Comments Add Comment

प्रचण्ड जातिवाद र क्षेत्रीयतावादको दलदलमा

mohan-bikram-singh1 नेपालको कम्युनिष्ट आन्दोलनका अग्रज मोहनविक्रम सिंह चित्रबहादुर केसीको पार्टीका शीर्षनेता हुन् । नेकपा (मसाल)का महामन्त्री रहेका उनी प्रचण्ड र बाबुराम भट्टराईका समेत राजनीतिक गुरु मानिन्छन् ।

पछिल्लो राजनीतिक ध्रुवीकरण र माओवादी आन्दोलनको भविश्यबारे अनलाइनखबरसँग कुरा गर्ने क्रममा सिंहले माओवादी पार्टी बुर्जुवा पार्टीको स्थानबाट समेत पतनको दिशामा गएको बताए । माओवादीले एमालेको ठाउँसमेत लिन नसकेको उनको विश्लेषण छ ।

माओवादीको जातीयतावादी र क्षेत्रीयतावादी सोचाइ भन्दा एमाले अध्यक्ष केपी ओलीले लिएको अडान सही भएको सिंहको बुझाइ छ । संघीयता र जातीय राज्यले जनजातिको मुक्ति नहुने भन्दै सिंहले मधेसवादी नेताहरुले मधेसमा सामन्तवादको वकालत गरिरहेको बताएका छन् । काठमाडौंमा सार्क शिखर सम्मेलन हुनै लागेका बेला सिंहको पार्टीले ‘जन सार्क सम्मेलन’ आयोजना गर्न लागेको छ । यसै सन्दर्भमा भारतीय प्रधानमन्त्री मोदीलाई नेता सिंहले ‘विस्तारवादी’को संज्ञा दिएका छन् ।

यहाँले ०५२ सालतिरै माओवादी आन्दोलन उग्रवामपन्थी भड्काव हो र यो अन्ततः दक्षिणपन्थी भड्कावमा जाकिन्छ भन्नुभएको थियो । अहिले माओवादी कमजोर देखिन थालेको छ । यसमा तपाईलाई खुशी लागेको होला हैन ?

खुशी लाग्दैन । कम्युनिष्ट आन्दोलन कमजोर भएको, पतन भएकोमा खुशी लाग्दैन, झन् दुःख लाग्छ ।

माओवादी पार्टी दक्षिणपन्थी दिशामा त गयो नै, त्योभन्दा बढी उनीहरु एउटा दलदलमा फस्न गएका छन् । जातिवादको, क्षेत्रीयतावादको दलदलमा फसेका छन् । यसले गर्दा कम्युनिष्ट आन्दोलनलाई अत्यन्तै नोक्सान पुगेको छ, जसले गर्दा हामीलाई अत्यन्तै दुःख लागेको छ ।

अब नयाँ पुस्ताका नेपालीहरु कम्युनिष्ट बन्नै मन नगर्ने अवस्थामा पुगेकोजस्तो देखिन्छ, माओवादीकै कारण यस्तो भएको हो कि ?

उनीहरुले कम्युनिष्ट आन्दोलनलाई कमजोर पारे, त्यो सत्य हो । तर, कम्युनिष्ट आन्दोलनको आधार समाप्त भएको छैन । त्यसैले कम्युनिष्ट आन्दोलन समाप्त हुँदैन । सारा समस्यालाई हल गर्दै यो फेरि क्रान्तिकारी दिशामा अगाडि जान्छ भन्ने हामीलाई विश्वास छ ।

तर, पुरानो पुस्ता त कम्युनिष्ट भयो, नयाँ पुस्ता हुँदैन भन्छन् त मान्छेहरु ?

कतिपयमा त्यस्तो सोचाइ हुन सक्छ । तर, ०१७ सालपछि बहुदलीय व्यवस्था आउन सक्दैन भन्ने आम मान्छेको सोचाइ थियो, त्यो त सत्य सावित भएन । अहिले नेपालमा जुन समस्या देखापरेको छ, यो विश्वव्यापीरुपमा कम्युनिष्ट आन्दोलनमा देखापरेको समस्या हो । अहिले निराशा पैदा भएको छ, तर कम्युनिष्ट आन्दोलनका वस्तुगत आधारहरु छन् । पुँजीवादमा आर्थिक संकटहरु परिराखेका छन् । यसले गर्दा कम्युनिष्ट आन्दोलन झनै क्रान्तिकारी दिशामा जान्छ भन्ने नै हामीलाई लाग्छ । मान्छेको विचारले फैसला गर्दैन, मुख्यतः भौतिक पक्षले नै फैसला गर्ने हो ।

यहाँका सबै कम्युनिष्ट खत्तम भए पनि वर्गसंघर्षको आवश्यकता अनुसार कम्युनिष्ट आन्दोलन फेरि अगाडि आउँछ ।

तपाई नेताका साथै राजनीतिक विश्लेषक पनि हुनुहुन्छ, तपाईको विचारमा अब माओवादीको भविश्य कता जान्छ ?

उनीहरु कम्युनिष्ट पार्टीबाट पतनमात्रै भएनन्, योभन्दा बढी उनीहरुको अस्थित्व बुर्जवा पार्टीका रुपमा पनि रहने सम्भावना कम हुँदै गएको छ । उनीहरु जातिवादको नारा बोकेर हिँडिराखेका छन्, यसले गर्दाखेरि उनीहरु बुर्जुवा पार्टीका रुपबाट पनि उनीहरुको अस्थित्व समाप्त हुने अवस्था देखिइराखेको छ ।

यो पार्टीभित्र सही माक्र्सवादी सिद्धान्तअनुसार वर्गसंघर्षलाई आत्मसाथ गरेर गए भने उनीहरुको भविश्य राम्रो हुन सक्छ । कैयौं देशमा यस्तो भएको पनि छ । यो भएन भने उनीहरुसँग पतन हुनुको कुनै विकल्प छैन ।

भनेपछि एमाओवादी पार्टी सच्चिन सक्ने सम्भावना पनि छ ?

अहिले तत्कालचाँहि हामीले उनीहरुभित्र यस्तो सच्चिने सम्भावनाहरु देखिराखेका छैनौं ।

वैद्य र प्रचण्ड मिले भने केही हुन्थ्यो कि ?

वैद्यसँग माक्र्सवादी लेनिनवादी धार छ । तर, कार्यदिशाको प्रश्नमा उनीहरु बडा अलमलमा छन् । उनीहरु पनि प्रचण्डभन्दा झन बढी जातिवादको दलदलमा फसेका छन् । यो सही माक्र्सवादी लेनिनवादी चिन्तन होइन । त्यसैले उनीहरु मिले भने पनि सही विचार र कार्यदिशाका आधारमा मिल्दामात्रै शक्ति आर्जन हुन्छ । तर, त्यस्तो सम्भावना हामीले देखिराखेका छैनौं ।

तपाईको भाषामा भन्दा माओवादीले ‘सहिदको खेती’ गरेर एमालेको ठाउँ लिन खोजेको थियो । तर, उसले एमालेलाई ‘रिप्लेस’ गर्न किन सकेन ?

सहिदको खेतीलाई हामीले सही रुपमा बुझ्नुपर्छ । सहिदको खेती भनेर हामीले देशमा भएका सहिदहरुको अपमान गरेको होइन । ठूलो संख्यामा क्रान्तिकारीहरुले क्रान्तिकारी उद्देश्यका लागि आफूलाई बलिदानी गरेका छन् । त्यसैले हामी उनीहरुलाई सहिद नै मान्छौं । तर, नेतृत्व वर्गले के गर्‍यो भने ठूलो क्रान्तिकारी पङ्तीलाई सहिद बनाएर तिनीहरुको नामबाट व्यक्तिगत फाइदा उठाउने र करिअर बनाउने प्रयत्न गरे । यसलाई चाँहि हामीले ‘सहिदको खेती’ भनेका हौं ।

तर, माओवादीहरु एमालेको ठाउँमा जान सकेनन् । एमाले दक्षिणपन्थी भए पनि लोकतन्त्रको राजनीतिमा केहीरुपमा भए पनि टिकेको छ । तर, माओवादी त त्यहाँ पनि टिकेन । उनीहरुले एमालेको ठाउँ पनि लिन सक्ने स्थिति देखा परेन ।

यो देशमा कांग्रेस र एमालेको विकल्पमा बुर्जुवा नै भए पनि कुनै तेस्रो पार्टी बनाउन सकिने आधार छ ?

बुर्जुवा पार्टीलाई हामीले सही अर्थमा बुझ्नुपर्छ । बुर्जुवा पार्टी भनेको त्यो हो, जसले देशमा साम्राज्यवादको विरोध गर्छ, सामन्तवादको विरोध गर्छ । तर, नेपालमा त्यस्तो पार्टीको सम्भावना देखा परेको छैन । त्यसकारण अहिले कुनै पार्टी पनि बुर्जवा पार्टीका रुपमा देखा परिराखेका छैनन् । त्यस्तो पार्टी आए त त्यो राम्रो हुन्थ्यो । त्यसले कमसेकम लोकतन्त्रलाई र राष्ट्रियतालाई मद्दत पुग्थ्यो ।

अब कांग्रेस र एमालेको भविश्य कस्तो देख्नुहुन्छ ? तेस्रो विकल्प कमजोर भएकाले अब सत्ता यिनै दुई पार्टीको वीचमा घमिरहन्छ कि ?

सही पार्टीको विकल्प अगाडि आउन सकेन भने त विकल्प तयार नहुँदासम्म यसैगरी घुमिरहन सक्छ ।

विगतमा राप्रपा पनि तेस्रो विकल्प बन्ने प्रयासमा थियो, तर सकेन । अहिले वामपन्थी कमजोर भएका बेला हिन्दुवादका नाममा दक्षिणपन्थी राजनीति हावी हुने सम्भावना कत्तिको छ ?

हिन्दुवादीहरुको अहिले गतिविधि बढेर गएको छ । हिन्दुस्थानमा भारतीय जनता पार्टी सरकारमा आएको छ, यसले पनि उनीहरुलाई बल पुग्छ । यद्यपि भारत पनि एउटा हिन्दु राज्य होइन, धर्म निरपेक्ष राज्य हो । त्यसले उसले यहाँ हिन्दु राज्यका लागि मद्दत गर्छ भन्ने हामीलाई लाग्दैन । स्वयं मोदी सरकार पनि त्यहाँको संविधानले गर्दाखेरि धर्म निरपेक्षताको विरोधमा आउन सक्दैन ।

नेपालमा जसरी हिन्दु राष्ट्रका नामा अगाडि बढ्ने केहीले प्रयत्न गरेका छन् । यो चाँहि गलत दृष्टिकोण हो । किनभने नेपाल कैयौं जाति, धर्म र संस्कृति मिलेर बनेको देश हो । त्यसैले एउटा धर्मलाई राष्ट्रिय धर्म बनाइयो भने त्यसले देशलाई जातीय विग्रहको स्थितिमा लैजान्छ । यसले देशलाई नोक्सान पुर्‍याउँछ ।

तर, उनीहरुले जसरी हिन्दु राज्यको कुरा गरिरहेका छन्, त्यो हिन्दुवादी आन्दोलन नभएर मूलरुपमा राजावादी आन्दोलन हो । हिन्दू धर्मको आडमा उनीहरु राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न गरिराखेका छन् । यस्तो कार्यको हामीले व्यापक विरोध र भण्डाफोर गर्नुपर्छ ।

नेपालको समसामयिक राजनीतिको कुरा गर्दा यतिबेला राजनीतिक गत्यावरोध सुरु भएको छ । केपी ओलीको अडानका कारण सहमति भएन भन्ने प्रचण्डको गुनासो छ, तपाई के भन्नुहुन्छ ?

प्रचण्डले जुनप्रकारको जातीय राज्यहरु बनाउने अडान बोकेर हिँडेका छन्, त्यसको समर्थन नहुँदा उनले देश प्रतिगमनतिर गयो भन्ने गरेका छन् । तर, मूलरुपमा प्रचण्डको यो अडान नै गलत छ । यसका विरुद्ध अर्कोपक्षले जुन अडान लिन्छ, त्यसलाई हामी सकारात्मक मान्छौं । जसले जातीय राज्यको कुरा गर्दैन, अथवा मधेसलाई बेग्लै राज्य बनाउने कुरालाई स्वीकार गर्दैन भने त्यसलाई हामी सकारात्मक मान्छौं ।

त्यसोभए प्रचण्डले भन्दा केपी ओलीले लिएको अडान ठीक छ ?

जुन हदसम्म जातिवाद र क्षेत्रीयतावादको विरुद्धमा अडान लिन्छन्, त्यो हदसम्म हामी उनलाई मान्छौं । तर, जस्तै उनीहरुले समानुपातिक निर्वाचन प्रणालीलाई निशेध गर्ने प्रस्ताव ल्याए, त्यसलाई हामी मान्दैनौं ।

राज्यको पुनसंरचनामा पनि हाम्रो जोड के हो भने हिमाल पहाड र तराईको भूभागलाई मिलाउनुपर्छ भन्ने हो । उनीहरुले मधेसमा बेग्लै राज्य बनाउने प्रस्ताव ल्याएका छन्, त्यसलाई हामी मान्दैनौं । संघीयताबारेमा पनि हाम्रो उनीहरुसँग विवाद छँदैछ । त्यसैले हामीले उनीहरुका सबै विचारलाई समर्थन गर्छौं भन्ने होइन । यसका बाबजुद पनि जातीयतावाद र क्षेत्रीयतावादको विरोधमा उनीहरुले लिने अडानलाई हामी सही मान्छौं ।

त्यसैगरी हिन्दु राष्ट्र बनाउनुहुँदैन भन्ने प्रचण्डको अडानलाई हामी समर्थन गर्छौं । त्यसैगरी समानुपातिक प्रणालीमा प्रचण्डले जुन अडान लिइराखेका छन्, त्यसलाई हामी समर्थन गर्छौं । पार्टीहरुले जुन विषयमा सकारात्मक दृष्टिकोण लिन्छन्, त्यसलाई हामी समर्थन गर्छौं ।

जातीय राज्यको विरोध गर्नुहुन्छ, तपाईहरुको पार्टी जनजाति विरोधी हो ?

हामी जनजाति विरोधी होइन । हामीले त सुरुदेखि नै जनजातिको मुक्तिका कुराहरु उठाएका छौं । हाम्रो भनाइ के छ भने जनजातिको मुक्ति संघीयताबाट हुँदैन । जातीय राज्यहरुद्वारा जनजातिको मुक्ति हुँदैन । सामन्तवादबाट मुक्त पारेपछिमात्रै जनजातिको मुक्ति हुन्छ ।

अहिले संघीयता र जातीय राज्यको कुराहरु आइराखेका छन्, यसले सामन्ती व्यवस्थालाई कमजोर पार्दैन, झन बलियो बनाउँछ । जनतालाई जातीय आधारमा विभाजित गरिदिन्छ र उनीहरुको वर्गीय एकता कमजोर हुन्छ । सामन्तवादका विरुद्ध संघर्ष कमजोर हुन्छ । अहिले जनजाति, क्षेत्री, बाहुन इत्यादिका नाममा जनतालाई विभाजित पार्ने काम भइराखेको छ । यसले जनजातिको हित गर्दैन ।

मधेसको हकमा नि ?

मधेसमा जसले संघीयताको कुरा उठाइराखेका छन्, उनीहरु नै त्यहाँका कट्टर सामन्तवादका प्रतिनिधि हुन् । उनीहरु भूमिसुधारको विरोध गर्छन् । जमिन्दारी प्रथा खत्तम पार्नु हुँदैन, हदभन्दा माथिको जमीन राज्यले लिनु हुँदैन भन्छन् । हामीले मधेसको जमिन्दारीप्रथा र सामन्ती व्यवस्था खत्तम हुनुपर्छ भनेर आवाज उठाइराखेका छौं । हामीले पहाडी र मधेसी भनेर भेद गरेका छैनौं । चाहे पहाडी होस् या मधेसी, जो जमिन्दार छ, त्यसका विरुद्ध हामीले संघर्ष गर्नुपर्छ । यसप्रकारको संघर्षद्वारा नै शोषित पीडित जनताको मुक्ति हुन सक्छ । तर, त्यहाँको सामन्त वर्गले मधेसका नाममा, मधेस स्वायत्त प्रदेशका नाममा या मधेसमा बेग्लै राज्यका नाममा सामन्ती व्यवस्था कायम गर्ने प्रयत्न गरिराखेको छ ।

अलिकति प्रशंग बदलौं, सार्क सम्मेलन आउँदैछ, यसलाई कसरी व्याख्या गर्नुहुन्छ ?

सार्क सम्मेलनका बेलामा हामीले काठमाडौंमा ‘जन सार्क सम्मेलन गर्दैछौं । पर्यावरणको समस्या अहिले विश्वव्यापी समस्या भएको छ । हिमाल पग्लिँदैछ । नेपालमा वनजंगल र नदीहरुको विनास भइराखेको छ । इण्डियामा पनि कुमाऊ, गढवालमा पर्यावरणको समस्या गम्भीर बन्दै गइराखेको छ । त्यसैले सार्क सम्मेलनका बेला जन सार्क अभियान चलाएर पयौवरणको विषयमा सार्क राष्ट्रहरुको ध्यानाकर्षण गर्ने हामीले तयारी गरिराखेका छौं ।

सरकारको गलत नीतिका कारण पर्यावरणमा समस्या पैदा भइराखेको छ । यसमा विशेष ध्यानाकर्षण गर्नका लागि हामीले मंसिर ८ , ९ र १० गते तीन दिन काठमाडौंमा कार्यक्रम गर्दैछौं । यसमा नेपाल भारत र बंगलादेश लगायतका देशहरुबाट प्रतिनिधित्व हुनेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क सम्मेलनमा भाग लिन नेपाल आउँदैछन् । नेपालमा मोदीको प्रशंसा बढ्न थालेको छ । तपाई नरेन्द्र मोदीबारे के भन्नुहुन्छ ?

प्रशंसा त हुन्छ । मोदीको भयो, जवाहरलाल नेहरुको भयो । राजीव गान्धीको प्रशंसा भयो । जुनबेला व्यक्ति सत्तामा पुग्छ, उसको प्रशंसा गर्ने आम चलनै हो । कतिपयका व्यक्तिगत कार्यशैलीहरु फरक होलान्, तर, जहाँसम्म मोदीको कुरा छ, उनको नीति पनि भारतीय विस्तारवाद नै हो । त्यो भन्दा बाहिर गएर उनले कुनै भूमिका खेल्ने छैनन् ।

जस्तो नेपालसँग विद्युत व्यापार सम्झौता पीटीए भयो । माथिल्लो कर्णालीको पीडिए गर्न लगाए । त्यसैले नेपालको सम्बन्धमा भारतको जुन विस्तारवादी नीति छ, मोदीको पनि त्यही नीति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment