Comments Add Comment

उद्योग वाणिज्य महासंघको खाता सिडिअोको नियन्त्रणमा

Fncci१४ कात्तिक, काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको माइन्यूट जिल्ला प्रशासन कार्यालय काठमाडौंले नियन्त्रणमा लिएको छ ।

महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे अवैधानिक भएको भन्दै परेको उजुरीको आधारमा माइन्यूटको केही अंश र लिखित जवाफ लिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले अनलाइनखबरलाई जानकारी दिए ।

गौतमका अनुसार उजुरीका विषयमा महासंघलाई जवाफ दिन पटक-पटक ताकेता गर्दा पनि अटेर गरेपछि जिल्ला प्रशासन कार्यालयको टोली शुक्रबार दिउँसो आफै महासंघ सचिवालयमा गएर लिखित जवाफ लिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुईपटक सात दिनको म्याद दिएर जवाफ पठाउन महासंघलाई ताकेता गरेको थियो ।

उता महासंघका महानिर्देशक हेमन्त दवाडीले भने शुक्रबार विहान सचिवालयले अाफै जवाफ सिडिअाे कार्यलमा पठाइसकेकाे अनलाइनखबरसँग बताए ।

‘पहिलाे चिठी महासंघमा अाएको थाहा भएन, दर्ता भएको छैन, उहाँहरूले पहिलो चिठीको जवाफ नपाएको भन्दै जवाफ माग गर्दै चिठी पठाउनुभएको थियो, हामीले उहाँहरूले खोजेकाे जवाफ कर्मचारीमार्फत अाज विहान नै पठाइसकेका थियाैं’ महानिर्देशक दवाडीले भने- ‘उहाँहरू दिउँसाे महासंघ सचिवालयमा अाएर जवाफ पाइएन भन्दै माग्नुभएछ, म त्यतिबेला महासंघमा थिइन, साथीहरूले हामीले विहानै जवाफ पठाइसक्याैं, यहि हाे जवाफ भनेर पुनः दिएछन ।’

तोकिएको समयमा जवाफ नआएको भन्दै सिडिओ कार्यालयका कर्मचारी मंगलबार नै महासंघ सचिवालयमा पुगेका थिए । त्यतिबेला महासंघ सचिवालयले अहिले सम्बन्धीत व्यक्ति नभएको र कागजात राखिएको कोठा बन्द भएको भन्दै बिहीबार पठाइदिने आश्वासन दिएको सिडिअाे कार्यालयले बतायो ।

बिहीबार पनि महासंघले लिखित जवाफ पठाउन अटेर गरेपछि टोली शुक्रबार आफै गएर माइन्यूटको केही अंश र लिखित जवाफ लिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता शिवराम गेलालले जानकारी दिए ।

अध्यक्ष पाण्डे भ्रष्टाचारी ठहरिएकाले उनी अवैधानिक भएको भन्दै वरिष्ठ उपाध्यक्षसहितका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले विरोध जनाउँदै आएका छन् ।

पाण्डेलाई २२ वर्ष अगाडी खानेपानी संस्थानमा हुँदा अनियमितता गरेको ठहर गर्दै अदालतले जेल सजाय सुनाएपनि पुरा समय जेल सजाय भुक्तान नगरेकाले उनी महासंघको विधानअनुसार अध्यक्ष हुन अयोग्य रहेको विपक्षीहरुको आरोप छ ।

जिल्ला प्रशासन कार्यालयले महासंघमा गएर यसरी कागजात लिएको यो पहिलो घटना हो । आगामी वर्ष महासंघले ५०औं स्वर्णजयन्ती मनाउँदै छ ।

महासंघद्धारा खण्डन

यसैबीच, महासंघले शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै जिल्ला प्रसान कार्यालय काठमाडौंले सञ्चारमाध्यमलाई दिएको जानकारी भ्रमपूर्ण रहेको दाबी गरेको छ ।

‘महासंघका विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पत्र पठाई जानकारी माग गरे बमोजिम सम्बन्धित कार्यालयलाई रितपूर्वक आजै जानकारी पत्र पठाईसकेकोमा पत्र प्राप्त नभएको भनी सो कार्यालयबाट कर्मचारी आएको हुँदा निजलाई कार्यालयमा प्रेशित पत्रको प्रतिलिपि उपलव्ध गराइएको हो । अन्य कुनै पनि कागजात कहिँकतैबाट नियन्त्रणमा नलिएको महासंघ स्पष्ट पार्दछ’ विज्ञप्तीमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment