Comments Add Comment

क्रिकेटर राजेश भन्छन्-राष्ट्रिय टीममा चान्स पाएको छु, अब डान्स गर्छु

२५ कात्तिक, काठमाडौं । भारत गुडगाउँको गल्लीमा प्लास्टिकको बल खेलेर क्रिकेट सिकेका राजेश पुलामी मगर हिजोआज राष्ट्रिय टोलीमा स्थान बनाउन संघर्षरत छन् ।

Rajesh-Pulamiभारतमा इन्टर स्टेट कलेज लेभलसम्म क्रिकेट खेलेका राजेश आफ्नै देश नेपालमा क्रिकेट करियर सुरु गर्न पाँच वर्षअघि नेपाल आए । आखिर उनको मेहनत खेर गएन । राजेश राष्ट्रिय टोलीसँगै श्रीलंका भ्रमणमा छन् र यो आफ्नो करियरको टर्निङ प्वाइन्ट हुनेमा निकै आशावादी छन् ।

श्रीलंका जानुअघि अनलाइनखबरसँग कुरा गर्दै राजेशले भने-‘नेशनल टीममा पर्न धेरै मेहनत गरेको छु । गरेर देखाउने यही चान्स हो । चान्स पाएको बेलामा डान्स गर्नुपर्छ ।’

यसरी सुरु भयो क्रिकेट यात्रा

राजेशको जन्म सर्लाहीको बरथहवामा भएको हो । बाबु भारतमा जागिरे भएकाले चार वर्षको उमेरमा आमासँगै भारत गुडगाउँ पुगे ।

‘गल्लीमा ठाउँ त सानै हुन्थ्यो तर, पनि बाउण्ड्री हुन्थ्यो । त्यस्तैमा खेलिन्थ्यो’ वाल्यकाल सम्झँदै राजेश भन्छन्-‘दिनभर क्रिकेट खेलेर साँझ मात्र घर फर्किन्थेँ ।’

राजेश र युजेन्द्र चहेल वाल्यकालमा प्लास्टिकको बल खेल्थे । उनीहरुले स्टेट लेभलसम्म एउटै उमेर समूहबाट खेले । राजेशसँगै गल्लीमा क्रिकेट सिकेका लेग स्पीनर युजेन्द्रले गत सिजन रोयल च्यालेन्जर्स बेङ्गलोरबाट आइपीएल खेलिरहेका छन्, जसलाई साथीहरु सन्नी भनेर बोलाउँथे ।

कक्षा ८/९ सम्म सफ्ट बल खेलेका राजेशले क्लब ज्वाइन गरे । ‘कक्षा ९ मा पढ्दा डिस्टिक लेभेलको टुर्नामेन्टमा म्यान अफ सिरिज भएको थिएँ’ उनले भने-‘यो त्यसबेला ठूलो उपलब्धी थियो ।’

नेपालमा क्रिकेट करियर  

राजेशले ओभरसियरको पढाइ पूरा गरेका छन् । साथीहरु जागिरमा लागे । तर, उनी भने क्रिकेट करियर सुरु गर्न नेपाल आए ।

पाँच वर्षअघि उनी नेपाल आउँदा यू-१९ को राष्ट्रिय छनोट चलिरहेको थियो । उनले ललितपुरबाट खेले र प्रशिक्षकको आँखामा पर्न सफल भए ।

‘म क्रिकेटका लागि नेपाल आएको हुँ,’ उनले भने- ‘नेपालमा क्रिकेट निकै राम्रो भइरहेको छ भन्ने सुनेपछि केही गर्न सकिएला कि भन्ने आश थियो ।’

राजेशले पृथु बास्कोटाको ब्याचबाट एलिट कप खेले । मिडिल अडर्रको ब्याट्सम्यान भएकाले उनले धेरै मौका पाएनन् ।

अफगानसँग २३ रन बनाए । उनी भन्छन्-‘प्रदीप र मेरो साझेदारी राम्रो थियो तर, दुर्भाग्यवस म आउट भएँ । त्यसपछि टीम कोल्याप्स भयो । म आउट नभएको भए प्रदीपले राम्रो खेलेको थियो ।’

त्यसपछि उनी छनोट चरण खेल्न आयरल्याण्ड टूरमा गए । पपुवा न्यूगिनीसँग ९५ रन बनाए । त्यसपछि राष्ट्रिय टीममा पर्न प्रयास गरिरहेका छन् । ‘नराम्रो प्लेयर पर्दा पो दुःख लाग्छ । तर, सिनियर दाइहरु डिजर्भिङ हुनुहुन्छ । उहाँहरु पर्दा म खुसी नै छु,’ उनी भन्छन् ।

भाग्यको भरोसा

नेपालको राष्ट्रिय टीममा पर्न मेहनतसँगै भाग्य पनि चाहिने उनको बुझाइ छ । राष्ट्रिय लिग संरचना नभएका कारण एउटा खेलाडीले टीममा पर्न राष्ट्रिय खेल नै कुर्नुपर्छ । त्यसमा पनि ३/४ वटा मात्र खेल हुन्छ, सबैमा खेल्न पाइन्छ भन्ने छैन ।

उनी भन्छन्-‘त्यही भएर भाग्य पनि चाहिन्छ । राम्रो व्याट्सम्यान भए पनि कुनै पनि बेला आउट हुन्छ । चार म्याचमा राम्रो रन बनेन भन्दैमा उ नराम्रो होइन । तर, हाम्रोमा अन्य खेल नै हुँदैनन् ।’

उनी हाल आर्मीबाट व्यवसायिक क्रिकेट खेल्छन् । नेपाली टीमका उपकप्तान ज्ञानेन्द्र मल्लको एकेडेमीमा अभ्यास गरिरहेका छन् । वर्षभरि अभ्यास गर्दा पनि खेल देखाउने ठाउँ नपाएकै कारण धेरैले क्रिकेट छाड्नु परेको उनले देखिरहेका छन् ।

विश्वकप सपना

पछिल्लोपटक श्रीलंका भ्रमणका लागि नेपाली टोलीमा परेपछि उनलाई धेरैले ‘ल है, यही हो आफ्नो क्षमता देखाउने ठाउँ’ भनेका छन् ।

भारतमा रहेका भाइले बाबुआमालाई उनी टोलीमा परेको सुनाइसके । लगत्तै राजेशसँग कुरा भयो । ‘रामो गरेर देखाउनु भन्नुभएको छ,’ उनले सुनाए । बाबुले नेपाललाई धेरै माया गर्ने भएकाले आफूलाई क्रिकेट खेल्न नेपाल आउन दिएको जस्तो लाग्छ उनलाई ।

हरेक खेलाडीको सपना भनेको विश्वकप खेल्ने र जित्ने हो । र, राजेशको पनि । ‘मेरो मात्र होइन, नेपाली टीमकै अहिले लक्ष्य भनेको डिभिजन टु, वान गर्दै ओडीआई स्टाटस पाउने हो,’ उनले भने-‘यसले विश्वकप खेल्ने बाटो खुल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment