Comments Add Comment

विमान कम्पनीको अाकर्षण ‘माउन्टेन फ्लाइट’मा, निगमले १८ वर्षपछि सुरू गर्दै

Nepal-Airlines

नविन अर्याल

३० कात्तिक, काठमाडौं । आँखै अगाडी मन बहलाउने सेता सुन्दर हिमालहरु हेर्न कसलाई रहर हुँदैन र । तर, रहर गर्दैमा सबैले सुन्दर हिमाल आँखै अगाडी हेरेर मज्जा लिन पाउँछन भन्ने छैन ।

नेपाल विश्वमै एउटा त्यस्तो देश हो, जहाँ अग्ला-अग्ला दर्जनौं हिमालहरु नजिकैबाट हेरेर मज्जा लिन पाइन्छ । हिमालको देश भनेर चिनिने नेपालमा यहाँका विमान कम्पनीहरुले ‘माउन्टेन फ्लाइट’ गराएर मानिसको हिमाल हेर्ने रहर पुरा गराउँदै आएका छन् ।

दैनिक सयौं जना हिमाल हेर्नका लागि माउन्टेन फ्लाइटमा जाने गरेको पाइन्छ । वर्षेनी हजारौं पर्यटक हिमाल हेर्नका लागि भनेर नेपाल आउने गरेका छन् । हिमाल अवलोकन गर्न जाने स्वदेशी विदेशी नागरिक बढ्दै जान थालेपछि विमान कम्पनीहरु पनि ‘माउन्टेन फ्लाइट’मा आकषिर्त हुन थालेको पाइन्छ ।

नेपालका विमान कम्पनीहरुले सबैभन्दा राम्रो कमाई माउन्टेन फ्लाइटबाट गर्ने गरेको नेपाल वायुसेवा निगमका महाप्रबन्धक मदन खरेलले बताए । राष्ट्रिय ध्वजावाहक निगमले पनि १८ वर्षपछि व्यवसायीक रुपमा माउन्टेन फ्लाइट सुरु गर्दैछ ।

यहि क्रममा निगमले शनिबार माउन्टेन फ्लाइटको सम्भावना अध्ययन गर्नका लागि परीक्षण उडान गरेको छ । निगमले चीनबाट ल्याएको ५६ सिट क्षमताको मोडर्न आर्क ‘एमए-६०’ जहाजबाट परीक्षण उडान गरेको हो ।

‘हामीले करिव १८ वर्ष अगाडी माउन्टेन फ्लाइट गरेका थियौं’ महाप्रबन्धक खरेलले भने- ‘सबैभन्दा राम्रो आम्दानी गर्न सकिने माउन्टेन फ्लाइट पुनः सुरू गर्दै छाैं, अबको ४ महिनाभित्र व्यवसायीक रूपमा उडान सुरु गर्ने लक्ष्य छ ।’

चीनबाट आउन बाँकी जहाज नेपाल आइसकेपछि मात्र माउन्टेन फ्लाइट सुरु गर्ने खरेलको भनाई थियो । ‘जहाजको संख्या बढी भएपछि माउन्टेन फ्लाइट र अन्य फ्लाइटको व्यवस्थापन गर्न सजिलो हुनेछ, तत्काललार्इ थोरै जहाज भएको हुँदा व्यवस्थापनमा समस्या अाउन सक्छ’ उनले भने ।

परीक्षण उडानमा निगमले प्राविधिकहरु साथमा लगेको थियो । प्राविधिकका अनुसार एमए-६० जहाजबाट माउन्टेन फ्लाइट गर्न उपयुक्त देखिएको खरेलले जानकारी दिए । माउन्टेन फ्लाइट सुरु गरेपछि नियमित गर्ने लक्ष्य निगमको छ ।

Himal

‘माउन्टेन फ्लाइटबाट निगमले राम्रो सफलता हासिल गर्न सक्छ’ खरेलले भने- ‘हिमाल हेर्न चाहाने स्वदेशी तथा विदेशीको संख्या बढ्दो छ, यस्तो अवस्थामा माउन्टेन फ्लाइट गर्दा निगमलाई राम्रो पक्कै हुन्छ ।’

नेपालका विमान कम्पनीहरुले व्यवसायीक सफलताका लागि पोखरा र माउन्टेन फ्लाइट गर्नुपर्ने हुन्छ । निगमले अन्य निजी कम्पनीहरुले भन्दा सस्तो शुल्क लिएर माउन्टेन फ्लाइट गर्ने जनाएको छ । अहिले निजी क्षेत्रका विमान कम्पनीहरुले प्रतिव्यक्ति १० हजार ६ सय रुपैयाँ लिएर एक देखि डेढ घण्टासम्म हिमाल अवलोकन गराउने गरेका छन् ।

शनिबारको परीक्षण उडानमा मूख्यसचिव लिलामणि पौडेल, निगमका महाप्रबन्धक खरेल, पर्यटन मन्त्रालयका सहसचिव एवं प्रवक्ता मोहनकृष्ण सापकोटा, विमानका प्राविधिकहरु तथा प्राविधिकहरुको सहभागिता रहेको थियो । हिमाल हेरेर विमान स्थलमा फर्किदा मुख्यसचिव पाैडेल निकै खुशी देखिन्थे ।

निगमले माउन्टेन फ्लाइटमा लैजाँदा जहाजको झ्यालबाट गौरीशंकर, मेलङत्से, चुगिमागो, पिग्फेरागो, नुम्बर, कार्योलुङ, चोयु, पुमओरी, नुप्से, सगरमाथा, लोत्से, आम्दाब्लम, चाम्लाङ, मकालु, कञ्चनजंगा लगायतका हिमालहरु देखिएका थिए ।

एमए-६० जहाजमा ५६ जना अटाउने भएपनि एक पटकमा ३२ जनालाई लागि मात्र माउन्टेन फ्लाइट गराउन सकिन्छ । जहाजमा ठूलो इञ्जिन रहेको हुँदा बाहिरका दृश्य विचमा रहेका व्यक्तिहरुले हेर्न पाउँदैनन् । निमगले एमए-६० जहाजका साथै आवश्यकता अनुसार वाई १२ ई जहाजबाट पनि माउन्टेन फ्लाइट गराउने बताएको छ ।

अहिल सञ्चालनमा रहेका यति एयरलाइन्स, बुद्ध एयर, सिम्रिक एयर लगायत हेलिकप्टर कम्पनीहरूले पर्यटकहरूलार्इ हिमाल अवलोकन गराउँदै अाएका छन् । निगमले माउन्टेन फ्लाइट सुरू गरेपछि यसमा स्वदेशी पर्यटकको थप अाकर्षण हुने अनुमान गरिएको छ ।

निगमले एमए-६० जहाजबाट पोखरामा पनि व्यवसायीक उडान सुरु गर्ने बताएको छ । ‘पोखरामा उडाउन त सकिन्छ, तर अलिकति प्राविधिक समस्या छ, हामी फेरी चाइनिज प्राविधिकलाई सँगै राखेर पोखरामा परीक्षण उडान गर्छौं, उनीहरुले हेरेर यहाँ उडान गर्न ठिक छ भनेर सर्टिफिकेट दिनासाथ उडान सुरु गरिहाल्छौं’ खरेलले भने ।

एमए-६० जहाज चीनबाट बैशाख १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । त्यसको भोलिपल्ट निगमले जहाजको स्वामित्व ग्रहण गरेको थियो । यसले सातामा १४ वटा  उडान भर्दै आएको निगमले जनाएको छ ।

निगमले चीनबाट ल्याउन लागेका ६ वटा जहाजमध्ये एउटा ‘एमए-६०’ र एउटा ‘वार्इ १२ र्इ’ जहाज काठमाडाैं ल्यासकेको छ भने एउटा ‘एमए-६०’ र ३ वटा ‘वार्इ १२ र्इ’ जहाज अागामी ४ महिनाभित्रमा ल्याइसक्ने जनाएको छ । निगमले पाइसकेका दुबै जहाज चीनले अनुदानमा दिएका जहाज हुन् । बाँकी ४ जहाज निगमले चीन सरकारले उपलब्ध गराएको सहुलियत ऋणमा ल्याउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment