Comments Add Comment

रामचन्द्र पौडेलले यसरी बिगारे हुनै लागेको सहमति

१ मंसिर, काठमाडौं । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको सोमबार बसेको बैठकमा सहमति हुनै लाग्दा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बैठक भाँडेका छन् ।

फाइल फाेटाे
फाइल फाेटाे

संविधानका विवादित विषयलाई संविधानसभामा कसरी पेश गर्ने भन्नेबारे शीर्षनेताहरु सहमतिमा पुगिसकेका बेला पौडेलले सभापति डा. बाबुराम भट्टराईविरुद्ध हस्ताक्षरको कुरा झिकेपछि डा. भट्टराईले बैठक स्थगनको घोषणा गरे ।

यसरी जुटेको थियो सहमति
सोमबार दिउँसो सम्वाद समितिको बैठक बस्नुपूर्व सभामुख सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी अध्यक्ष प्रचण्ड लगायतले छलफल गरेका थिए ।
संविधानका अन्तरवस्तुमा सहमति हुन नसकेको अवस्थामा सम्वाद समितिको प्रतिवेदन कसरी पठाउने भन्ने प्रक्रियाका विषयमा नेताहरुले दिनभरि गृहकार्य गरेका थिए ।
दिउँसो बसेको सम्वाद समितिको बैठकमा सहमति नभएपछि सभापति भट्टराईले आधा घण्टाका लागि बैठक स्थगित गरेर शीर्ष नेताहरुसँग छुट्टै छलफल गरे ।
डा. भट्टराईको कार्यकक्षमा भएको छलफलमा प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार र राप्रपाका नेता सूर्यबहादुर थापा सहभागी थिए ।
सो छलफलमा सभापति डा. भट्टराईले वीचको बाटोबाट अघि बढ्ने प्रस्ताव गरेका थिए । भट्टराईले संविधानका यी विषयमा सहमित भए र यी विषयमा भएन भन्ने समितिको प्रतिवेदनकमा जनाई असहमतिका विषयलाई अनुसूचिमा समावेश गरेर संविधानसभामा पठाऔं भन्ने भट्टराईले प्रस्ताव गरेका थिए ।
सभापतिको प्रस्तावमा कांग्रेस र एमालेका नेताहरुले सुरुमा अन्कनाए पनि पछि ठीकै छ भनेर सहमति जनाएका थिए । प्रचण्ड र विजय गच्छदारले पनि भट्टराईको प्रस्तावमा सहमति जनाएका थिए । सूर्यबहादुर थापाको पनि त्यसमा सहमति थियो ।

पौडेलले यसरी भाँडे
शीर्ष तहमा छलफल र सहमतिपछि पुनः सुरु भएको सम्वाद समितिको बैठकमा कांग्रेस उपसभापति पौडेलले बोल्न समय माग गरे ।
सभापति डा. भट्टराईले समय दिनासाथ पौडेलले सभापति भट्टराईविरुद्ध समितिमा ४३ जना सभासदको हस्ताक्षर संकलन भएको जानकारी गराए ।
पौडेलले शीर्षनेतासँगको छलफलमा भने यसबारे केही बोलेका थिएनन् ।
कांग्रेस नेता पौडेलले सभापतिविरुद्ध हस्ताक्षरको कुरा झिकेपछि डा. भट्टराईले ‘यो त गम्भीर कुरा भयो, यसको कानूनी र राजनीतिक स्थिति के हो, अध्ययन नगरी अगडि बढ्न सकिन्न भन्दै बैठक स्थगनको घोषणा गरे ।
पौडेलले अन्तिम घडीमा आएर हस्ताक्षरको बखेडा नझिकेको भए सोमबार सम्वाद समितिको प्रतिवेदन तयार पार्नेबारे सहमति जुटिसकेको दाबी समितिका एक सदस्यले अनलाइनखबरसँग गरे ।
सम्वाद समितिको बैठकमा कांग्रेस र एमालेको सात प्रदेशको प्रस्तावबारे लामो समयदेखि विवाद भइरहे पनि मध्यमार्गी बाटोबाट समाधान खोज्ने सभापति डा. भट्टराईको प्रयासमा फेरि एकपटक विश्राम लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment