Comments Add Comment

तीन लाख ऋण गरेर दसैं मान्ने ‘उद्योग’ मन्त्री !

MAHESH-BASNET

अनलाइनखबर टिप्पणी
१३ कात्तिक काठमाडौं । आफूलाई गरीबको छोरो बताउने उद्योगमन्त्री महेश बस्नेतले मन्त्रीनिवासमा पत्रकारलाई बोलाएर मासुभात खुवाउँदै भनेका छन् – ‘यसपालिको दसैं तिहारमा ३ लाख रुपैयाँ ऋण लाग्यो ।’
मन्त्री बस्नेतको यस्तो खुलासाले केही गम्भीर प्रश्नहरु उठाएका छन् ।
मन्त्री बस्नेत देशको संस्कृतिमन्त्री नभएर उद्योगमन्त्री हुन् । कलेजमा पढाइ हुने अर्थशास्त्रको सामान्य सिद्धान्तले पनि के भन्छ भने ऋण काढेर उत्पादनमूलक कामम लागनी गर्नुपर्छ । बिहे बटुलो, पास्नी, ब्रतबन्ध जस्ता कार्यमा ऋण लगानी गर्नु मूर्खता हो ।
देशको उद्योगमन्त्रीले नै दसैंतिहारमा ऋण गरेर तीन लाखसम्म खर्च गर्छ भने सर्वसाधारणले के सिक्ने ? ऋण गरेर मन्त्रीले कुखुरा पालन गरें भनेको भए त्यो उदाहरणीय कार्य हुन्थ्यो ।
ऋण गरेर चाड मनाउने संस्कारमा व्यक्तिले देशमा कसरी उद्योगधन्दा फस्टाउलान् ? मन्त्री बस्नेतले ऋण काढेर घिऊ खाएको यो भनाइ अर्थशास्त्रका विद्यार्थीहरुका लागि रोचक प्रहसनजस्तै बनेको छ ।
मन्त्री बस्नेत नेकपा एमालेका नेतासमेत हुन् । एमाले नेताहरु आफूलाई कम्युनिष्ट दाबी गर्छन् । एमालेले देशलाई पुँजीवाद हुँदै समाजवादसम्म पुर्‍याउने लक्ष लिएको छ । तर, लाखौं ऋण काढेर चाड मनाउने संस्कार समाजवादी होइन । यस्तो संस्कार  पुँजीवादी अर्थशास्त्रभित्र पनि पर्दैन । यो त सामन्तवादी संस्कार हो ।
गरीबलाई मन्त्री हुन गाह्रो रहेछ भन्ने मन्त्री बस्नेतको अर्को भनाइ छ । मन्त्रीलाई तलबले खान नपुगेको र ऋण गरेर खानुपरेको उनले बताएकै छन् । नेपालको उद्योगमन्त्रीकै यस्तो रोदन छ भने मजदुरको अवस्था कस्तो होला ? सामान्य सरकारी कर्मचारी र किसानहरुको स्थिति के होला ? सामान्य व्यापार व्यवसाय गर्ने जनताको स्थिति कस्तो होला ?
यो भन्दा पनि गम्भीर प्रश्न त के छ भने यसरी एकै महिनामा ३ लाख ऋण लाग्छ भने बस्नेत मन्त्री पदमै चाँहि किन बसिरहेका छन् ? चाँडोभन्दा चाँडो मन्त्री पदबाट राजीनामा दिएर थप ऋण पर्नबाट उनी किन बच्न चाहँदैनन् ?
उद्योग मन्त्रालउय सम्हालेको र देशमा नयाँ थिति बसाएर छाड्छु भन्ने कसम  खाएको उर्जाशील मन्त्रीले यसरी हलुका टिप्पणी गर्दै हिँड्नु शोभनीय कार्य होइन । चाडबाडमा ऋण गरेर लाखौं खर्च गर्नु उद्योगमन्त्री, वा कम्युनिष्ट मन्त्रीले सुहाउने व्यवहार होइन ।
मन्त्रीलाई खान पुगेन र ऋण लाग्यो भन्दै गीत गाउनु अर्को राजनीतिक प्रहसन हो ।
एकातिर फजुल खर्ची व्यवहार गर्ने र अर्कातिर गरीब छु, तलबले खानै पुगेन भन्दै हिँड्ने मन्त्री बस्नेतले यो पनि बुझ्नुपर्छ कि नेपाली जनताको चेतनास्तर योभन्दा धेरै माथि उठिसकेको छ ।
त्यसैले, सिकारु मन्त्रीले बोल्दाखेरि अलि बिचार गरेर, तौलेर पो बोल्ने हो कि ?

यो पनि पढ्नुहोस

मन्त्री भएपछि तीन लाख ऋण लाग्यो : महेश बस्नेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment