Comments Add Comment

यसरी फुटाउँदैछन् खुमबहादुर खड्काले कांग्रेस

susil-khum
१५ कात्तिक, काठमाडौं ।  कांग्रेस नेता खुमबहादुर खड्काले अन्ततः नेपाली कांग्रेसमा विभाजन ल्याउने भएका छन् । शुक्रबार बालुवाटारको ‘नेपाल हाउस’ रेष्टुरेन्टमा भएको भेलाले नेपाली कांग्रेसलाई औपचारिक विभाजनको दिशातर्फ धकेलेको हो ।
खुमबहादुरको नेतृत्वको आगामी कात्तिक २० गते प्रज्ञा भवन कमलादीमा राष्ट्रिय भेलाको आयोजना गरिएको छ । यो भेलामा कांग्रेसका केही केन्द्रीय सदस्यहरु, सभासदहरु, पूर्वसभासद, पूर्वमन्त्री, महासमिति सदस्य, जिल्ला सभापति लगायतका कांग्रेस कार्यकर्ताहरुको सहभागिता रहने छ ।
सुशील कोइरालालाई जिस्काउनका लागि खुमबहादुरले कात्तिक २० को भेलामा उनलाई पनि निम्तो दिने भएका छन् । भेलामा सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई समेत बोलाउने खड्काको रणनीति छ । तर, यो भेला हिन्दु राष्ट्रको पुनस्थापनाका लागि आयोजना गरिएकाले धर्मनरपेक्ष संविधानको सपथ खाएका प्रधानमन्त्रीलाई त्यहाँ जान  नैतिक एवं कानूनी दृष्टिले अप्ठ्यारो छ ।

धर्मको नाममा कांग्रेस कब्जा गर्ने रणनीति
सर्वोच्च अदालतले भ्रष्टाचार प्रमाणित गरेका कांग्रेस नेता खड्का नेपाली कांग्रेस फुटाउने भन्ने आरोप स्वीकार गर्दैनन् । उनी सिंगै पार्टीलाई आफ्नो पक्षमा पार्ने रणनीतिमा लागेका छन् । यसबा लागि उनले धर्म निरपेक्षताको विरोधमा हिन्दुवादलाई आफ्नो अस्त्र बनाएका छन् ।
त्यसो त खुमबहादुरले यसैसाता एउटा पत्रिकालाई दिएको अन्तरवार्तामा आफू गणतन्त्रको पक्षधर नभएको स्पष्ट बताइसकेका छन् ।
यसले प्रष्ट के देखाउँछ भने खुमबहादुर खड्का नेपाली कांग्रेसलाई सनातन हिन्दु राष्ट्रको पक्षधर पार्टी बनाउन चाहन्छन् । संवैधानिक राजतन्त्रको पक्षधर बनाउन चाहन्छन् । उनले चाँडै पार्टीको महाधिवेशन हुनुपर्‍यो भनेर माग गर्नुको कारण पनि यही हो ।
कात्तिक २० गतेको राष्ट्रिय भेलाले कांग्रेसको आगामी महाधिवशेनको शक्ति सन्तुलनमा निर्णयक भूमिका खेल्ने सहजै अनुमान गर्न सकिन्छ ।
कांग्रेसका चर्चित नेता लक्ष्मण घिमिरेहरुसमेत खुमबहादुर खड्काको अभियानमा औपचारिक रुपमै सहभागी भइसकेका छन् ।
डा. सेखर कोइराला खुमबहादुरको अभियानमा त सहभागी छैनन्, तर हिन्दुराष्ट्रको पक्षमा छन् । कांग्रेसभित्र डा. शेखरजस्तो विचार राख्ने नेताहरु धेरै छन् ।
स्वयं महामन्त्री कृष्णप्रसाद सिटौला पनि बोलबममा प्रत्येक वर्ष भारत जाने गरेका छन् ।
हिन्दुराष्ट्रको पक्षमा पार्टी नीति विपरीत आयोजना गरिएको कात्तिक २० भेला नेपालीको कांग्रेसको आधिकारिक पार्टी नीतिको विरुद्धमा छ ।
‘प्रधानमन्त्री सुशील कोइरालाले खुमबहादुर खड्कालाई पार्टीबाट कारवाही गर्ने हिम्मत छैन, खुमबहादुर पक्षधर एक कांग्रेस नेताले ठट्टा गर्दै भने, ‘खुमबहादुर खड्कालाई कारवाही त के, खड्काको फोन आयो भनेपछि सुशील थरर काँप्छन् ।
कमल थापा र खुमबहादुरको अघोषित सहकार्य
राप्रपा नेपालको हालै बसेको बैठकले हिन्दु राष्ट्रको माग गर्ने खुमबहादुर खड्कासँग वार्ता र सम्वाद गर्ने औपचारिक निर्णय नै गरिसकेको छ । सार्क सम्मेलनलाई मध्यनजर गरी रत्नपार्कबाट हिन्दु अनसनकारी हटाइएको विरोधमा राप्रपा नेपालले सदन र सडक दुबैतिर आन्दोलन थालिसकेको स्थिति छ । यो अवस्थामा धर्म निरपेक्षताको विरोधमा कमल थापा र खुमबहादुर खड्काको अघोषित या घोषित सहकार्यमा आन्दोलन उठ्ने संकेत देखिएको छ ।
स्मरण रहोस् कमल थापा र खुमबहादुर दुबै संवैधानिक राजतन्त्रका पक्षधर हुन् ।
हालै दिल्लीमा कान जँचाएर आएका पशुपतिसमशेर राणाले पनि हिन्दु राष्ट्रको पक्षमा सार्वजनिकरुपमै ऐक्यवद्धता प्रकट गरिसकेका छन् ।
तर, हिन्दु राष्ट्रको पक्षमा खुमबहादुर खड्काले अभियान चलाउँदा सबैभन्दा बढी घाटा नेपाली कांग्रेसलाई पुग्ने देखिन्छ ।
कात्तिक २० मा आयोजना गरिएको कांग्रेसको राष्ट्रिय भेला सभापति शुसील कोइरालाले रोक्न सकेनन् भने कांग्रेसमा औपचारिक फुटको बिजारोपण त्यही दिनबाट सुरु हुने एक नेताले बताए ।

यो पनि पढ्नुहोस्
खुमबहादुरले बनाए हिन्दु राष्ट्र पुनर्स्थापना समिति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment