Comments Add Comment

मन्त्री भएपछि तीन लाख ऋण लाग्यो : महेश बस्नेत

१२ कात्तिक काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले मन्त्री भएयता आफूलाई ३ लाख रुपैयाँ ऋण लागेको बताएका छन् ।MAHESH-BASNET
‘मन्त्री भएयता एक महिनाको तलब थापेँ, दसैंतिहार लगायत चाडवाड मनाउँदा उल्टो तीन लाख रुपैयाँ ऋण लाग्यो, गरिबको छोरोलाई मन्त्री हुन पनि गाह्रो रहेछ’ मन्त्री बस्नेतले भने ।
आफूले अनैतिकरुपमा कसैसँग पनि एक रुपैयाँ नलिएका कारण ऋण लागेको उनले बताए ।
‘आजसम्म कसैसँग अनैतिकरुपमा एक रुपैयाँ पनि लिएको छैन, बरु ऋण सहन्छु । तर, भ्रष्टाचार र अनैतिक काम गर्दिँन’ मन्त्री बस्नेतले भने ।
अनैतिक क्रियाकलापबाट टाढा रहन आफूले उद्योगी व्यवसायीसँग संस्थागत ‘डिल’ मात्रै गरेको उनको भनाइ छ । ‘व्यक्ति-व्यक्तिबीच भेटघाट गर्दा अनैतिक क्रियाकलाप हुन सक्छ, त्यसैले संस्थागतरुपमा मात्रै भेटघाट गर्दै आएको छु’ उनले भने ।
मन्त्रीको हैसियत गाविस अध्यक्षको जति पनि भएन
मन्त्री बस्नेतले उद्योगमन्त्री भएर गाविस अध्यक्ष जति पनि हैसियत नभएको महसुस भएको सुनाए ।
‘मैले गाविस अध्यक्ष हुँदा गाउँमा एउटा बाटोलाई एक लाख रुपैयाँ दिन सक्थेँ । तर, अहिले उद्योग मन्त्री भएर पनि विकास परियोजनाका लागि कसैलाई एक लाख रुपैयाँ दिन सक्ने अवस्था छैन’ उनले भने ।
बजेट अभावका कारण आफूले चाहेजति विकास गर्न नसक्ने उनको भनाइ छ । ‘३ अर्ब बजेटले अब उद्योग मन्त्रालय मान्नेवाला छैन’ उनले भने, ‘अर्को वर्ष १०/१२ अर्ब रुपैयाँ चाहिन्छ ।
म गुन्डा होइन
आफूलाई ‘गुन्डा’ भन्नेहरुलाई प्रशासनिक तथा आर्थिक सुधारलगायतका राम्रा काम गरेर चुनौती दिने मन्त्री बस्नेतले बताए ।
‘मेरा बारेमा गुन्डा भनेर टीका टिप्पणी हुने गरेको छ । तर म गुन्डा होइन, म राजनीतिक व्यक्ति हो’ उनले प्रश्न गरे -कुनै समय माओवादी अराजकताका विरुद्धमा ढुंगामुढा र गुन्डागर्दी गरियो भन्दैमा गुन्डा भन्न मिल्छ ?
मन्त्री बस्नेतले मंगलबार साँझ केही पत्रकारहरुसँग भेटघाटको आयोजना गरी आफ्ना मनका कुरा खोलेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment