Comments Add Comment

पद्मरत्न नेतृत्वको आन्दोलनमा विवाद

nagendra-Kumal
आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमाल

३० कात्तिक, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ नेतृत्वमाथि पद्मरत्न तुलाधर नेतृत्वको जातीय आन्दोलनमा निःशर्त सहभागी हुन दबाब परेको छ । महासंघको मूल नेतृत्व र केही जातीय संगठनहरुले भने महासंघलाई बाइपास गरेर हुन लागेको आन्दोलन घोषणाप्रति असन्तुष्टि जनाएका छन् ।

जनजाति महासंघमा आबद्ध जातीय संस्थाका प्रतिनिधिहरुसँग शनिवार भएको छलफलमा दुईथरी धारणा आएपछि महासंघले मंसिर ५ गते जातीय संस्थाहरुको राष्ट्रिय भेला आह्वान गरेको छ ।

छलफलमा अधिकांश जातीय संस्थाका प्रतिनिधिहरुले पद्मरत्न नेतृत्वको जनजाति आन्दोलनमा महासंघ सहभागी हुनुपर्ने भन्दै अध्यक्ष नागेन्द्र कुमाल र महासचिव पेम्बा भोटेले कांग्रेस-एमालेलाई फाइदा पुर्‍याउन खोजेको आरोप लगाएका थिए ।

पूर्व महासचिव आङकाजी शेर्पा निकट मगर संघका प्रतिनिधि नविन रोक्कामगरले महासंघका महासचिव पेम्बा भोटेले पद्मरत्न समितिको आन्दोलनका विपक्षमा अभिमत दिएको भन्दै आपत्ति समेत प्रकट गरेका थिए ।

तर तमु छोंज धीका अध्यक्ष रेशम गुरुङले भने जनजाति समुदायको छाता संगठन महासंघलाई बाइपास गरेर कुनै व्यक्तिको नेतृत्वमा आन्दोलन गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएको एक सहभागीले बताए ।

त्यस्तै शेर्पा विद्यार्थीका अध्यक्ष बुजाङ शेर्पाले पनि पहिचानको आन्दोलनको नेतृत्व महासंघले नै गर्नुपर्ने भन्दै महासंघलाई बाइपास गर्न खोजिएको बताएका थिए ।

महासंघ अध्यक्ष नागेन्द्र कुमाल र महासचिव पेम्बा भोटेले महासंघ आबद्ध जातीय संस्थाहरुको भेला र संघीय परिषदको बैठकपछि मात्र पद्मरत्न नेतृत्वको आन्दोलनमा सहभागी हुने वा नहुने निर्णय हुने बताएका छन् ।

‘जातीय संस्थाका प्रतिनिधिहरु पद्मरत्न तुलाधर नेतृत्वको आन्दोलनबारे बिभाजित भएका छन्,’ एक सहभागीले भने, ‘केही पूर्व अध्यक्ष र महासचिवले महासंघको अस्तित्व नै स्वीकार नगरेकाले यो अवस्था आएको हो ।’

केही जातीय संस्थ्ााहरुले महासंघ उपाध्यक्ष डण्डु शेर्पाले महासंघको आधिकारिक निर्णय नभएको अवस्थामा महासंघको आधिकारिक धारणा भन्दै तुलाधर समितिमा सहभागी भएको आलोचना गरेका थिए ।

पूर्व अध्यक्ष राजकुमार लेखी महासंघलाई बाइपास गरेर हुन लागेको आन्दोलनको विपक्षमा देखिएको प्रसंगले पनि महासंघभित्र खैलाबैला मच्चिएको छ । शनिवारको छलफलमा थारु प्रतिनिधिले यसको संकेत गरेका थिए ।

‘महासंघ र थरुहट मिलेर अलग्गै आन्दोलन गर्नुपर्छ भन्ने कुरा पनि आएका छन्,’ एक सहभागीले भने, ‘महासंघको नेतृत्वमा अल्पसंख्यक जनजातिको प्रतिनिधित्व कतिपय पूर्व नेताहरुलाई मन परेको छैन ।’

स्रोतका अनुसार ओम गुरुङ, पासाङ शेर्पा, आङकाजी शेर्पा लगायतका जनजाति नेताहरुले महासंघको नेतृत्वमा आन्दोलन गर्ने कुरा अस्वीकार गरेकाले पद्मरत्नलाई आग्रह गरिएको हो ।

‘महासंघ अध्यक्ष कुमाल कांग्रेस र महासचिव भोटे एमाले भएकाले पनि जनजाति नेताहरुले उनीहरुलाई विश्वास नगरेको हुनसक्छ,’ एक जनजाति नेताले भने, ‘तर महासंघ जातीय संस्थाहरुको छाता भएकाले उसलाई विश्वासमा लिएर अघि बढ्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment