Comments Add Comment

सूर्यबहादुरदेखि कमल थापासम्म बाबुरामको भेटघाट

१३ कात्तिक, काठमाडौं । संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधानका विवादित विषयमा सहमति जुटाउने प्रयासमा बिभिन्न दलका शीर्ष नेताहरुसँग अनौपचारिक परामर्श गरेका छन् ।

BRB-Sana Dal Chhalphalसभापति भट्टराईले विहीबार विहान पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा मालेका महासचिव सीपी मैनाली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेसँग सामूहिकरुपमा संविधानका अन्तरबस्तुमा रहेका विवाद समाधानबारे परामर्श गरेका छन् ।

संवाद समितिको ११ गते बसेको बैठकले १२ र १३ गते विभिन्न पक्षहरुसँग अनौपचारिक कुराकानी गर्ने र १४ गते औपचारिक बैठक राख्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नै सभापति भट्टराईले अनौपचारिक छलफललाई निरन्तरता दिएको भट्टराईको निजी सचिवालयले जनाएको छ ।

‘संविधानका विवाद टुंग्याउन बाँकी रहेका विषयको निरुपण कसरी गर्ने भन्ने विषयमा परामर्श गरें,’ भट्टराईले भने । सहमति जुटाउन संविधानसभाले दिएको समयसीमा पालना गर्न नसक्दा उत्पन्न भएको परिस्थितिलाई कसरी सम्हाल्ने भनेर पनि आफूले सुझाव लिएको सभापति डा. भट्टराईले जानकारी दिए ।

‘उहाँहरुले महत्वपूर्ण सुझाव दिनुभएको छ, ति सुझावको आधारमा अघि बढ्छौं,’ भट्टराईले भने ।

सभापति भट्टराईले विहीबार नै बिभिन्न पक्षहरुसँग पनि व्यक्तिगत र सामूहिकरुपमा छलफल गर्ने कार्यक्रम तय भएको उनको निजी सचिवालयले जनाएको छ । विहीबार प्रमुख तीन दलको बैठक छ भने संवाद समितिको बैठक शुक्रबार दिउँसो २ बजे तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment