Comments Add Comment

केकी भन्छिन- जीवनमा रोमान्टिक हुन सकिएन

२६ कात्तिक, काठमाडौं । नायिका केकी अधिकारी ठूलो पर्दामा प्रवेश गरेको ४ बर्ष भयो । म्यूजिक भिडियोमा जमेकी केकीले ‘स्वर’बाट ठूलो पर्दा डेब्यू गरेकी हुन् । छोटो समयमा नै आशालाग्दी नायिकाको रुपमा पहिचान बनाएकी केकी नेपाली कालाकारलाई स्टार बन्न परिस्थीतिले नदिएको बताउँछिन् ।
यसपटक अनलाइनखबरसँगको केकीले आफ्नो जीवन, संर्घष, प्रेम र नेपाली फिल्म उद्योगका बिषयमा खुलेर कुरा गरिन-
४ बर्षको अन्तरलामा मैले सधै उत्कृष्ट काम देखाउँ भनेर कोसिस गरेँ । तर, यहाँ काम गरौं भन्ने वातावरण नै बन्न सकेको छैन । यहाँ ईमान्दार मानिसको कमी छ जस्तो लाग्यो। आफूले इमान्दारिताका साथ काम गर्दा पनि सोँचे अनुसारको वातावरण बन्न नसक्दा काम गर्न गाह्रो भइरहेको छ ।
यो क्षेत्रमा हामी नायिकाहरु विच नै अस्वस्थ प्रतिस्पर्धा छ । नकारात्मक कुराले हामी सबैलाई नै असर गर्छ । मानिसहरु एउटाले गल्ती गर्दा अरुलाई पनि त्यही नजरले नै हेर्छन् । जसका कारण राम्रो गरौं भनेर आएकाहरुलाई पनि दाग लाग्छ । दर्शकको दिमागमा नकारात्मक कुरा चाडो प्रवेश गर्ने भएकाले पनि यस बिषयमा मिडियाले अलिक संबेदनशीलता अपनाए हुने थियो ।keki-adhikari
हामी संघर्षरत कलाकार
हामी यो देशका संघर्षरत कलाकार हौं । विदेशी सिनेमाको ठाउँमा हाम्रो पनि हेरिदिनुहोस् भनेर अनुरोध गर्नुपर्ने अबस्था छ । यो बिडम्बना हो । हामीले हाम्रो सेलिब्रेटीहुड गुमाएका छैनौं । तर, हामीलाई स्टार बन्न देशको परिस्थिती र राजनीतिले सधै रोकिराखेको छ । अहिले स्टार भनेको रेखा थापा मात्रै हो । उहाँलाई पनि स्टार बन्न १५ बर्ष समय त लाग्यो नि । हामी अहिले संघर्ष गरेर बाचिरहेका छौं ।
मलाई जहिले पनि चुनौतीले डर दिन्छ । दर्शकले मबाट आशा गरेअनुसार दिन सक्दिन कि भन्ने डर लागिरहन्छ । म राम्रो कलाकार बन्न सकुँ भन्ने भावनाले नै काम गरिरहेकी छु, तर आशा र अपेक्षाले सधै मलाई कमजोर बनाउँछ ।
निर्माताको अनुहारमा मुस्कान नै सफलता
सिनेमा सफल हुनका लागि बक्स अफिसमा कलेक्सन हुनुपर्छ । हजारौंले हेरेको चलचित्र नराम्रो हुँदैन । तर, कहिलेकाँही हामीले राम्रो गर्न खोज्दा खोज्दै पनि चलचित्र असफल हुन्छन् । तर, म व्यापार पनि चाहन्छु । किनकी, निर्माताको मुहारमा मुस्कान नै हाम्रो सफलताको आधार हो । असफलता आफैमा दिक्कलाग्दो शब्द हो । मिडियामा केकी असफल नायिका भन्दा साह्रै रुन मन लाग्छ । म पहिलेदेखि नै नकारात्मक कुरा सुन्न नसक्ने केटी हुँ । तर, असफलता स्विकार गर्न सक्नु नै सफलता हो भन्ने सिक्दै छु ।
हो, हाम्रो वाध्यता छ कि, एउटै मात्र सिनेमा गरेर एक बर्ष बिताउन सकिदैन । हामीलाई पनि आर्थिक अवस्थाले जेल्छ । तर, मैले निर्मातालाई धोका दिएकी छैन । अफर आउनासाथ जस्तोसुकै फिल्मलाई ओके भन्दिन् । फिल्म खेल्ने समयमा भिडियालाई पनि समय दिन्न । एउटा फिल्म हलमा नलाग्दासम्म मेरो काम सकिदैन भन्ने वुझेकी छु ।
रोमान्टिक दृश्यमा खुल्न सक्दिन
keki-adhikari-onlinekhabarम रोमान्टिक चलचित्रमा भित्रैबाट खुल्न सक्दिन । सायद, सानै उमेरबाट चलचित्रमा लागेर मैले रोमान्टिक पलहरु गुमाएकी छु । मसँग रोमान्टिक क्षणका लागि समय निकाल्ने फुर्सद नै भएन । जीवनमा कहिलेकाहीँ यस्ता कुराको अभाव महशुश गर्छु म ।
म व्यक्तिगत र व्यवसायिक कामलाई अलग राख्न चाहन्छु । मेरो फ्यानहरु मेरो कामकै कुरा बढि जान्न चाहनुहुन्छ । प्रेममा नै नपर्ने मानिस कोही पनि छ जस्तो मलाई लाग्दैन । त्यसैले प्रेमको कुरा सार्वजनिक गर्न चाहान्न ।
मेरो बुबा-आमाले जे सोच बोकेर मलाई हुर्काउनुभयो, यसलाई मैले बचाउनुपर्छ । मेरो परिवारलाई नकारात्मक असर पर्ने कुरा जीवनमा नआओस् भन्ने चाहना मेरो सधै हुन्छ । म नरम मुटु भएकी केटी हुँ ।
आँसु लुकाउन फिल्म हेर्छु
सानो-सानो कुराले पनि मलाई ईमोशनल बनाउँछ । मैले सोचेका कुरा भन्दा विपरित हुने वित्तिकै मलाई रुन मन लाग्छ । कामको बिषयमा कसैले नकारात्मक कुरा गर्दा पनि मेरा आँखाबाट आशु र्झछ तर, आँसु आमा-बुबालाई देखाउन चाहन्न । यसैले, कुनै कुरामा रुनु पर्‍यो भने रुवाउने खालका फिल्म हेर्छु । यसो गर्दा आमाले चलचित्र हेर्दा छोरी रोइ भन्ने ठान्नुहुन्छ । तर, म वास्तविक जीवन सम्झेरै रोइरहेकी हुन्छु ।
जानी-जानी कसैले देखाउँदैन
महिलाहरुका लागि पहिरनमा विविधता छ । यसैले पनि उनीहरु पहिरन परिवर्तन गरिरहन्छन् । जसले गर्दा पनि उनीहरु यस्तो समस्यामा पर्छन । भित्री बस्त्र जानी-जानी कसैले देखाउँछ जस्तो लाग्दैन । फेरि, खिच्ने मानिसको ध्येय के हो भन्ने पनि मुख्य हो । सस्तो प्रचार सायद कसैले चाहन्छ भन्ने मलाई लाग्दैन । तर, कसैले यस्तो कुरामा पनि प्रचार खोज्छन् भने मेरो केही भन्नु छैन । पहिरन लगाएर कुन मुभमेन्टमा तस्बिर खिचियो भन्ने कुरा पनि मुख्य हो ।

ब्रान्ड भ्यालु बनाउन सकेनौ
हामीले हाम्रो ब्रान्ड भ्यालु नै बनाउन सकेनौ । हामीलाई गरिने हरेक ठाउँका सम्झौता एकदमै कमजोर हुन्छन् । हामीले समाजमा प्रभाव पार्न नै सकेका छैनौं । जबसम्म देश नै विकासको गतीमा जाँदैन, तबसम्म हामी कलाकारले पनि यस्तो समस्या झेल्नु पर्छ । हाम्रो बजारमा विश्वव्यापी हुन सकेको छैन । जसका कारण, सिमित क्षेत्रमा खुम्चिएका हामी कलाकारबाट देशले, अनि जनताले पनि ठूलो अपेक्षा गर्न सक्दैन ।

प्रस्तुतीः विजय आवाज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment