललाई त उनी मान्दै मान्दैनन् । त्यो मञ्चमा एमालेका पूर्वउपाध्यक्ष अशोक राईसँग बस्न उनलाई पटक्कै रुची थिएन ।

माघ ८ पछि आफैं प्रधानमन्त्री बन्ने सोचाइमा रहेका केपी ओलीका लागि राष्ट्रिय सहमति झनै बढी जरुरी छ

एमालेले सात प्रदेशको प्रस्ताव गरिरहेका बेला ओलीले एकाएक तीन प्रदेहको पासा फाले । त्यसपछि हिमाल पहाड र तराईलाई मिलाएर ४ प्रदेश बनाउनुपर्ने उनले थप प्रस्ताव अघि सारेको उपाध्यक्ष वामदेव गौतमबाट मिडियामा सार्वजनिक भइसकेको छ । यी मामिलामा ओली एमाओवादी नेताहरुसँग बारम्बार बसेर माथापच्चसी गर्ने पक्षमा छैनन् । एमभाओवादीले गर्ने आन्दोलनले पनि केही गर्न सक्दैन भन्ने ओलीको बुझाइ छ ।

एमाले नेताहरुले दिएको जानकारीअनुसार केपी ओलीले एमाओवादी र २२ दलसँग कुरो मिलाउने जिम्मा माधव नेपाललाई दिएका छन् । त्यसैले चियापानमा माधव नेपालले एमालेको प्रतिनिधित्व गरिसकेपछि ओली र अरु नेताहरु ग्वारगार्ती किन जानुपर्‍यो ? ओली आएनन् भनेर किन कोकोहोलो गरिरहनुपर्‍यो ? शायद अब केपी ओलीको जवाफ यस्तै हुने छ ।

साेमबार बिहान सिंहदरबारमा बोलाइएको तीन दलको बैठक केपी ओलीले किन बहिस्कार गरे ? माधव नेपाल लगायतको टोली किन त्यहाँ गएन ? अग्नि खरेललाई मात्रै एक्लै पठाएर किन बकुल्लो बनाइयो ? यसको जवाफ भने एमाले नेताहरुले कसरी दिने हुन्, हेर्न बाँकी छ ।Kp-oli-Return-from-india

अब संविधानसभाले दिएको सहमतिको समय सीमा सकिन चार दिन मात्रै बाँकी छ । यो स्थितिमा विपक्षीहरुलाई सहमतिमा ल्याउने दायित्व सत्तारुढ दल भएकाले एमालेको पनि हो र त्यसका अध्यक्ष केपी ओलीको पनि हो । विपक्षीहरु २२ दलमा सहभागी भएर एउटै मोर्चामा छन् र प्रचण्डमार्फत कुरा गर्न सहज रहेको अवस्था छ ।

यो स्थितिमा २२ दललाई ‘बाल मतलव’ नगरी केपी ओलीको लाइनअनुसार देश अगाडि बढ्ला ? यो गम्भीर प्रचण्ड केपी ओलीको नेतृत्वमा रहेको नेकपा एमालेले सतहमा ल्याइदिएको छ ।

तर, माघ ८ पछि आफैं प्रधानमन्त्री बन्ने सोचाइमा रहेका केपी ओलीका लागि राष्ट्रिय सहमति झनै बढी जरुरी देखिन्छ ।

याे पनि पढ्नुहाेस्

२२ दलको चियापान केपी ओलीद्वारा बहिस्कार

प्रधानमन्त्रीले भने-मिलेर संविधान बनाऔं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment