Comments Add Comment

विश्वासिलो बन्न सकेन प्रहरी

nepal police cap
१५ कात्तिक, काठमाडौं । अझै पनि प्रहरीसेवालाई सर्वसाधारणले पूर्ण रूपमा विश्वास गर्दैनन्। गत असार १९ देखि साउन १५ सम्म नेपाल प्रहरीले सेवाग्राहीको धारणा बुझ्न गरेको अध्ययनले सर्वसाधारणले अझै पनि प्रहरी सेवा भरपर्दो नभएको बताएको देखाएको छ।

प्रहरीले ६३ जिल्लाका एक हजार ६ सय ५८ जना सेवाग्राहीको धारणा लिएको थियो। तीमध्ये १८ प्रतिशले प्रहरीप्रति अनविश्वास प्रकट गरेका छन्। उनीहरूले अझै पनि प्रहरीले सेवाग्राहीलाई चुस्त सेवा दिन नसकेको, घूस लिने प्रवृत्ति कायमै रहेको र शिष्ट हुन नसकेको बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रहरी मुख्यालयले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा प्रहरीको दैनिक कार्यसम्पादनमा समेत सर्वसाधारणले असन्तुष्टि जनाएको पाइएको छ। प्रहरीबाट काम लिन राजनीतिक दलका नेताबाट भनसुन गराउनुपर्ने र घूस नदिई काम नहुने भन्दै सेवाग्राहीले प्रहरीको भूमिकाप्रति असन्तुष्ट जनाएका छन्।

प्रहरी प्रवक्ता डीआईजी माधव जोशीले विगतको तुलनामा समाजमा प्रहरीको छवि सुध्रँदै गएको दाबी गरे। सेवाग्राहीले दिने जाहेरीमा कारबाहीका लागि प्रहरीले छिटोछरितो गर्ने प्रयास गरे पनि सर्वेक्षणले झन्डै आधा प्रभावकारी नभएको देखाएको छ।

उन्नत तालिम, वैज्ञानिक उपकरण प्रयोग र ऐनकानुनमा परिमार्जन गरे मात्र प्रहरीको अपराध अनुसन्धान परिणाममुखी हुने तथ्यांकले देखाएको छ। सेवाग्राहीको काम गर्न अझै पनि कतिपय प्रहरीले अनुचित लाभ लिने गरे पनि मुलुकमा शान्तिसुरक्षा कायम गर्न नेपाल प्रहरीको विकल्प नभएको अध्ययनले देखाएको छ।

मानवअधिकार संरक्षण र संवद्र्धनमा भने प्रहरीको भूमिका सन्तोषजनक देखिएको छ। सर्वसाधारणको सुरक्षाका लागि प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको पाइएको छ।

अध्ययनले दैवी प्रकोप उद्धारमा समेत प्रहरीको भूमिका सामान्य देखिएको छ। जिम्मेवार र पारदर्शी तरिकाले कार्यसम्पादन नगरे जनतामाझ प्रहरीको विश्वास घट्दै जाने अध्ययनले देखाएको छ। सर्वेक्षणमा सहभागीमध्ये ६१ प्रतिशतले नेपाल प्रहरीको कामकारबाही विगतको तुलनामा सुधारोन्मुख भएको उत्तर दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment