Comments Add Comment

पहाडे जनजाति नेताले पद्मरत्नलाई ‘मूर्गा’ बनाए

rajkumar_650
राजकुमार लेखी, पूर्वअध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ

नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष एवम् थारु समुदायका अगुवा नेता राजकुमार लेखीले पद्मरत्न तुलाधर नेतृत्वको जनजाति आन्दोलनलाई ‘२२ दलीय मोर्चाको घटक’ बताएका छन् । तुलाधरको मोर्चाबारे आदिवासी जनजाति नेताहरुवीच विवाद बढेका बेला लेखीले तुलाधरलाई ‘मूर्गा’को संज्ञा दिएका छन् ।

लेखीले जनजाति महासंघका केही पूर्वअध्यक्ष र महासचिवहरुले आफ्नो स्वार्थ सिद्ध गर्न पद्मरत्नलाई ‘मूर्गा’ बनाएर जनजाति आन्दोलनलाई नै विभाजित गर्न खोजेको आरोप लगाए । उनले जनजाति आन्दोलन आदिवासी जनजाति महासंघको अगुवाइमा मात्र हुनुपर्ने भन्दै पद्मरत्न आन्दोलनमा महासंघ र तराईका आदिवासी जनजाति सहभागी नहुने ठोकुवासमेत गरेका छन् । लेखीसँग अनलाइनखबरले गरेको कुराकानी :

आदिवासी जनजाति महासंघलाई पद्मरत्न तुलाधर नेतृत्वको जनजातिहरुको राष्ट्रिय आन्दोलनमा समावेश हुन नदिन तपाई सक्रिय हुनुभयो रे, किन हो ?

पहिलो कुरा त जनजाति महासंघबाहेक अरु व्यक्तिले गर्ने आन्दोलन जनजातिहरुको राष्ट्रिय आन्दोलन हुन सक्दैन । मलाई आरोप लगाउनेहरुले जे भने पनि डराउँदिन । हिजो २५ वर्षदेखि आदिवासी जनजाति महासंघ जनजाति अधिकारका निम्ति लड्दै आएको संगठन हो भन्ने जगजाहेर छ ।

यही संस्थामा शुरेश आले, परशुराम तामाङ, पासाङ शेर्पा, ओम गुरुङ, बालकृष्ण माबुहाङहरुले नेतृत्व गरुञ्जेल महासंघमात्र ठीक हो भन्ने अनि अहिले उनीहरु निवर्तमान वा भूतपूर्व भएपछि यसलाई मान्दैनौं भन्ने सम्भ्रान्त चिन्तनको मैले बिरोध गरेको हुँ ।

अहिले कुनै संगठनको प्रमुख वा पदमा नरहेपछि २५ वर्षको इतिहास बोकेको महासंघ विरुद्ध गल्ली गल्ली टोलटोलमा समिति बनाएर हिँड्ने अधिकार कसैलाई छैन ।

पद्मरत्न तुलाधर जस्तो बरिष्ठ नेताको अध्यक्षताको समितिलाई कसरी गल्लीको संस्था भन्न मिल्छ ?

Padmaratna tuladhar
पद्मरत्न तुलाधर

पद्मत्न तुलाधर को हो ? उहाँ नेवारको अध्यक्षको हैसियतमा नेतृत्व गर्दै हुनुहुन्छ ? केही चार/पाँचजना जनजाति नेताहरुको महत्वाकांक्षा पूरा गर्न महासंघलाई कमजोर बनाउन पाइँदैन । राजकुमार लेखी उनीहरुको दास होइन, कमैया होइन । पद्मरत्नलाई मूर्गा बनाएर कुनै आन्दोलनको घोषणा गरिन्छ भने थारु समुदाय, थारु कल्याणकारी सभा र तराईका आदिवासी जनजातिहरु उनीहरुको पछि लाग्दैनन् ।  संस्थागत रुपमा जानका निम्ति महासंघ छ ।

अधिकारको कुरा गर्न संस्थागत रुपमा जानुपर्छ भन्ने हाम्रो भनाइ हो । यसमा महासंघले पनि आफ्नो धारणा राखिसकेको छ । व्यक्तिलाई प्रमुख मानेर जनजाति महासंघ उनीहरुको पिछलग्गु भएर जानुहुँदैन र जाँदैन ।

यो राष्ट्रिय आन्दोलनको एउटा घटक महासंघ पनि त हो नि ?

गल्ली र टोलमा गठन हुने व्यक्तिगत समितिहरुमा महासंघ घटक हुन सक्दैन र थारु कल्याणकारी सभा त्यसमा जाँदैन । महासंघले सबै ५९ जातीय घटकहरुको नेतृत्व गरेर आन्दोलन वा अन्य कार्यक्रम गर्नुपर्छ ।

महासंघ २२ दलीय मोर्चा र त्यसलाई सघाउन गठन भएका पद्मरत्नहरुको मोर्चामा जानै सक्दैन र जानुहुँदैन । अर्को कुरा, जुन आन्दोलनमा थारु समुदायका कुनै एजेण्डा, हक अधिकारको माग समटेएकिो छैन भने उनीहरुको मोर्चामा हामी त जानै सक्दैनौं । गाईघाटमा बसेको थारुको बैठकले प्रष्टरुपमा कुनै दलको पक्ष वा विपक्षको आन्दोलनमा नजाने निर्णय गरिसकेको छ । जनजाति महासंघले पनि त्यही भनिसकेको छ ।

जनजाति महासंघको मूल नेतृत्व अल्पसंख्यक जनजाति समुदायको हातमा गएकाले पनि समग्र जनजाति आन्दोलनको नेतृत्व गर्न सकेन भनेर बरिष्ठ व्यक्तिको नेतृत्वमा राष्ट्रिय आन्दोलन घोषणा गरिएको कुरा आयो नि ?

यो सामन्ती चिन्तन बोकेका, राजावादी पञ्चायती मानसिकता भएकाहरुले बेला-बेलामा प्रकट गरेको कुरा हो । हामी धेरै जनसंख्या रहेका आदिवासी जनजातिका नेता हौं, हामी नै राजा महाराजा हौं भन्ने चिन्तन पाँच/सातजना पहाडे आदिवासी जनजाति नेताहरुमा हावी रहेको छ । हामी नै अल्पसंख्यक जनजातिहरुको ठेकेदार हौं भन्नेहरुका विरुद्ध लड्दै आएको मान्छे हुँ म । त्यसैले केही पाँच/सातजना पूर्वअध्यक्ष वा महासचिवहरुको संभ्रान्त सोचसँग हामी सहमत छैनौं ।

लामो समयसम्म जनजाति महासंघलाई छ/सातवटा धेरै जनसंख्या भएका राई, मगर, गुरुङ, तामाङ,लिम्बुहरुले तार बारेर बसेका थिए । उनीहरुको ठेकेदारी खोसिन लाग्यो भनेर अहिले विक्षिप्त भएर टोल-टोल र गल्ली-गल्लीमा मोर्चा बनाउँदै हिँडेका छन् । त्यसमा आदिवासी जनजातिहरु पछि लाग्नुहुँदैन ।

अहिलेको पद्मरत्न नेतृत्वको समिति गठनमा महासंघको भूमिका के हो त ?

महासंघको कुनै भूमिका छैन । हामी कसैसँग सल्लाह छलफल भएको छैन । तराईका आदिवासी जनजाति र पहाडका पनि अल्पसंख्यक सीमान्तकृत समुदायका मुद्दा समेटिएका छैनन् । कुनै पदमा नभएका स्वार्थी र महत्वकांक्षी व्यक्तिहरुले आन्दोलनमा हावी हुन र जनजाति आन्दोलनलाई विभाजित गर्न पद्मरत्न तुलाधरलाई मोहरा बनाएका हुन् । जनजाति आन्दोलनको नेतृत्व जनजाति महासंघले मात्र गर्न सक्छ । आङकाजी शेर्पा जस्ता मान्छेहरुले चाहेर मात्र हुँदैन । म महासंघको निवर्तमान अध्यक्षको हैसियतमा जनजाति महासंघलाई बलियो बनाउन जुनसुकै योगदान गर्न तयार छु ।

महासंघलाई बाइपास गरियो भन्नेमा मात्रै तपाईको आपत्ति हो कि पद्मरत्न समितिको मुद्दा र एजेण्डामै विमति हो ?

पद्मरत्न समितिले अघि सारेका मुद्दामै हाम्रो विमति छ । पहिलो कुरा त उहाँहरु केही मुठ्ठीभर पाँच/सातजना पहाडे जनजाति नेताहरुले विगत आठ/दश वर्षदेखि जातीय राज्य माग्दै आउनुभएको छ । मैले महासंघको अध्यक्ष भएकै बेला प्रष्ट भनें, हामी जातीय राज्य माग्दैनौं ।

हामी संघीय समावेशी राज्य माग्छौं ।  संघीय समावेशी राज्य र जातीय राज्यमा आकाश जमिनको फरक छ । जातीय राज्य मागेर अशान्ति मच्चाउने, जनजाति आन्दोलनलाई दिग्भ्रमित पार्ने काम उहाँहरुले गरिरहनुभएको छ ।

दोस्रो कुरा प्रचण्ड नेतृत्वको कुनै पनि मोर्चालाई हाम्रो सहमति र समर्थन हुँदैन । प्रचण्ड र बाबुराम प्रधानमन्त्री भएकै बेला, प्रचण्डको पार्टी तत्कालीन संविधानसभामा सबैभन्दा ठूलो पार्टी भएकै बेला तराई थरुहटलाई जबजरस्ती मधेशमा थोपर्ने उनीहरु नै हुन् ।

अहिले प्रचण्ड नेतृत्वको २२ दलीय मोर्चाको गोटी बन्न हामी कसरी जान्छौं । जनजाति महासंघ कुनै दलको विरुद्ध वा समर्थनमा जान सक्दैन । थारुलाई जबर्जस्ती मधेसी बनाउने निर्णयको  पहाडका पाँच/सातजना मठाधीश जनजाति नेताहरुले विरोध गरेका छैनन् । यसबाट पनि प्रष्ट हुन्छ उनीहरुको नियत ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment