Comments Add Comment

क्रिकेट टीमको सफलतालाई कम नआँक्न पुबुदुको चेतावनी

pubudu dassanayake

२० कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दशानायकेले क्रिकेट टीमको सफलतालाई कम नआँक्न चेतावनी दिएका छन् । उनले खेलाडीको भविश्यबारे समेत सोच्न सम्वद्ध पक्षलाई आग्रह गरे ।

पछिल्लो समय नेपाली क्रिकेट टोलीले पाएको सफलतालाई लिएर क्यानबाटै टीकाटिप्पणी हुने गरेको भन्दै उनले असन्तुष्टिसमेत जनाएका छन् ।
‘टी-२० विश्वकपमा पाएको सफलता ठूलो होइन भन्ने पनि सुनियो’ श्रीलंका भ्रमणमा जान लागेको नेपाली टोलीको बिदाइ कार्यक्रममा पुबुदुले भने- ‘विश्वकपकै कारण नेपालले टी-२० स्टाटस पायो र अर्को विश्वकप छनोट खेल्दैछ, यो ठूलो उपलब्धी हो ।’

नेपालले हालै मात्र डिभिजन थ्री जितेको छ । तर, पहिले जितेको डिभिजन थ्री फेरि जितेको त हो नि भन्ने टिप्पणी सुनिएको भन्दै प्रशिक्षक पुबुदुले भने- ‘यो भनेको भारतले विश्वकप जितेको थियो, अब जित्दा पनि केही होइन भनेजस्तै कुरा हो ।’

नेपाली क्रिकेट टीमले पछिल्लोपटक केही नपाए पनि देशका लागि खेलेको उनले बताए । डिभिजन थ्रीको पहिलो खेल हारेपछि टीममा परेको दबाव खेलाडी र प्रशिक्षकलाई मात्र थाहा भएको भन्दै उनले भने-‘हरेक खेलमा पानी परेको थियो ।  मलेसियासँगको खेलमा चार घन्टा पानी पर्‍यो । त्यहाँ बस्ने ठाउँ समेत थिएन ।’

खेलाडीको श्रीमती वा गर्ल्डफ्रेण्ड होला …

नेपाली टीमका प्रशिक्षक पुबुदुले खेलाडीको व्यक्तिगत जीवनबारे समेत सोच्ने सम्वद्ध पक्षलाई आग्रह गरे । ‘कसैकी श्रीमती होला, कसैको गर्ल्डफ्रेण्ड होला । ३६५ दिनमा १७५/८० दिन घर बाहिर हुन्छन्’ उनले भने-‘तर, पनि उनीहरुले निशंकोच देशका लागि समय दिएका छन् ।’

यसबारे खेलाडीहरुले आफूलाई कुनै गुनासो नगरेको भन्दै उनले प्रसंशासमेत गरे । खेलाडीहरुको लागि राम्रो दिन पनि आउने भन्दै प्रशिक्षक पुबुदुले भने-‘मलाई विश्वास छ त्यो दिन पनि आउँछ ।’

नेपाली क्रिकेटका लागि अबको नौं महिना निकै महत्वपूर्ण भएको भन्दै उनले विगतलाई बिर्सिएर अघि बढ्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा खेदकुद मन्त्री पुरुषोत्तम पौडेलले खेलाडीहरुको सम्मानको कुनै कसर बाँकी नराख्ने बताए । आज बस्ने मन्त्रिपरिषद् बैठकमा खेलाडीहरुलाई दिने सम्मानबारे छलफल हुने उनले बताए ।

नेपाली टीम आज अपराहृन श्रीलंका भ्रमणमा जाँदैछ । जहाँ श्रीलंकन टीमसँग तीन तीनदिवसीय खेल खेल्नेछ । यस्तै हङकङसँग तीन टी-२० सिरिजका साथै एक एकदिवसीय म्याच खेल्नेछ ।

टी-२० स्टाटस पाएको नेपालले यो पहिलो टी-२० सिरिज खेल्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment