Comments Add Comment

आत्महत्याः श्रीषा कार्कीदेखि जिया खानसम्म !

sirsha jiya
दीपेश केसी
आलोक नेम्वाङ सेलिब्रेटी थिए र उनको आत्महत्या (हालसम्म प्रहरी अनुसन्धानबारे मिडियामा आएबमोजिम आत्महत्या भनिएको) चर्चाको विषय बन्यो । नेपालमा श्रीषा कार्कीपछि आत्महत्या गर्ने चर्चित सेलिब्रेटीमा आलोक रहे ।
आलोकको आत्महत्याले शहरी हाइफाइ ग्ल्यामरस समाजको जटिलतालाई पर्दाबाहिरसम्म ल्याइदिएको छ । ग्ल्यामरस जीवन बाहिर हेर्दा जति आकर्षक लाग्छ । उतिकै कठिन हुन्छ । त्यही कठिनताले व्यक्तिलाई तनावमा पार्छ ।
सेलिबि्रटीहरूबाट हुने लागूपदार्थ सेवनका पछाडि तनाव पनि एउटा प्रमुख कारण हो । थोरैले मात्र तनावलाई सहजताका साथ लिन सक्छन् । धेरैजसो असहृय भएर कुलतको शिकार हुन्छन् । केहीले अब बाँचिरहनु ठीक छैन भनी आत्महत्या गर्छन् ।
हलिउडका नायक नायिका कुलतमा फसेर सुधार केन्द्र गएको समाचार आइरहन्छ । जसमध्ये अभिनेत्रीहरूको संख्या बढी छ । हाम्रो जस्तो देशमा चाहिँ कुलतमा परेकाहरू सुधार केन्द्रमा जान परै जाओस्, बरू थाहा पाउने हुन् कि जसरी बसेर झन् कुलतमा भासिन्छन् । विचलनको चरम अवस्थामा पुगेपछि मात्र छताछुल्ल हुने गरी थाहा हुन्छ ।
सेलिबि्रटीहरूमध्ये भारतकी अभिनेत्री जिया खानको आत्महत्या चर्चामा आयो । बेलायतमा हुर्के बढेकी जिया सुन्दर सपना बोकेर बलिउडमा हाम्फालेकी थिइन् । उनको आत्महत्यालाई प्रेममा बिछोडिनुसँग जोडियो । तर, ग्ल्यामरस जीवनको तनाव, विचलन र निराशा जियाको आत्महत्याले छताछुल्ल पार्‍यो ।
कामुक हाउभाउले संसारलाई लोभ्याउन सकेकी मर्लिन मुनरोको आत्महत्या अझै चर्चाको विषय हो । ओस्कार विजेता रोबिन विलियम्सले पनि यसै वर्ष झुण्डिएर आत्महत्या गरे ।
हिन्दी फिल्मको दुनियाँका होनाहार अभिनेता तथा निर्देशक गुरूदत्तको आत्महत्या अर्को दुःखद घटना हो ।
ठूला नेतादेखि तिनका सन्तानसमेत आत्महत्या गर्नेमा पर्छन् । विशेषगरी विचलन वा त्रासको शिकार जोकोही हुन सक्छ । त्यसमा पनि व्यक्तिको मनोविज्ञान, उसको पेशा, सामाजिक वा राजनीतिक अवस्थाले फरक पार्छ ।
गरीबीमात्रै होइन आत्महत्याको कारण
आत्महत्यालाई गरिबीसँग मात्र जोड्नु गलत ठहरिइसक्यो । शोध र अनुसन्धानहरूले गरिबले भन्दा धनीले बढी आत्महत्या गर्ने तथ्य प्रकाशमा ल्याइसक्यो ।
आत्महत्याबारे अनुसन्धान गरेका समाजशास्त्री इमाइल दुर्खिमले गरिबलेभन्दा बढी धनीले, गाउँमा भन्दा बढी शहरमा, चिसो ठाउँमा भन्दा गर्मी ठाउँमा बस्नेले र  विवाहितले भन्दा बढी अविवाहितले आत्महत्या गर्ने तथ्य उल्लेख गरेका छन् ।
चीन र भारतमा भएको अनुसन्धानले पनि गरिबीलाई आत्महत्याको प्रमुख कारण होइन भनी सिद्ध गरेको छ । धनीको भन्दा गरिबको जनसंख्या बढी हुने भएकाले मात्र गरिबको संख्या बढी देखिन गएको हो । तुलनात्मकरूपमा प्रतिशतको अनुपातमा धनीहरूले नै बढी आत्महत्या गर्छन् ।
सेना प्रहरीमा आत्महत्या बढी
आत्महत्या गर्नेमा सर्वसाधारणभन्दा सेना र प्रहरी बढी हुन्छन् । नेपाल प्रहरीका उच्च अधिकृतहरूले आत्महत्या गरेको घटनासमेत सार्वजनिक भयो । राम्रो भविष्य बोकेका डीएसपी कञ्चन थापाको आत्महत्यालाई लिन सकिन्छ ।
प्रहरीमा तल्लो तहकाले गरेको आत्महत्या समाचार बनिरहन्छ । सैनिक अधिकृतको आत्महत्या चाहिँ सायदै बाहिर आउँछ । यस्तो घटना सार्वजनिक गर्दा अरू सैनिकको मनोबल गिर्न सक्ने मध्यनजर गरी गुपचुप राखिन्छ ।
तर,समाजशास्त्री दुर्खिम आत्महत्यालाई सामाजिक यथार्थ -सोसल फ्याक्ट) भन्दै एउटा आत्महत्याले अरू आत्महत्या गर्न खोज्नेलाई रोक्न सक्ने तर्क राख्छन् ।
आत्महत्या गर्नेलाई देखेर वा सुनेरै पाइला रोक्न सक्छन् । आत्महत्याका कारण आत्महत्या गर्न खोज्नेको मनोबल गिराउन सक्ने तर्क आफैमा विवादास्पद पनि छ ।
आत्महत्या के हो ?
सामान्य अर्थमा आत्महत्या आफैले आफ्नो हत्या गर्नु हो । यो व्यक्तिपिच्छे फरक अवस्था, अभिप्रेरणा र शैलीमा हुन्छ । आत्महत्याको कारण पनि एउटै हुँदैन । सामान्यतयाः आत्महत्यालाई पीडा वा तनाब थेग्न नसकेर गरिने अपराध बुझिन्छ ।
तर, पीडा नहुँदा पनि व्यक्तिले मुक्तिका लागि देह त्याग्न आत्महत्याको बाटो रोज्न पुग्छ । धार्मिक अन्धविश्वासले आत्महत्या गर्ने देखि दुश्मनलाई क्षति पुर्‍याउन आत्महत्या गर्नेहरू पनि छन् । पंक्तिकारले तनावका कारण हुने आत्महत्याबारे प्रकाश पार्ने प्रयास गरेको छ ।
देशको राजनीतिक, आर्थिक र सामाजिक अवस्थाले समेत आत्महत्याको संख्यालाई निश्चित आकार दिन भूमिका खेल्छ । आत्महत्याको कारकतत्वमध्ये विचलन प्रमुख हो । यसका पछाडि शारीरिक, भावनात्मक, चिन्तन र अनुभव, व्यवहारमा परिवर्तन भएको रोनाल्ड होल्म्स र स्टेफेन होल्म्सले आफ्नो पुस्तक सुसाइडः थेओरी, प्रेक्टिस एण्ड इन्भेष्टिगेसनमार्फत् गरेका छन् । शारीरिक समस्यामा दुखाई, भोक तीर्खामा गडबडी, सुत्ने समस्या आदि पर्छ । भावनात्मकमा दुःखीपन, आनन्दको कमी, विभेद अनुभूति, आदि पर्छ । सोच र अनुभवमा असहयोग र निराशाको सोच, अर्थहीन ठान्नु, स्मरणशक्तिमा समस्या, बारम्बार मृत्यु र आत्महत्याको सोच पलाइरहनुपर्छ ।
व्यवहारमा आउने परिवर्तनमा लागूऔषध वा रक्सीको प्रयोगमा वृद्धि, आफैंप्रतिको बेवास्ता, विगतका चाहनाहरूप्रतिको बेवास्ता, साथीभाइसँग टाढिनु, उग्र स्वभावमा वृद्धि हुनु आदि पर्छन् ।
विगतमा आत्महत्याको प्रयास गरिसकेको व्यक्तिले पुनः गर्न सक्ने सम्भावना रहन्छ । आर्थिक क्षति वा विगतमा गर्दै आएको भोगविलास गर्न नपाउँदासमेत व्यक्ति विचलित भई आत्महत्याको बाटो रोज्न सक्छ । जीवन सधै एउटै ढर्रामा नचल्न सक्छ । प्रगति हुनु सुखद दिन आउनु भन्ने होइन । प्रगति वा विकास सामान्यबाट जटिलतातर्फको यात्रा हो । जति प्रगति हुन्छ उति नै समस्या थपिन्छ । जे आशा गरिएको हो, त्यस्तो जीवन नपाएपछि व्यक्ति आफैलाई धिक्कार्न थाल्छ । विगतको सुखी जीवनतर्फ फर्केर हेर्छ । भविष्यको भयावह आँकलन गर्छ । त्यस्तो अवस्थाबाट गुजि्रनुपर्ने भयले सताउँछ । फलस्वरूप आत्महत्यालाई मुक्तिको मार्ग रोज्न पुग्छ ।
आत्महत्याबाट टाढिने उपाय
आत्महत्याबाट टाढिन जीवनको यथार्थलाई मनन गर्न सक्नुपर्छ । सामाजिक यथार्थलाई आत्मसाथ गर्न सक्नुपर्छ । सही वा गलत छुट्याएर कदम चाल्नुपर्छ । शरीरलाई आराम र आनन्द पनि दिनसक्नुपर्छ । शरीरप्रति न्याय नगरी काममा मात्र लादिँदा वा काम ठगेर अल्छी बन्दा मन बहकिन्छ । व्यक्तिको खानपान र निन्द्रा प्रभावित भई विचलन बढ्छ ।
नकारात्मक सोचले ग्रस्तहरूबाट भरसक टाढै रहनु उत्तम हुन्छ । सबैभन्दा महत्वपूर्ण सामाजिक गतिविधिमा सक्रिय हुनुपर्छ । समाज जति संगठित हुन्छ, उति नै आत्महत्याको सम्भावना घट्छ ।
एकले अर्कालाई सहयोग गर्ने र अर्काको दुःखमा साथ दिने हो भने हामी हौं भन्ने भावना जाग्छ ।
तिव्र र अव्यवस्थित शहरीकरणबाट सजग र सतर्क हुनुपर्छ । शहरीकरणका नाममा आफ्नो संस्कृति र संगठित समाज विघटन हुनबाट जोगाउन सके आत्महत्या घट्न सक्छ । विशेष गरी गाउँले परिवेश एवं बन्द समाजमा आत्महत्या कम हुनुमा हामी हौं भन्ने भावना प्रभावशाली हुनु मुख्य कारण हो ।
साथीभाइसँग बेला बेलामा घुलमिल गरिरहे बाँच्ने इच्छा बढिरहन्छ । यसले रोग लाग्दा पनि आत्मबल बढेर रोगसँग लड्ने क्षमता बढ्छ ।
शारीरिक व्यायामले तनाव कम गर्छ । थकान महसुस भई निन्द्रा र भोक तीर्खा सन्तुलित बनाउँछ । शारीरिक र मानसिक स्वस्थताले विचलनबाट टाढा राख्छ ।
सकारात्मक सोच र गतिविधिले व्यक्तिमा आत्महत्याको सोच पलाउन पाउँदैन । सोच आइहाले पनि परिवार, आफन्त र समाज सम्झेर अन्यत्र मोडिइहाल्छ ।
अन्तमा, आत्महत्या अपराध हो । तर, अपराध सामाजिक यथार्थ पनि हो । जसरी अपराधको कारणमध्ये व्यक्तिको मनोविज्ञान र समाज एक हो, त्यसरी नै आत्महत्याको कारण व्यक्तिको मनोविज्ञान पनि हो । मनोविज्ञान बन्नुमा समाजको भूमिका महत्वपूर्ण हुन्छ । समाजको सदस्यलाई कस्तो बनाउने र कसरी योग्य बनाउनेबारे योजनावद्ध तयारी आवश्यक पर्छ । भविष्यमा आउने व्यक्तिगत वा सामाजिक चुनौतीको सामना गर्न पनि ठोस योजना अनिवार्य हुन्छ ।
परिवर्तनको व्यवस्थापन गतिलोसँग नगर्दा बेथिती बढ्छ । बेथितीले समाजलाई रोगी बनाउँछ । नयाँ पीढीलाई सबैभन्दा बढी असर पार्छ ।
आत्महत्याको सोच युवा उमेरमा बढी आउँछ । त्यसमा पनि किशोरावस्थाकाले बढी आत्महत्या गर्छन् । युवालाई आत्महत्याबाट जोगाउन सामाजिक संघसंस्थाको उचित व्यवस्थापन, विचलन ल्याउन सक्ने कारकतत्वको निक्र्यौल गरी बेलैमा सुधार गर्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment