Comments Add Comment

हन्टिङटनको पुस्तक र नेपालका पहिचानवादी नेता

sitaram Bhattarai
लेखक

सीताराम भट्टराई
संविधान लेखनलाई अलपत्रै छाडेर अहिले प्रमुख प्रतिपक्ष दल एमाओवादी र मधेसवादी दलका नेताहरु विभिन्न ठाउँमा विशेष सभा गर्दै हिँडिरहेका छन् । यस्ता सभालाई सम्बोधनका क्रममा नेताले अत्यधिक प्रयोग गर्ने शब्द हो, पहिचान । नेपालका जातीय तथा क्षेत्रीय समूहहरुले गायत्री मन्त्र नै बनाएको यो शब्दलाई उनीहरुले स्यामुअल हन्टिङटनको ‘क्लास अफ सिभिलाइजेसन’ नामक पुस्तकबाट टिपेका हुन् ।

यही शीर्षकको एउटा लेख, जसलाई पछि स्यामुअलले पुस्तकको रुप दिएका हुन् । यही किताबबाट प्रभावित नेताहरुले पहिचानलाई जातीयताको प्रयायवाचीका रुपमा प्रयोग गर्दै त्यसको सही अर्थलाई बङ्ग्याइरहेका छन् ।

जातीय संगठनहरुले बाइबल नै मानेको त्यो पुस्तकबारे नेपालका जातिवादी नेताहरुले गर्ने गरेको व्याख्या नै गलत छ । यसको सान्दर्भिकतालाई नेपाली राजनीतिमा समायोजन गर्न मिल्ने वस्तुगत परिस्थिति र सैद्धान्तिक स्पष्टता छ कि छैन भन्नेबारे बहस भएको छैन ।

स्यामुअलको उक्त पुस्तक नै स्वयं कति कमजोर तथ्यमा आधारित छ र त्यसले गरेको प्रक्षेपण सत्य सावित हुन नसक्दा कसरी दुई दशक पुरानो त्यो कृति खोटो प्रमाणित हँुदैछ भन्नेजस्ता विषयहरुको छुट्टाछुट्टै व्याख्या र विश्लेषण विना विदेशीहरुको सुगा रटाइको भ्रममा नेपालका पहिचानवादीहरु नेताहरु परिरहेका छन् । नेपालका कम्युनिष्टहरु पनि सो पुस्तकबारे मौन छन् ।

जातीय र क्षेत्रीय संगठनहरुलाई टनिक वा हनुमान चालिसा बनिरहेको यो पुस्तक कति कपट र वदनियतपूर्ण उद्देश्यले अमेरिकी योजनामा लेखिएको थियो भन्नेबारेसमेत अवगत गराउनु आवश्यक छ ।

क्ल्यास अफ सिभिलाइजेसनको पृष्ठभूमि

शीतयुद्धको समाप्तिपछि विश्वमा एक प्रकारको शान्ति र त्रासदीमुक्त वातावरण सिर्जना भयो । आणविक हतियारको असीमित भण्डारले मैमक्त भएकाहरुले कुनबेला विवेक गुमाउने हुन् र सारा पृथ्वीलाई निमेषभरमा नै खरानीमा रुपान्तरण गर्ने हुन् भन्ने त्राहीमामको स्थितिबाट विश्वका शान्तिकामी मानिसले छुटकारा पाएको युद्धपिपासु र हतियारका व्यापारीहरुलाई  निको लागि रहेको थिएन ।

त्यही भएर उनीहरुले विश्वमा युद्धको अन्त्य कहिल्यै नहुने, बरु समाजवादी साम्राज्यवाद र पूँजीवादी साम्राज्यवादवीच लामो समयसम्म चलेको शीतयुद्धको अन्त्यपछि अनगिन्ती युद्धहरु सभ्यताका आधारमा हुनेछ भन्ने भविश्यवाणी हन्टिङटन मार्फत गराए ।

उनको एउटा जर्नलमा प्रकाशित लेखको यति चर्चा गरियो कि केहीपछि त्यसले पुस्तकको रुवरुप पायो र त्यसलाई अठारौं शताब्दीमा बाइबल पढाएझैं विश्वभर पढाइयो । जातीय भाषिक, धार्मिक सबै समुदायका मानिसहरुलाई व्यक्ति र स्थान विशेषमा सोही अनुरुप  व्याख्या गर्न मिल्ने गरी अत्यन्त सुझबुझपूर्ण ढंगले कुशलतापूर्वक लेखिएको यो पुस्तकको भूगोल अनुसारको व्याख्या गर्न स्थानीय पादरीहरु समेत उत्पादन गरियो ।

पश्चिमाहरुले यो पुस्तकलाई पूर्वबारे अत्यन्त सटिक र तथ्यपरक विश्लेषण गरिएको कृति भनेर परिचय गराएता पनि वास्तवमा हन्टिङटनले त्यसमा पश्चिमकै बढी कुरा गरेका छन् । विगतमा जस्तो पश्चिमी साम्राज्यको एकाधिकार वर्तमान विश्वमा छैन । उसका लोकतन्त्र, स्वतन्त्रता, मानवअधिकार जस्ता कथित र छलयुक्त मान्यताहरुलाई इस्लामिक विश्व र एशियाले सहज स्वीकार गर्न मानिरहेको छैन । यही कुरालाई मनन गरेर हन्टिङटनले पश्चिमसँग इस्लाम र एशियालाई तुलना गर्दै अब पश्चिमको एशिया र इस्लामिक विश्वसँग युद्ध अवश्यंभावी छ भनेर अमेरिका र उसका यूरोपेली मतियारहरुलाई युद्धको शंखघोष गर्ने ढोका मात्र खोलिदिएका हुन् ।

त्यसो गर्न उनले जुटाएका तथ्यांकहरु कति अमिल्दा छन् भने उनको तथ्यांक विश्लेषणको शैली हेर्दा तथ्यांकशास्त्र नै लाजले कुरीकुरी हुन्छ । फेरि उनले तथ्यांकहरुको विश्लेषण गर्दा के समेत लेखेका छन् भने शीतयुद्धसम्म विश्वमा केवल विचारधारात्मक आधारमा युद्धहरु भए र सभ्यताका आधारमा चाँही अति नगन्य मात्र भएका छन् ।

उनको तर्क के थियो भने अबचाँही जातीयता, संस्कृति, पहिचान र सभ्यताका आधारमा नै धेरै युद्धहरु हुनेछन् र सम्पूर्ण भूगोल यस्ता स-साना तर अनगिन्ती युद्धहरुले अशान्त रहनेछ ।

अहिलेसम्म आइपुग्दा उनको आंकलन सही त सावित हुन सकेन नै, तथ्यांक हेर्ने हो भने शीतयुद्ध समाप्त हुनुअघि जति युद्धहरु जातीयता, पहिचान र सभ्यताका आधारमा भए, त्यसको तुलनामा त्यसपछि कममात्रै त्यस्ता युद्धहरु भएका छन् ।

कतिपयले सेक्टेम्वर ११ को घटनाले उनको विचारलाई पुष्टि गरेको भन्दै त्यसलाई प्रमाणका रुपमा पेश गर्ने गरेका छन् । तर, त्यो संयोगलाई नै सँधै प्रमाण बनाएर दलील पेश गर्नेहरुले के बुझ्न आवश्यक छ भने बिग्रिएको घडीले पनि प्रत्येक दिन दुईपटक सही समय दिन्छ ।

समग्रमा भन्नुपर्दा स्यामुअलले जसरी पहिचान र सभ्यतालाई अति सरलीकृत ढंगले ब्याख्या गरेर आफूलाई भविश्यवेत्ता बनाउने प्रयास गरेका छन्, त्यसलाई कुनै तथ्यले साथ नदिएको सत्यप्रति कोही पनि बेखबर रहनु राम्रो होइन ।

हन्टिङटनका तर्क आफैमा कति कमजोर छन् भने उनले सभ्यताहरुलाई पश्चिमी, कन्फुसियन, जापानिज, इस्लामिक, हिन्दु, साल्भिक, अर्थोडक्स, ल्याटिन अमेरिकन जस्ता संज्ञा दिएका छन् । तर, खुलेर अफ्रिकन सभ्यताको चाँही किटान गरेका छैनन् । सरसर्ती हेर्दा नै देखिन्छ, यी नामहरु राजनीतिक र भौगोलिक विभाजनका आधारमा उनले नामाकरण गरेका छन् । उनले केसमेत स्पष्ट पार्ने प्रयास गरेका छैनन् भने किन केही सभ्यताको नाम धर्मको र केहीको भौगोलिक वा भनौं महादेशीय विभाजनका आधारमा राखियो ? यसको उत्तर उनीसँग छैन । उनले अफ्रिकन सभ्यता भनेर किटान गर्न किन डराउनुपर्‍यो ? हुन सक्छ, त्यसो गर्दा कतै उनको अभिष्टमा आघात नै पो पुग्थ्यो कि ? त्यत्रो ठूलो र अलग्गै  सभ्यता बोकेको अफ्रिकालाई स्पष्टसँग नदेख्ने उनको दृष्टिले चीन, भारत, पाकिस्तान र  रसियाको आर्थिक, सैन्य र राजनीतिक शक्तिलाई सायद पहिचान नै गर्न सकेन । त्यसैले उनले त्यसलाई कम आँकेका हुन् ।

स्यामुअलको पुस्तकलाई गुरु थाप्नेहरुले समेत त्यो त्रुटीप्रति ध्यानै दिएका छैनन् । यो पक्षबाट हेर्दासमेत उनको विचार पूर्णतः त्रुटीपूर्ण र अल्प छ । त्यसमा स्पष्टताभन्दा धुमीलपन बढी बाक्लो छ । त्यसैले दाबीका साथ भन्न सकिन्छ, अन्तराष्ट्रिय सम्बन्ध र राजनीतिको विश्लेषण तथा विवेचनामा समेत स्यामुअल असफल छन् । कमजोर छन् ।

स्वयं पश्चिमाहरुकै बुझाइ पनि के हो भने हन्टिङटनले पश्चिमी र गैरपश्चिमी सभ्यताहरुको भविष्यबारे एउटा प्रक्षेपण गरेका हुन् र उनको त्यो राजनीतिक अध्ययनले गैरपश्चिमी सभ्यताहरुबारे वृहत रुपमा प्रस्टयाउनुका साथै आफ्नो प्रभाव कायम राख्न पश्चिमलाई रणनैतिक परामर्श प्रदान गरेको छ ।

हन्टिङटनले खासै अरु केही  गरेकै होइनन्, दुष्टलाई सँधै शत्रु चाहिन्छ र उ मानव चित्कारमा रमाउँछ । शान्ति र अमनचैनमा दुष्टहरु निसास्सिन्छन् । त्यसैले पश्चिमी सभ्यताको नेतृत्वकर्ता अमेरिका र उसका पिछलग्गुका लागि उनले शत्रु किटान गरिदिएका मात्र हुन् ।

यहाँ के समेत तर्क गर्न सकिन्छ भने रसियन समाजवादी साम्राज्यवादले घुँडा टेकेपछि त्यसैको आर्थिक सिद्धान्तसँग केही अंशमा मेल खाने इस्लामिक अर्थव्यवस्था नाङ्गो पुँजीवादको आँखामा कसिङ्गर बन्नसक्ने सम्भावना थियो । त्यसलाई धरासायी पार्नुपर्ने आवश्यकता महसुस गरी पुँजीवादी केन्द्रले हन्टिङटनको कलमलाई प्रायोजन गर्‍यो र उनबाट निर्देशित पुस्तकको सिर्जना भयो ।

अमेरिकाले यसरी खेल्ने गर्छ भन्ने धेरै प्रमाणहरु छन् । हन्टिङटनले नै पेश गरेको इरानी प्रसङ्गलाई केलाउने हो भने सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि इरान बलियो हुने भएपछि रोनाल्ड रेगनले इस्लामिक कट्टरपन्थीहरुलाई सबै प्रकारका सहयोग उपलब्ध गराएर उदारवादको बाटोबाट इरानलाई पछाडि फर्काएको घटनालाई स्मरण गरे पुग्छ ।

नेपालमा प्रभाव

हन्टिङ्गटनको त्यही पुस्तकको प्रभावले अहिले नेपालजस्ता तेस्रो विश्वका मुलुकहरुका मानिसहरुले आफूलाई धर्म र जातीयताका आधारमा परिभाषित गर्न थालेका छन् ।

पश्चिम आफैले यस्ता विचारहरुलाई प्रचार-प्रसार गरिरहेको छ, ताकि जसले गर्दा उनीहरुको जालसाजी नबुझ्ने समुदायहरुमा लोकतन्त्र, मानव अधिकार, स्वतन्त्रता, कानुनी राज्य, धर्म र राज्यवीचको पृथकताजस्ता कथित मान्यताहरुलाई बेवास्ता गर्ने प्रवृृत्तिको विकाश होस् । यसो भएमा त्यसैलाई निहुँ बनाएर मानवीयताको रक्षा गर्ने नाममा त्यस्ता क्षेत्रहरुमा आक्रमण गर्ने, त्यहाँ जातीय एवं धार्मिक द्वेष फैलाएर हतियार बिक्री गर्ने र अन्ततः आफ्नो आर्थिक स्वार्थ सिद्ध गर्न सजिलो पार्ने उनीहरुको योजना बुझ्न कुनै गाह्रो छैन ।

स्यामुअलले शीतयुद्धपछिको विश्वमा आर्थिक, वैचारिक विषयहरु युद्धको कारण नबन्ने घोषणा गर्दै संस्कृति र उत्पत्तिको आधारमा द्वन्द्वहरु चर्कने दाबी गरे पनि उनको लेखनको भित्री उद्देश्यचाहिँ आर्थिक लाभ र वैचारिक दमनको शुत्र प्रतिपादन गर्नु नै थियो ।

त्यसैले उनले रसिया र जापानसँग सहकार्य र सम्बन्ध विकास गर्ने इस्लामिक र कन्फयूसियस संस्कृति भएका मुलकहरुलाई आपसमा भिडाउने र पूर्वी तथा दक्षिण-पश्चिम एशियामा सैन्य आधिपत्य कायम राख्ने रणनीति अवलम्वन गर्न सिफारिस गरेका छन् ।

स्मरण रहोस्, कन्फयूसियन सभ्यता रहेका चीन, उत्तरकोरिया र भियतनाममा कम्युनिष्टहरु प्रभावशाली छन् भने इस्लामिक आधिपत्य रहेको मध्यपूर्व र दक्षिण-पश्चिम एशिया खनिज तेलका कारण आर्थिक महत्वका क्षेत्र हुन् ।

यस अर्थमा अमेरिकी लेखकले अब पहिचान र सभ्यताको लडाइँ हुन्छ भने पनि युद्धको आधारचाहिँ आर्थिक र वैचारिक लाभ र हानीमै केन्द्रित रहने कुरालाई नकारेका छैनन् ।

यस्ता विरोधाभाषपूर्ण लेखलाई मूल मन्त्र मान्ने हाम्रा जनजाति र समुदाय विशेषका नेताहरुले अलि बढी नै बुझेको कुराचाहिँ धार्मिक र जाति, भाषाका आधारमा राज्यहरुवीच गृहयुद्धसमेत हुन्छ भनेर हन्टिङटनले भनेका छन् भन्ने नै हो । वास्तवमा उनले त्यस्तो तर्क गरेकै छैनन् ।

तर्कहीन तर्क र अर्थविहीन तथ्यहरुको गोलमटोल प्रस्तुतिलाई हाजिरामा नारा लगाउनेहरुले अपाठ्य सामाग्री भनिदिए बल्ल नेपाली समाजको सदभाव बिग्रने खतरा टर्थ्यो कि ?

(लेखक भट्टराईले अन्तरराष्ट्रिय सम्बन्धमा पाकिस्तानबाट स्नातकोत्तर गरेका छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment