Comments Add Comment

बर्षमा ३० लाख मानिसको मृत्यु मधुमेहबाट

fat sugar
२८ कात्तिक, काठमाडौं । कुनै बेला धनी र बुढाबुढीलाई लाग्ने रोगका रुपमा चिनिने मधुमेह आजकल तिब्ररुपमा युवापुस्तामा सरिरहेको छ ।
चिकित्सकहरुका अनुसार मानिसको बढ्दो व्यस्तता र जीवनशैलीमा आएको परिवर्तनका कारण नेपालका सहरबजारमा मधुमेहका बिरामीको संख्या ह्वात्तै बढेको छ ।
मोटोपना, शरीरिक निस्कृयता, असुन्तलित खानपिन, मानसिक तनाव लगायतका कारण अहिले मानिसहरुमा मधुमेहको समस्या धमाधम देखिन थालेको बरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. अंशुमाली जोशी बताउँछन् ।
उनका अनुसार अस्पतालमा अहिले बुढाबुढी मात्र नभई युवाअवस्थामा नै मधुमेहका समस्या लिएर आउने बिरामीको संख्या बृद्धि भैरहेको छ ।
‘अस्वस्थ जीवनशैली र बिलासीपनका कारण मधुमेह रोगको बृद्धिदर हरेक दिन बढीरहेको छ,’ उनले भने, ‘समयमा नै यस विषयमा नसोच्ने हो भने यसले भोली नेपालमा बिकराल रुप ल्याउने छ ।’ उनका अनुसार नेपालमा हाल कुल जनसंख्याको १० प्रतिशतमा मधुमेहको समस्या रहेको अनुमान गरिएको छ ।
मधुमेह तथा हर्मोन रोग विषेशज्ञ डा. ज्योति भट्टराईका अनुसार विकसित राष्ट्रहरुको नक्कल र खानपिनमा आएको परिवर्तनका कारण नै पाको मानिसको रोगका रुपमा परिचित मधुमेह विस्तारै युवा वर्गहरुमा सर्दै गएको हो ।
‘यो निकै ठुलो चिन्ताको विषय हो,’ उनले भनिन्, ‘हाम्राजस्ता विकासोन्मुख देशहरुमा यो रोग महामारीका रुपमा फैलदै छ । अहिलेनै यो रोगका बारेमा सचेत नहुने हो भने भोलिका दिनमा हरेक घरमा यो रोगका विरामी फेला पर्ने छन् ।’
परिवर्तित जीवनशैली, नियमित व्यायामको अभावका कारण पनि डाइबिटिजको समस्या बढ्दो छ । पाटन अस्पतालले हरेक मंगलबार सञ्चालन गर्दै आएको डाइबिटिज क्लिनिकमा ५० भन्दा बढी बिरामी आउनु डाइबिटिजका रोगी बढ्दै गएको संकेत हो भन्छन् अस्पतालका चिकित्सक डा. बुद्धि पौडेल । वयस्कलाई मात्र होइन, बालबालिकामा पनि डाइबिटिजको समस्या बढेको पाटन अस्पतालले जनाएको छ ।
नेपालमा अहिले २५ लाख भन्दा बढी मानिसहरुमा मधुमेह भएको अनुमान गरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार मधुमेहजन्य रोगका कारण मृत्यु हुनेमा ८० प्रतिशत भन्दा बढि विकासोन्मुख मूलुकका मानिसहरु पर्छन ।jogging
प्रत्येक बर्ष विश्वमा करिब ७० लाख नयाँ मधुमेहका रोगीहरु थपिंदै गइरहेका छन् भने ३० लाख मानिस प्रतिबर्ष मधुमेह सम्बद्ध रोगका कारण मर्ने गरेको सो संस्थाले जनाएको छ ।
अन्तराष्ट्रिय मधुमेह संघका अनुसार विश्वमा हाल करिव ३८ करोड २० लाख मानिसहरु मधुमेहका रोगी छन् । संघले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रत्येक २ मध्ये १ जना मधुमहको बिरामीलाई आफुमा मधुमेह छ भन्ने जानकारी नै छैन ।
तथ्यांकअनुसार विश्वमा प्रत्येक १० सेकेण्डमा एक जना व्यक्ति मधुमेहको विरामी बन्ने गरेका छन् भने एकजना भन्दा बढिको मधुमेहजन्यको समस्याकै कारण मृत्यु हुने गरेको छ ।
मधुमेह के हो ?
मानव शरीरको रगतमा आवश्यकताभन्दा बढी चिनी अथवा ग्लुकोज जम्मा हुँदा देखापर्ने रोगलाई मधुमेह भनिन्छ । यसलाई चिनिरोग पनि भनेर चिन्ने गरिन्छ । मानव शरीरभित्र चिनी पचाएर ऊर्जामा बदल्ने काम इन्सुलिनले गर्छ ।
शरीरमा इन्सुलिन उत्पादन नहुने वा उत्पादिन इन्सुलिनले काम नगर्दा रगतमा चिनीको मात्रा बढ्ने डा. जोशी बताउँछन् । उनका अनुसार इन्सुलिनको अभाव भएर शरीरमा चिनी नपच्ने र पिसाबबाट चिनी बाहिर निस्कने रोग चिनी रोग वा मधुमेहको नामबाट परिचित हुन पुगेको हो ।
मधुमेह शरीर गल्ने दीर्घ रोग हो । एकपटक लागेपछि यो रोगबाट छुटकारा पाउन गाह्रो छ । यद्यपि यसप्रति सचेत हुनसके सामान्य जीवन बिताउन सकिन्छ । हामीले खाएको धेरैजसो खाना ग्लुकोजमा परिवर्तन भएर शरीरलाई शक्ति दिने काम गर्छ ।
डा भट्टराईका अनुसार इन्सुलिनले हामीले खाएका कुराबाट प्राप्त ग्लुकोजलाई कोसमा प्रवेश गराउन चाबीको काम गर्छ, तर ग्लुकोज कोसमा प्रवेश गर्न नपाए शरीरमा समस्या हुन्छ । त्यसवाट देखापर्ने समस्या नै मधुमेह हो ।
टाइप वान र टाइप टु मधुमेह
चिकित्साशास्त्रमा डाइबिटिजलाई दुई भागमा वर्गीकरण गरिएको छ । शरीरमा इन्सुलिनको उत्पादन नै नहुने ‘टाइप वान डाइबिटिज’ हो । यस्तो समस्या बालबालिकामा हुने गर्छ । त्यस्तै, उत्पादित इन्सुलिनले काम नगर्ने समस्यालाई ‘टाइप टु डाइबिटिज’ भनिन्छ । यो ३० वर्ष भन्दा माथिका मानिसलाई हुने गर्छ ।
पेटमा बोसो जम्मा भएको मान्छेलाई मधुमेह हुने सम्भावना बढी हुन्छ । बढी पिसाब लाग्नु, छाला सुक्खा हुनु, पिसाबमा कमिला लाग्नु, खाना धेरै रुच्नु, दुब्लाउँदै जानु, श्वास फेर्न गाह्रो हुनु डाइबिटिजका लक्षण हुन् । बच्चा त कहिलेकाहीँ बेहोसै पनि हुन सक्छन् ।
डाइबिटिज वंशाणुगत कारणले पनि हुने गर्छ । परिवारमा कसैलाई छ भने उनीहरूको बच्चामा डाइबिटिज हुने वा दाजुदिदीमा समस्या भए अन्य दाजुभाइ तथा दिदीबहिनीमा हुने सम्भावना उच्च हुने डा. जोशी बताउँछन् ।
मिर्गौला, आँखा, मुटु र स्नायुमा असर
heart_attackडा. जोशीका अनुसार लामो समय डाइबिटिज हुँदा आँखा, किड्नी र नसामा असर गर्न सक्छ । खुट्टाको नसामा असर गरेर खुट्टै काट्नुपर्ने अवस्था समेत आउन सक्ने हुन्छ । त्यसैले डाइबिटिजका बिरामीले पिसाबबाट प्रोटिन लिक भएको छ र छैन परिक्षण गराउँदै गर्नुपर्छ । पिसाबबाट प्रोटिन लिक भए कालान्तरमा किड्नीले काम नै नगर्ने हुन्छ ।
पश्चिमा मुलुकमा कमाउने, खाने उमेरमै मान्छे अन्धो हुने मुख्य कारण पनि डाइबिटिज हो । डाइबिटिजले रगतको नसामा असर गर्छ, आँखामा पनि असर गर्छ । यस्का साथै रक्तचाप बढाएर हृदयाघात समेत गराउँछ ।
डा. जोशीका अनुसार मधुमेह भएका मान्छेको रगतमा कोलेस्ट्रोल जम्छ, जसका कारण नसाबाट रगत बग्न सक्दैन, खुट्टामा रगत सञ्चार नभएपछि सामान्य चोटपटक लागे पनि घाउ बढ्दै गएर निको नहुने र खुट्टा नै काट्नुपर्ने अवस्था समेत आउँछ । मधुमेह भइसकेको भए चकित्सकको सल्लाहअनुसार औषधि सेवन नियमित गर्नु, पिसाबबाट प्रोटिन लिक भएको छ, छैन परिक्षण गराउनु, रगतमा चिनी तथा कोलेस्ट्रोलका मात्रा नियमित जाँच्नुपर्छ । आँखाको नियमित परिक्षण गराउनुपर्छ ।
यसो गरे जोगिन सकिन्छ
चिकित्सकहरुका अनुसार मोटोपना बढाउन नदिने, खानपानमा ध्यान पुर्‍याउन सके, नियमित व्यायाम गर्ने, चुरोट, रक्सी नखाने, धेरै चिल्लो, रेस्टुरेन्टको खाना तथा तारेको खाना नखाए मधुमेहबाट धेरै हदसम्म बच्न सकिन्छ ।
मधुमेह भएकाको शरीरमा पहिल्यै चिनी हुनेहुँदा थप गुलियो खाँदा समस्या बढ्छ । त्यसैले चिकित्सकको सल्लाहमा नियन्त्रित मात्रामा मात्र गुलियो खानुपर्छ ।
मधुमेहका लक्षण
अत्याधिक भोक लाग्नु, पिसाब लाग्नु, हातखुट्टा झमझमाउनु, पोल्नु, तिर्खा लाग्नु, मुख सुक्नु, शरीरमा रगत कम हुनु, मुख फुल्नु, आँखावरिपरि फुल्नु, आँखाको ज्योतिमा कमी आउनु, छाला धेरै सुख्खा हुनु मधुमेहका लक्षण हुन् ।
यस्तै बारम्बार पिलो, बालतोड आउनु, कहिलेकाहीँ एक्कासि केहीबेरका लागि आँखा नदेख्नु, रक्तनलीहरू साँघुरिनु, हातखुट्टाका औंलाहरू बाउँडिनु, पिँडौला धेरै दुख्नु, लामो समय थकाइ अथवा कमजोरी महसुस हुनु, घाउ अथवा रोग चाँडै निको नुहुनु, बिनाकारण दुब्लाउँदै जानु, यौन क्षमता घट्नु आदि मधुमेहका लक्षण हुन् ।
के खाने, के नखाने ?
यी खाना नखाउ
मधुमेह लागेकाहरुले चिनी, मिठाई, आँप, अंगुर, भुइँकटहर, अइसक्रिम, केक, कोक, फ्यान्टा, प|mुट जुसजस्ता गुलिया पेयपदार्थ, तेलघिउमा तारेको पुरी, पुलाउ, समोसा, आलुचप पनि खानु हुँदैन ।
थोरै मात्रामा खादा हुुने पदार्थहरु
चामल, गहुँ, मकै, चिउराजस्ता अन्नहरु, चिनी नभएको पाउरोटी, बिस्कुट, चाउचाउ, तेल, घिउ, आलु, पिँडालु, मधुमेह रोगीका लागि भनी बनाइएका ‘डाइट’ खाद्यपदार्थहरु, चना, रहर, केराउ, भटमास, मुगी, मासजस्ता गेडागुडीहरु, दूध र यसबाट बनेका पदार्थहरु, मेवा, मौसम, स्याउजस्ता फलफूलहरु, मासु, माछा, अण्डा आदि साधारण मात्रामा खान हुन्छ ।
धेरै खानुपर्ने पदार्थहरु
हरियो तरकारी र सागसब्जी तथा काँक्रो, गोलभेंडा, गाजर, मूला, फलफुल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment