Comments Add Comment

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर हुँदै नेपाल आउने

११ कात्तिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आसन्न सार्क शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आउँदा विगतको परम्परा तोडिने भएको छ ।

दिल्लीबाट मोदी सीधै काठमाडौं नआई पटनाबाट जनकपुर आउनेछन् । र, जनकपुरको रामजानकी मन्दिरमा पूजापाठ गरेपछि मात्रै उनी काठमाडौं आउनेछन् ।

Modi
फाइल फोटो

 सार्क सम्मेलन सकेर भारत र्फकँदा पनि मोदी काठमाडौंबाट सीधै दिल्ली जाने छैनन् । काठमाडौंबाट लुम्बिनीमा गौतम बुद्धको जन्मस्थल अवलोकन गरी उतैबाट दिल्ली जाने मोदीको भ्रमण कार्यतालिका बनेको छ ।

सार्क सम्मेलनमा काठमाडौं आउँदा भारतीय प्रधानमन्त्री मोदी सुरुमा बिहारबाट जनकपुर आउनेछन् र फर्कँदा पनि लुम्बिनी हुँदै यूपीतर्फ लाग्नेछन्

यसवीच मुस्ताङमा रहेको मुक्तिनाथको समेत दर्शन गर्ने मोदीको कार्यतालिका थपिएको छ । गत साउनमा पशुपतिनाथको दर्शन गर्न नेपाल आएका मोदीले सार्क सम्मेलनमा आउँदा जनकपुर र लुम्बिनीको भ्रमण गर्ने घोषणा गरेका थिए ।

हिन्दुवादी प्रधानमन्त्री मोदीले पशुपतिनाथ, मुक्तिनाथ र केदारनाथको धार्मिक पर्यटकीय रुटको परिकल्पना गरेका छन् । यसैले पनि उनले मुक्तिनाथको दर्शनलाई महत्व दिएका हुन् ।

निरन्तरतामा क्रमभंगता

मोदीले सीधै काठमाडौंको विमानस्थल प्रयोग नगरेर भारतीय प्रधानमन्त्रीहरुको नेपाल भ्रमणको परम्परालाई तोड्दै नयाँ इतिहास रच्न लागेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदी केही न केही नयाँ गतिविधि गरेर चर्चा कमाउन निकै माहिर छन् ।

सार्क सम्मेलनमा भाग लिन आउने भारतीय प्रधानमन्त्रीको विशेष विमान बिहारको राजधानी पटनाबाट उड्नेछ र जनकपुरमा अवतरण हुनेछ ।

नेपाल सरकारले भारतीय प्रधानमन्त्रीलाई जनकपुरमा स्वागत गर्नेछ भने विदाइ गर्न पुग्नुपर्नेछ, लुम्बिनीमा । सामान्यतया विश्वका राष्ट्र प्रमुख तथा प्रधानमन्त्रीहरुको भ्रमण राजधानीबाट शुरु हुने प्रचलन छ । तर, यो प्रचलनलाई मोदीले नयाँ मोड दिन लागेका हुन् ।

आफू प्रधानमन्त्री भएलगत्तै गत सेम्टेम्बर १७ मा भारत भ्रमणमा आएका  चिनियाँ राष्ट्रपति सि जिनपिङलाई उनले नयाँ दिल्लीको साटो आफ्नै गृहनगर गुजरातमा स्वागत गरेका थिए ।

चिनियाँ प्रधानमन्त्रीलाई गुजरातमा स्वागत गरेका मोदीले जनकपुरबाट भ्रमणको शुरुवात गरेर लुम्बिनीबाट भ्रमण टुंग्याउनुमा धार्मिक कारण रहेको छ ।

मोदीले दुनियाँलाई आश्चर्य चकित पार्ने आफ्नो कार्यशैलीलाई निरन्तरता दिँदै नेपाल भ्रमणलाई पनि विशेष बनाउन लागेका हुन् ।

गत साउनमा नेपाल भ्रमणमा आउँदा नेपाली धर्मपुत्र जीतबहादुरलाई परिवारसँग पुर्नमिलन गराएर उनी विश्वका सञ्चार माध्यममा चर्चा कमाएका थिए । काठमाडौंको सडकमा जनतासँग उनले प्रत्यक्ष सम्वादसमेत गरेका थिए । उनको यस्तो क्रियाकलापले काठमाडौंमा निकै चर्चा पाएको थियो ।

सार्क सम्मेलनको ‘अफ ट्रयाक’ भ्रमणबाट पनि मोदी सञ्चार माध्यममा यस्तै गरी छाउने उपायको खोजी गरेको बताइन्छ ।

भारतबाट घुम्दै जनकपुर छिर्ने

जनकपुर प्रवेश गर्नुअघि मोदी बिहारका कार्यक्रमहरुमा सहभागी रहनेछन् । भ्रमणपछि उनले उत्तर प्रदेशमा केही समय बिताउनेछन् ।

नेपाल भ्रमणमा आउनुअघि सम्भवतः मोदीले विहारमा निर्मित भारत सरकारकै महत्वाकांक्षी परियोजना ‘पारादीप आइओसिएल रिफाइनरी प्रोजेक्ट’को उद्घाटन गर्नेछन् ।

यो भारतीय आयल निगम र कुवेत आयल निगमको संयुक्त परियोजना हो । जसको अनुमानित निर्माण लागत आठ हजार करोड भारु रहेको छ ।

सुरक्षा निकायलाई हैरानी

काठमाडौं रहेको भारतीय दूतावास स्रोतका अनुसार मोदीको आफ्नै रुचीका आधारमा जनकपुरबाट नेपालको भ्रमण शुरु गर्ने र लुम्बिनीबाट टुंग्याउने निर्णय गरेका हुन् ।

सार्क सम्मेलनलाई लक्षित गर्दै भारतीय दूतावासले बारम्बार काठमाडौंको सुरक्षास्थितिबारे प्रश्न उठाइरहेका बेला मोदीको जनकपुर आगमनले नेपालका सुरक्षा अधिकारीहरुलाई अर्को हैरानी थपिदिएको छ ।

मोदीको भ्रमणका लागि दुबै देशका सुरक्षा अधिकारीहरुले जनकपुर र लुम्बिनीमा गोप्यरुपमा सुरक्षाको स्थिति विश्लेषण शुरु गरेको बुझिएको छ ।

सडकमार्गबाट मोदी जनकपुर आउने चर्चा

उता जनकपुरमा भारतीय प्रधानमन्त्री मोदी सडकमार्गबाटै आउने चर्चा चलेको छ । मोदी सडकमार्गबाट जनकपुर आउन लागेको भन्दै नेपाल सरकारले भिट्टामोड-जनकपुर सडकमार्गको मर्मत तत्काल गर्न सम्बिन्धत निकायलाई निर्देशन दिइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment