Comments Add Comment

आइजीपी ताक्ने प्रहरीले ‘पराक्रम’ देखाउन थाले

Nepal-Policeदीपेश केसी
प्रहरी सेवामा प्रवेश पाएपछि फूली थप्ने इच्छा कसमा नहोला ? यसका लागि जुनसुकै कदम चाल्न सक्रिय हुन्छन् प्रहरी अधिकारीहरु । जहाँ, जसरी फूली थपिन्छ, उनीहरु त्यही गर्छन् ।

जहाँ चाकडीको महत्व बढी हुन्छ, त्यहाँ चाकडी बजाउन थाल्छन् । जहाँ पैसाको दाम चढाउनुपर्ने हुन्छ, चढाउँछन् । र, जहाँ कामको महत्व बढी हुन्छ, त्यहाँ कामै गरेर फूली थप्ने उद्देश्यमा प्रहरीहरु केन्दि्रत हुन्छन् ।

साम, दाम, दण्ड भेदको नीति विगतमा धेरै देखिए । यसले प्रहरीलाई बदनामसमेत बनायो । अब परिस्थितिमा परिवर्तन हुँदै गएको छ । नेपाल प्रहरीमा ‘परिक्रमा’ भन्दा पराक्रमको र सलामी र गुलामी भन्दा कामको महत्व निकै बढेको पछिल्ला घटनाबाट देखिँदैछ ।

पञ्चायत कालमा राजा र राणाहरूको चाकडी गरेर प्रहरी प्रमुख बन्नुपर्ने अवस्था र ०४६ सालको परिवर्तनपछि राजनीतिक दलका केही नेताविशेषको चाकडी बजाउनुपर्ने परिस्थिति विस्तारै बदलिन थालेको छ ।

लोकतन्त्र स्थापनापछि पनि प्रहरी सेवामा राजनीतिक हस्तक्षेप र सेवाभित्रै चाकडी खोज्ने प्रवृत्ति हावी नभएको होइन । तर, बढुवाका लागि कार्यक्षमता मूल्यांकन प्रभावकारी बनाउने पद्दति र प्रणाली बलियो बनाइएपछि कार्यक्षमता प्रधान भएको छ ।

कुबेरसिंहदेखि रवीन्द्रप्रतापसम्म

कुवेरनरसिंह रानाभन्दा अगाडि रमेश चन्द ठकुरीले रवीन्द्रप्रताप शाहलाई पछि पार्दै दुई नम्बरको एआइजीबाट उछिनेर प्रहरीको नम्बर एकमा पुग्दा विवाद देखिएको थियो ।

चन्द सुडानमा खटिएका नेपाल प्रहरीको मिसनका लागि आवश्यक एपीसी खरिद प्रकरणमा मुछिएर पदमुक्त बनाइए । सुडान काण्डले बदनाम कमाएको उक्त घटनापछि शाहले प्रहरी प्रमुखको जिम्मेवारी पाए ।
आफ्नो हातबाट फुत्किसकेको पद पुनः पाएका शाहपछि वरिष्ठताका आधारमा कुवेरसिंह रानाले प्रहरीको चेन अफ कमाण्ड सम्हाले । कार्यक्षमताले उपल्लो पदसम्म पुगेका रानाले प्रहरीभित्रको चेन अफ कमाण्डलाई बलियो बनाउन भूमिका खेले ।

दोस्रो संविधानसभा चुनावको एक हप्ता अगाडि मात्र घर बसेका उनले चाहेको भए चलखेल गरेर विशिष्ट परिस्थितिको कारण भन्दै समायवधि लम्ब्याउन सक्थे । त्यसका लागि उनलाई उकास्नेहरू पनि थिए । तर, नयाँ नेतृत्वलाई पदभार सुम्पिएर जान हिच्किचाएनन् ।

रानाको पालादेखि प्रहरीभित्र एउटा परम्पराको विकास भएको छ । नेतृत्व विकास धेरै पहिलेबाट हुनुपर्छ र समय आएपछि पद हस्तान्तरणलाई स्वाभाविक मान्न सक्नुपर्छ ।

UpendraKant Aryal,NepalPolice
उपेन्द्रकान्त अर्याल

उपेन्द्रकान्त अर्यालपछि को आउने ?  

उपेन्द्रकान्त अर्याल आइजीपी बन्दा उनका सामु बलिया प्रतिस्पर्धी थिए राजेन्द्रसिंह भण्डारी । प्रहरीभित्र निडर व्यक्तिको परिचय बनाएका भण्डारीभन्दा अर्याल डीआइजी हुँदा नै वरिष्ठतम थिए । खाली एकमात्र एआइजी पदमा भण्डारीलाई पछि पार्दै अर्याल बढुवा भएपछि उनी नै प्रहरी प्रमुख हुने निश्चित भएको थियो ।

अपराध अनुसन्धानको क्षेत्रमा दुबै उत्तिकै प्रभावशाली मानिन्थे । प्रतिस्पर्धामा अर्यालले बाजी मारेपछि भण्डारीले हार नखाने तर धैर्य गरेर बस्ने शैलीको सन्देश दिँदै फेसबुक स्टाटस लेखे ।

एक नम्बरका एआइजी भण्डारी अझै पनि काम देखाउन छाडेका छैनन् । विद्यमान नियमावलीअनुसार अर्याल ३० वर्षे सेवा अवधि पूरा गर्दै ०७३ फागुनमा घर जानेछन् । त्यसपछिका प्रमुख प्रतिस्पर्धी नवराज सिलवाल र प्रकाश अर्याल हुन् ।

पूर्वाञ्चल डीआइजी सिलवाल अपराध अनुसन्धानमा दक्ष अधिकृत हुन् । सुरक्षा कायम गर्न र अपराध अनुसन्धान गर्ने चुनौतीपूर्ण जिम्मेवारीहरू पूरा गरेर नाम कमाएका छन् । विदेशमा समेत अध्यापन गराइसकेका उनी बौद्धिक प्रहरीको परिचय बनाउन सफल छन् । पूर्वाञ्चलमा अत्याधुनिक उपकरणसहितको सुरक्षा प्रणाली विकास गर्न भूमिका खेलेर उनले भविष्यमा सुरक्षा प्रणालीलाई चुस्त र दुरूस्त पार्ने आधुनिक भिजन प्रस्तुत गरिसकेका छन् ।

उनका प्रतिस्पर्धी अर्याल सिलवाललाई उछिन्न काम देखाउन खोजिरहेका छन् । महत्वपूर्ण क्षेत्र मानिएको मध्यमाञ्चलमा रहेर सुरक्षा र अपराध नियन्त्रणमा प्रभावशाली रहेको प्रमाणित गर्न भूमिका खेलिरहेका छन् । उनीहरूका अन्य प्रतिस्पर्धीले पनि हार मानेका छैनन् ।

विद्यमान प्रहरी नियमावलीअनुसार हालकै आइजीपी अर्याल सेवानिवृत्त भएपछि सिलवाल र अर्यालमध्येबाटै एकजना ०७३ फागुनमा आइजीपी हुने सम्भावना बलियो छ । उनीहरूका ब्याचीमध्येबाट आइजीपी हुने सेवा अवधिले निवृत्त भएपछि आइजीपीको प्रतिस्पर्धामा रमेश खरेल, सर्वेन्द्र खनाल र राजेन्द्रमान श्रेष्ठ हुनेछन् ।

spरमेश खरेल भर्सेज सर्वेन्द्र खनाल

खरेल सेलिब्रिटी बनेका प्रहरी हुन् । काठमाडौंको गुण्डा तह लगाउन भूमिका खेलेकोबारे अखबारको पाना र टेलिभिजनको पर्दामा खरेल निकै छाए । आजकाल प्रहरी तालिम प्रतिष्ठान भरतपुर खटाइएका खरेल एकाएक मिडियामा हराएका छन् ।

प्रहरीभित्र बढुवाका लागि बि्रफकेशसहितको चलखेल भएको अभिव्यक्ति दिएर उनी विवादमा आए । चेन अफ कमाण्डलाई चुनौती दिने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीभित्र उनको चर्को आलोचना भयो । जनस्तरमा खरेलको हाइहाइ अझै भइरहेकै छ । तर, कारबाहीमा परेपछि उनलाई यो घटनाले घाटा पुर्‍याएको छ ।

रमेश खरेलका मुख्य प्रतिस्पर्धी सर्वेन्द्र खनाल प्रहरी सचिवालयमा सरूवा भएका छन् । खरेलको सरूवालाई आइजीपीले नेतृत्व विकासका लागि आफूसँग राखेको चर्चा चलेको छ ।

काठमाडौं जिल्लामा खटिँदा खनालले पनि गुण्डागर्दी तह लगाउन विशेष भूमिका खेलेका थिए । जनकपुरमा खटिँदा भारतका कुख्यात अपराधी बब्लु दुबेलाई पक्राऊ गर्नुका साथै नारायणी अञ्चल प्रहरी प्रमुख हुँदा सुन र सुपाडी तस्करलाई आतंकित पारेका थिए ।

नेपाल र भारत दुवैतर्फ नागरिक सम्मानको बजनदार माला पहिरिएर फर्किएका उनी विवादमा परेनन् । यसका पछाडि भविष्यमा आइजीपीको फूलीतर्फको आँखा लाग्नु नै  मुख्य कारण हुन सक्छ ।

दिल्लीमा अर्का दह्रा प्रतिस्पर्धी

एसएसपी राजेन्द्रमान श्रेष्ठ दिल्लीमा छन् । नेपाली दूतावासमा खटाइएका उनी इन्स्पेक्टर हुँदा आफ्नो ब्याचको एक नम्बरमा थिए । अहिले एसएसपी रहँदा आफ्नो ब्याचको तीन नम्बरमा छन् । उनले दिल्लीमा बसेर अन्तराष्ट्रिय अपराधी पक्राऊ गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।

नेपालबाट भागेर भारतलगायत अन्य मुलुकमा लुकेर बसेका फरार अपराधीलाई पक्राऊ गर्न समेत श्रेष्ठको भूमिका विशेष रहृयो । प्रहरीका महत्वपूर्ण तालिमहरू लिएका उनले विगतमा विभिन्न स्थानमा प्रहरी प्रमुख हुँदा पनि काम देखाउन सके । अहिले पनि उनी काम देखाएरै आइजीपीको प्रतिस्पर्धामा उत्कृष्ट अंकका साथ एआइजीमा बढुवा हुने उद्देश्यमा देखिन्छन् ।

त्यसो त खरेल र खनालको पनि अब खाली हुने डीआइजी पदमा वरिष्ठलाई उछिन्दै पुग्ने लक्ष्य देखिन्छ । त्यसका लागि उनीहरुले कार्यक्षमतामा निकै ध्यान दिँदैछन् ।

‘परिक्रमा’को साटो ‘पराक्रम’ देखाउने होड

अब ‘परिक्रमा’ले मात्रै पद पाइने अवस्था नहेकाले पराक्रम नै गर्नुपर्छ भन्नेतर्फ भविश्यमा नेतृत्वमा पुग्न चाहने प्रहरी अधिकृतहरूले पनि बुझ्दै गएको देखिन्छ । विवादमा आउने क्रियाकलापबाट मुक्त रहनेतर्फ प्रहरी अधिकृतहरू सचेत र सजग बन्न थालेका छन् ।

भविश्यको चिन्तन गर्नेहरू जति दत्तचित्त र इमान्दार भएर काम गर्छन्, नगर्नेहरूबाट कम अपेक्षा गर्नुपर्छ । जस्तै एआइजी भएकाहरू विभिन्न काण्डमा मुछिनुलाई लिन सकिन्छ ।

अघि बढ्न नसक्ने अपराधकर्ममा

अब आइजी हुन पाइने होइन, जागिरे जीवनको अन्तिम अवस्था यही हो र कमाउने बेला  पनि यही हो भन्ठान्ने प्रहरी अधिकारीहरु सुनकाण्डमा मुछिए । त्रिभुवन विमानस्थलबाट अवैध नोट लान भूमिका खेलेका प्रहरी अधिकृतको जागिर गयो ।

विशेष गरी बढुवामा पछि पर्नेहरूबाट गलत गतिविधि बढी भएको तथ्यांकले देखाउँछ । त्यसो त बढुवामा अगाडि हुनेहरू पनि अनियमिततामा नमुछिएका होइनन् । तर, भविश्यमा माथिल्लो पदमा पुग्नेहरू सकेसम्म विवादमा पर्नबाट जोगिन खोज्छन् ।

पछिल्लो समयमा काम देखाउने होडबाजी तल्लो तहको प्रहरीमा समेत देखिएको छ । निडर भएर साहसी काम गर्ने प्रहरीले तत्काल बढुवासमेत पाएका छन् ।

प्रहरीमा ‘परिक्रमा’बाट लाभ लिन्छु भन्नेहरू पछि पर्दै जानु सकारात्मक लक्षण हो । अब पराक्रमबाट मात्रै फूली पाइने अवस्था विकास हुँदै जानुले शान्तिसुरक्षा र अपराध व्यवस्थापनका क्षेत्रमा समेत सकारात्मक असर देखिने आशा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment