Comments Add Comment

प्रहरीको सर्वेक्षणमा सहभागीले भने-प्रहरीले घुस लिएर मात्रै काम गर्छन्

१४ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले गरेको सर्वेक्षणमै नौ प्रतिशत उत्तरदाताले प्रहरीले घुस नलिई कामै नगर्ने गरेको गुनासो गरेका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालमा सार्वजनिक गरिएको ‘नेपाल प्रहरी सङ्गठनप्रति आमनागरिकको धारणा सर्वेक्षण २०७१’ मा प्रहरीको दैनिक कार्यलाई कसरी लिनुभएको छ भन्ने प्रश्नमा भनसुनका आधारमा १८ प्रतिशत काम हुने गरेको, सेवा चुस्त र दुरुस्त छ भन्नेमा १२ प्रतिशत, पहिलेको भन्दा सुधारिएको छ भन्नेमा ६१ प्रतिशत र घुस नदिई कामै हुँदैन भन्नेमा नौ प्रतिशत जवाफ आएको उल्लेख छ ।

नागरिकको हैसियतले प्रहरी कर्मचारीसँग सम्पर्क गर्दा कस्तो व्यवहार गरेको पाउनुभएको छ भन्ने प्रश्नमा, ठीकै (सामान्य) मा ५९ प्रतिशत, राम्रोमा ३३ प्रतिशत, अत्यन्त राम्रोमा ५ प्रतिशत र नराम्रोमा ३ प्रतिशत उत्तरदाताहरूको जवाफ सर्वेक्षणमा आएको छ ।

सहभागीमध्ये ८२ प्रतिशतले प्रहरीले काम गर्दा अनूचित लाभ नलिने गरेको जवाफ दिएका छन् भने १८ प्रतिशतले अनुचित लाभ लिने गरेको गुनासो गरेका छन् । प्रहरी कार्यालयमा पर्ने जाहेरी दरखास्तको सम्बन्धमा काम छिटो छरितो गर्न सहभागीमध्ये ५२ प्रतिशत उत्तरदाताले प्रहरीले कोशिस गरेको हुन्छ भन्ने बताएका छन् भने १३ प्रतिशतले कोशिसनै नगर्ने गरेको जवाफ दिएका छन् ।

सडक दुर्घटनालाई न्यूनीकरण गर्न प्रहरीले ट्राफिक नियमलाई कडाईका साथ कार्यान्वयन गर्नुपर्दछ भन्नेमा ५३ प्रतिशत, ट्राफिक जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्दछ भन्नेमा ३९ प्रतिशत र मादक पदार्थ सेवनको जाँच गर्नुपर्छ भन्नेमा ८ प्रतिशत उत्तरदाताले जवाफ दिएका छन् ।
सर्वेक्षणमा सहभागीमध्ये ६७ प्रतिशत उत्तरदाताले प्रहरीलाई आफूले सूचना दिएर सहयोग गरेको पाइयो भने ३३ प्रतिशतले प्रहरीलाई कुनै सूचना नदिइएको पाइएको छ ।

नेपाल प्रहरीले जनताको विश्वास जित्न के गर्नुपर्ला भन्ने प्रश्नमा  जिम्मेवार तथा पारदर्शी ढङ्गबाट काम गरेमा मात्र जनताको विश्वास जित्न सक्छन भन्नेमा ६६ प्रतिशत, जनसम्पर्क अभिवृद्धिमा १६ प्रतिशत र अपराधको रोकथाममा सक्रिय हुनुपर्छ भन्नेमा १८ प्रतिशत उत्तरदाताको धारणा रहेको पाइएको छ ।

नेपाल प्रहरीले प्रदान गरिरहेको सेवा विश्वसनीय र भरपर्दो छ भन्नेमा सर्वेक्षणमा सहभागी ८२ प्रतिशत र १८ प्रतिशतले विश्वसनीय नभएको जवाफ दिएका छन् । सहभागी मध्ये ५५ प्रतिशतले आफ्नो क्षेत्रमा प्रहरीले सामान्य गस्ती गर्ने गरेको, ३७ प्रतिशतले कहिलेकाही मात्रै गस्ती गर्ने गरेको र ८ प्रतिशतले बाक्लो गस्ति गर्ने गरेको जवाफ दिएका छन् ।

५८ प्रतिशतलेे सेवामुखी भावना, २५ प्रतिशतले शिष्ट र १७ प्रतिशतले सामान्य रुपमा प्रहरीले काम गरुन भन्ने अपेक्षा लिएको जवाफ दिएका छन् ।

नागरिक र प्रहरी दुवैले मिलेर काम गरेमा अपराध रोकथाम र अनुसन्धान कार्य सफल हुने कुरामा ८२ प्रतिशत सहभागी सहमत रहेको पाइएको छ ।
समाजमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीको आवश्यकता रहेकोमा ९६ प्रतिशत उत्तरदाताको सहमत रहकोे पाइएको छ भने आश्यकतानै छैन भन्नेमा १ प्रतिशत उत्तरदातामात्रै पाइएको छ ।

नागरिक वडापत्रलाई सुधार गर्दै अक्षरस कार्यान्वयन गर्नतर्फ जोड दिनुपर्ने भन्नेमा ५२ प्रतिशत प्रहरीले नागरिकको मानव अधिकार संरक्षणमा उच्च प्राथमिकता दिएको सर्वेक्षणमा सहभागीमध्ये ६३ प्रतिशत नागरिकको जवाफ पाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment