Comments Add Comment

युवतीका मामिलामा असफल रहेँ : राजेशपायल राई

खोटाङबाट काठमाण्डौं छिरेका राजेश पायल राईले नेपाली गीतसँगीत उद्योगमा २४ बर्ष बिताइसके । आज उनी नेपाली संगीत क्षेत्रका पर्याय बनेका छन् । चलचित्र, आधुनिक, पप, लोक तथा विभिन्न भाषाका गीत गाइसकेका राईको स्वर आज नेपाली गीतसंगीतका श्रोताका लागि पहिलो रोजाई हो ।

यसपटक गायक राजेश पायल राईले आफ्नो करिअर, अफेयर, गीतसंगीत र बिबादका बिषयमा अनलाइनखबरसँग खुलेर कुरा गरे । राजेशको अनुभूति उनकै शब्दमा-

rajesh Payal rai

राम्री र धनी केटी खोजेको होइन

बिहे गर्नका लागि केटी नै नहुने भन्ने त हुँदैन । तर, मैले मन खाएकी केटी मात्र नभेटेको हुँ । मैले नपाएको हो कि मलाई नपत्याएका हुन् कहिले यसै छक्क पर्छु । मैले राम्री र धनी केटी पनि खोजेको होइन, मेरो कर्मलाई बुझ्ने भए पुग्छ । बिहे नै गर्दिन भन्दिन । अबको १ वा २ बर्ष भित्रमा बिहे गर्छु । मेरा आमाबुबाका लागि बिहे गरौं वा आफ्ना लागि, त्यसमा चाहिँ दोधार छु ।

मेरो जीवनमा युवती आउँदै आएनन् भन्ने पनि होइन । सायद आएर पनि मन बुझेनन् होला, यसैले म युवतीको मामलामा केही मात्रामा असफल नै छु । फेरि, आजको दिनमा कुनै युवतीले प्रस्ताव राख्दा अस्विकार गरिन् भने मज्जा पनि त आउँदैन ।

काठमाण्डौका केटीले बाइक खोज्छन्

म मध्यम परिवारको मानिस । खोटाङमै रहँदा कसैसँग प्रेम गर्ने आँट भएन । काठमाण्डौ आएपछि यहाँका केटीले पत्याएनन् । माया पनि निक्कै हेपाहा छ । काठमाण्डौका केटी माया भन्दा पनि केटाको बाइक र पैसा खोज्छन् । यसैले, मैले पनि संघर्षको समयमा कसैलाई ‘आर्इ लभ यू’ भन्न सकिन । तर, पनि प्रेमविनाको राजेशपायल अधुरो छैन ।

बजारमा अन्य धेरै कलाकारका प्रेमका चर्चा चलिरहँदा मेरो किन भएन त ? त्यसैले यो बिषयलाई सबैले पत्याउनै पर्छ । म युवतीको मामलामा अपूर्ण नै रहे ।

विपनासँग बिहे गर्ने मन थियो

म हरेक नायिकासँग नजिक छु । कार्यक्रमको सिलसिलामा नायिकाहरु नजिक पनि भएका छन् । तर, सबैलाई मैले साथी मात्र सोच्छु । कुनै बेला थियो, जतिबेला नायिका विपना थापा खुबै मन पर्थ्यो । विपनासँग बिहे गरौं भन्ने लाग्थ्यो । सायद १७-१८ बर्षको उमेरमा जवानीको जोश पनि हुन सक्छ । तर, आज सबै नायिका साथी जस्तै लाग्छन् ।

विदेशी कार्यक्रमले राम्रो आम्दानी

नेपाली गीतसंगीतलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउन विदेशमा हुने कार्यक्रमले खुबै फाइदा पुगेको छ । यसले हामी जस्ता केही कलाकारको जीविकोपार्जनमा पनि ठूलो फरक आएको छ । पहिले पहिले गीत गाउनेलाई मानिसहरु गाइने भन्थे । तर, आज कलाकारको बारेमा सबैको दृष्टिकोण राम्रो बन्दा खुशी लाग्छ । मैले गाएरै काठमाण्डौमा घर बनाएको छु ।  हुन त सम्पतीले कहिले पनि पुग्दैन, तर सन्तुष्ट नै छु । कलाकारको आर्थिक स्थिति राम्रो बन्दा राज्यलाई पनि फाइदै पुग्छ ।

हामीले असन्तोष मान्नुपर्ने थुप्रै बिषय छन् । हामीले हाम्रो गीतको रोयल्टी पाएका छैनौ । व्यक्तिगत रुपमा त केहीले दिनुहुन्छ, तर संस्थागत रुपमा पाउनु पर्ने रकम नपाउँदा कलाकारहरु अगाडि बढ्न सकेका छैनन् ।

धर्मलाई गाली गर्न मिल्दैन

म आज सेन्टिमेन्टल गीत गाउँदिन, रोमान्टिक गाउँछु भन्न पाइन्छ । तर, सबैभन्दा पहिला म कलाकार हुँ । कलाकार भैसकेपछि धर्म, जात भन्दा पनि धेरै माथि हुन्छन् । यसैले कुनै पनि धर्मलाई गाली गर्न पाइदैन । यो गीत गाउँदिन भन्न पाइन्छ तर, धर्मका कारण गाउँदिन भन्दै गाली गर्न मिल्दैन ।

मेरा गीतहरु बजारमा एक सय एक आएका छन् । हिजो मेरा गीत जति हिट थिए आज पनि छन् । अहिले सिनेमादेखि फिल्ममा पनि मेरै गीत हिट छन् । मलाई ९ महिनासम्म कुरेर फिल्म बनाउनेहरुले गीत गाउन लगाएका पनि छन् । गरिब चलचित्रदेखि आजसम्म आउँदा मैले श्रोतालाई सधै हिट गीत नै दिएको छु ।

विकल्प मैले खोज्ने होइन

यो क्षेत्र निक्कै सम्बृद्ध भएको छ । तर, अरुले दिने चिज भन्दा मैले दिने चिज नै हिट छ । सायद त्यसैले मेरो विकल्प नभएको पनि हुनसक्छ । म बिहान भात खाए भने बेलुकी ढिडो खोज्छु । संगीत त परिवर्तन हुँदैन तर दर्शक तथा श्रोताको टेष्ट फरक हुन्छ । यसैले आफ्नो पहिचान यस्तो हो, यस्तै मात्र गाउँछु भन्नु पनि गलत छ ।

हो, यहाँ राजेशपायल बन्छु भन्नेहरु धेरै छन् । तर, राजेशपायल कसरी बन्यो भनेर सोच्ने कम छन् । पपुलर कसरी भइन्छ भनेर मात्र सोचेर हुँदैन, मिहिनेत गर्ने तरिका पनि थाहा हुन जरुरी छ । सगरमाथा चढ्छु भन्ने तर, जाने तरिका नै थाहा नभएर कहाँ हुन्छ त ।

म २४ बर्षदेखि यही नगरीमा छु । तर, मैले गम्भिर भएर संगीत क्षेत्रमा लाग्न खोज्ने निक्कै कम देखेँ । दर्शकको चाहना अनुसार गीत गाउन सक्नुपर्छ ।

अन्त्यमा, तेरियासँगको विवाद

मलेसियामा तेरिया मगरसँगको विवादको समाचारले अचम्मित बनायो । मेरै कारणले तेरियालाई सम्मानका लागि लगिएको थियो । आदिवासी जनजाती महासंघ, मलेसियाले तेरियालाई सम्मान गर्ने कुरा गरेपछि मैले नै केही रकम पनि दिनुहोला भनेको थिएँ । हामी राती ४ घन्टा लगाएर पेनाङबाट क्वालालम्पुर आएका थियौं । त्यहाँ, तेरियालाई मात्र होइन सबैलाई खादा ओढाएर सम्मान गरियो । मैले केही समयअघि नै खाना खाएकाले त्यहाँ खाइन । त्यसैलाई मेरो विरोधमा उचालेर चर्चा गरियो । मैले खाना खान्न भन्न सक्छु नि हैन र ? फेरि म अमेरिकाबाट सिधै मलेसिया गएको मानिसलाई राजेशपायलले तेरियाको पासपोर्ट पनि लियो भनेर हल्ला गरियो ।

मलाई थाहा छ, नेपाली गीतसंगीतलाई अगाडि लैजान मेरो ठूलो भूमिका छ । यसैले, अरुको बारेमा बदनाम हुने कुरा गर्नुभन्दा अगाडि धेरै पटक सोच्न जरुरी पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment