Comments Add Comment

हिन्दुराष्ट्र : राजतन्त्र फर्काउने प्रतिगामी नारा

मोहनविक्रम सिंह
सर्वप्रथम यो स्पष्ट हुनुपर्ने आवश्यकता छ : धर्मनिरपेक्षताको अर्थ के हो ? त्यसको अर्थ हो सांसारिक वा लौकिक । अर्थात् धर्मभन्दा बाहिर । त्यसले यो कुरामा जोड दिन्छ कि राज्य धर्मभन्दा बाहिर हुनुपर्दछ वा धर्मप्रति तटस्थ हुनुपर्दछ । त्यसको सम्पूर्ण कार्यविधि सांसारिक वा लौकिक विषयहरूमा नै सीमित वा केन्द्रित हुनुपर्दछ । त्यस अर्थमा राज्य धर्मप्रति निरपेक्ष हुनुपर्दछ । त्यसको ठीक विपरीत धार्मिक सापेक्षता हो । त्यस प्रकारको सोचाइ अनुसार राज्यले कुनै धर्म विशेषसित जोडिएर वा त्यसका आधारमा काम गर्दछ वा गर्नुपर्दछ । यहाँसम्म कि राज्यका सबै कारवाही, ऐन कानुन वा व्यवस्था समेत धर्मको अधिन हुनुपर्दछ वा धर्मद्वारा निर्देशित हुनुपर्दछ । उक्त दुई विषयहरूमध्ये कुन प्रणालीलाई अपनाउने ? त्यसबारे संसारमा धेरै नै मतभेद देखापर्दै आएको छ वा त्यो प्रश्नमा ठूला-ठूला सङ्घर्षहरू पनि हुने गरेका छन् । खास गरेर युरोपमा राज्यलाई चर्चबाट अलग गराउनका लागि चलेको सङ्घर्ष त्यस सन्दर्भमा विशेष रूपले उल्लेखनीय छ ।
mohan-bikram-singh1धर्मनिरपेक्षताको अर्थ हुन्छ, राज्यलाई धर्मबाट अलग गराउन वा त्यसलाई (राज्यलाई) धर्मको नियन्त्रणबाट मुक्त गर्नु । आज संसारमा जुन राज्यहरूले धर्मनिरपेक्षताको सिद्धान्तलाई अपनाएका छन्, त्यो राज्यलाई धर्मको प्रभाव वा नियन्त्रणबाट अलग गर्नका लागि चलेको लामो जागरण, सांस्कृतिक आन्दोलन वा सङ्घर्षको परिणाम हो । यो अवश्य हो कि नेपालमा त्यस प्रकारको सांस्कृतिक आन्दोलन वा सङ्घर्षको कुनै इतिहास वा परम्परा छैन । अहिले धर्म सापेक्षता वा हिन्दू राज्यको पुनस्र्थापनाका पक्षमा आवाज उठाउनेहरूले बताए झैँ नेपालमा धर्मनिरपेक्षताको विचारधारा निश्चित रूपले विदेशबाट नेपालमा परेको वैचारिक असरको नै परिणाम हो । तर त्यो कारणले त्यसको (धर्मनिरपेक्षताको) औचित्यता कम हुँदैन ।
सतीप्रथाका विरुद्ध भारतमा लामो सांस्कृतिक आन्दोलन चलेको थियो भने दासप्रथाका विरुद्ध विश्वस्तरमा नै ठूला ठूला सङ्घर्षहरू भएका थिए । तर अर्कातिर नेपालमा ती विषयहरूमा कुनै सङ्घर्ष भएको थिएन । तैपनि जङ्गबहादुरले सतीप्रथा र चन्द्र शम्शेरले कमारा-कमारी प्रथा समाप्त गर्नुको पछाडि वाहृय प्रभावले नै काम गरेको थियो । तर त्यो कारणले सतीप्रथा वा कमारा-कमारी प्रथा समाप्त गर्ने कार्यहरू गलत थिए भनेर कहिल्यै आवाज उठ्ने गरेको पाइएन । त्यस प्रकारका अरू पनि थुप्रै उदाहरणहरू छन् । संसदीय वा बहुदलीय व्यवस्था पनि विदेशबाट नै आयात गरिएका प्रणालीहरू हुन् । तर त्यो कारणले त्यो व्यवस्थाको औचित्यता समाप्त हुँदैन । यस प्रकारका हजारौँ हजार उदाहरणहरू छन् ।
हामीले दैनिक जीवनमा प्रयोग गर्ने बिजुली, कार, कम्प्यूटर, विभिन्न प्रकारका यन्त्रहरू, औषधिहरू वा कलेज वा युनिभर्सिटिमा पढाइने ज्ञान विज्ञानका कैयौँ विषयहरू आदि विदेशबाट नै आयात गरिएका विषयहरू हुन् । तर ती कारणहरूले तिनीहरूको औचित्य अस्वीकार गर्ने कुरा आउन्न । ठीक त्यही कुरा धर्मनिरपेक्षताका सन्दर्भमा पनि सत्य हो । त्यस प्रकारको विचार वा आन्दोलन देशभित्र पैदा भयो वा विदेशबाट आयात भयो भन्ने आधारमा होइन, त्यसको औचित्य आधारमा नै त्यो सही छ वा गलत छ भन्ने कुरा छुट्टाउनु पर्दछ ।

धर्म सापेक्षताको घाटा

धर्म सापेक्षताले विश्वस्तरमा नै कति धेरै नोक्सान पुर्‍याउने गरेको छ ? त्यो आम रूपमा थाहा भएको कुरा हो । अरब देशहरूमा अहिले पनि कैयौँ राज्यहरू धर्म सापेक्ष छन् । त्यसको परिणाम स्वरूप त्यहाँका कैयौँ कानुनहरू धार्मिक मान्यताहरूका आधारमा नै बन्दछन् र त्यस अनुसार नै त्यहाँ शासन पनि गर्ने गरिन्छ । त्यस सन्दर्भमा महिलाहरूमाथि कति व्यापक रूपमा नियन्त्रण वा उत्पीडन गरिन्छ ? व्यक्तिगत स्वतन्त्रतामाथि कति धेरै दमन गरिन्छ ? त्यो कुनै लुकेको कुरा होइन । तालिवान वा अन्य मुस्लिम कट्टरपन्थीहरूले महिलाहरूलाई सामान्य शिक्षा प्राप्त गर्ने अधिकारबाट पनि वञ्चित गर्ने गर्दछन् ।
मुस्लिम धर्म अनुसार नचलेमा उनीहरूको हत्या समेत गर्ने गरिन्छ । पश्चिम देशहरूमा जुन बेला राज्यमाथि चर्चको नियन्त्रण थियो, इसाई धर्मको कारणले आम जनतामाथि उत्पीडन र दमन गरिएका असङ्ख्य उदाहरणहरू छन् ।
राज्यलाई चर्चको नियन्त्रणबाट मुक्त गर्नका लागि चलेका सङ्घर्षहरूका कैयौँ महत्वपूर्ण उपलब्धिहरू भए । पहिले चर्चको सबै राज्यहरूमा नियन्त्रण थियो भनेपछि त्यो समाप्त हुँदै गयो । अहिले पनि संसारका कैयौँ देशहरू वा कैयौँ राज्यहरूमा इसाई धर्मको असर छ । तर राज्यहरूमाथि इसाई धर्मको नियन्त्रण समाप्त प्राय भएको छ । अर्को शब्दमा इसाई धर्मको नियम अनुसार राज्यका कानुनको निर्माण गर्ने वा कार्य सञ्चालन गर्ने कार्य करिब करिब बन्द जस्तै भएको छ ।
नेपालमा लामो समयसम्म राज्य धर्म सापेक्ष थियो र हिन्दू धर्मका आधारमा नै राज्यका कानुनहरू बने वा शासन प्रणालीको सञ्चालन हुने गरेको थियो । परिवारको व्यवस्था वा आचार संहिता आदिसम्बन्धी ऐन कानुनहरू धर्मका आधारमा नै बन्दथे । त्यसले गर्दा समाजलाई कति धेरै क्षति पुगेको थियो ? केही उदाहरणहरूको चर्चाले पनि त्यो कुरा प्रष्ट हुनेछ । सतीप्रथाका कारणले महिलाहरूको निर्मम हत्या गर्ने गरियो । कमारा-कमारी प्रथाको व्यवस्था अनुसार ठूलो सङ्ख्यामा निर्दोष मानिसहरूमाथि उत्पीडन गरियो । छुवाछूत प्रथाद्वारा समाजको एउटा ठूलो भागलाई उत्पीडित गरियो र त्यो कार्य अहिले पनि भइरहेको छ । महिलाहरूमाथि ठूलो पैमानामा भेदभाव गरियो वा उत्पीडन गरियो । तर विश्वमा र नेपालमा पनि आएको जनजागरणका कारणले राज्यमाथिको त्यस प्रकारको धार्मिक नियन्त्रण कम हुँदै गयो । यद्यपि, त्यसका कैयौँ अवशेषहरू अहिले पनि विद्यमान छन् ।
त्यसरी स्पष्ट छ कि आज जसरी सनातन हिन्दू धर्मको नाममा राज्यलाई धर्म सापेक्ष गराउने प्रयत्न गरिरहेका छन्, यदि त्यसरी नै हिन्दू धर्मलाई राज्यको धर्म बनाइयो भने त्यसले देशलाई अग्रगमन होइन अरू प्रतिगमन र पतनको दिशामा नै लैजाने कुरा प्रष्ट छ । सनातन हिन्दू धर्मले सबैभन्दा बढी जोड दिएको कुरा यो थियो कि राजा विष्णुका अवतार हुन् ।
त्यस प्रकारको पृष्ठभूमिमा राज्यलाई धर्म सापेक्ष बनाउनुको सबैभन्दा मुख्य बल राजतन्त्रलाई वा राजतन्त्रको पुनस्र्थापनालाई नै पुग्दछ । त्यसरी धर्म सापेक्षता वा हिन्दू राज्यको पुनस्र्थापना वास्तवमा राज्यलाई धर्मबाट अलग गर्नका लागि विश्वव्यापीरूपमा चलेका राजनीतिक वा सांस्कृतिक आन्दोलनहरूका उपलब्धिहरूलाई समाप्त गरेर पुनः देशलाई प्रतिगमनको दिशामा लैजाने प्रयत्न नै हो ।
नेपाल विभिन्न जाति, संस्कृति, भाषा वा धर्महरू भएको देश हो । यहाँ पहिले एउटै धर्म, संस्कृति वा भाषाको प्रभूत्व रहँदै आएको थियो । हिन्दू धर्म वा नेपाली भाषा बाहेक अन्य धर्म वा भाषाहरूसित समान व्यवहार गर्ने गरिएको थिएन । त्यसले गर्दा अन्य भाषा-भाषी वा धर्मावलम्बीहरू कुण्ठित हुने गरेका थिए । त्यो अवस्थामा धर्म निरपेक्षता देशको वस्तुस्थिति अनुसार कायम भएको सही प्रणाली हो । वास्तवमा धर्म निरपेक्षताले सबै धर्महरूलाई समान अवसर र स्वतन्त्रता दिन्छ । तर कुनै एक धर्म वा नेपालको सन्दर्भमा हिन्दू धर्मलाई राज्यको धर्म बनाइयो भने त्यसरी अन्य धर्महरूप्रति भेदभाव हुन जान्छ र त्यो अन्य धर्मावलम्बीहरूलाई चित्तबुझ्ने कुरा हुँदैन ।
त्यसबाट धार्मिक असहिष्णुता वा तनावको स्थिति पैदा हुन सक्दछ । त्यसरी राष्ट्रिय एकता वा राष्ट्रियतामा पनि गम्भीर आँच पुग्न सक्दछ । त्यसैले राज्यलाई हिन्दू धर्म सापेक्ष बनाउने कार्य खालि प्रतिगामी र पुनरुत्थानवादी कार्यमात्र होइन, त्यसले राष्ट्रिय एकता, सद्भाव वा राष्ट्रियतालाई समेत गम्भीर आँच पुर्यारउने कुरा निश्चित छ । जसले अहिले सनातन हिन्दूधर्मलाई राज्यको धर्म बनाउने कुरा गरिरहेका छन् उनीहरू पनि त्यो कुराबाट अनभिज्ञ छन् भन्ने होइन । तर उनीहरूको मुख्य उद्देश्य हिन्दूधर्मको संरक्षण त्यति होइन, जति कि राजतन्त्रको पुनस्र्थापना । उनीहरूको मुख्य रणनीति हिन्दू धर्मलाई हतियार बनाएर राजतन्त्रको पुनस्र्थापना गर्नु नै हो । उनीहरूले हिन्दू धर्मका पक्षमा चलाइरहेको अभियानको केन्द्रमा राजतन्त्र नै भएको कुरा बुझ्न गाह्रो पर्दैन ।
संसारमा धेरै प्रतिक्रियावादीहरूले धर्मलाई आफ्ना प्रतिक्रियावादी राजनीतिक उद्देश्यहरूको पूर्तिका लागि हतियारका रूपमा प्रयोग गर्ने गरेका छन् । ठीक त्यही कुरा अहिले हाम्रो देशमा पनि भइरहेको छ । त्यसरी हिन्दू धर्मको पक्षमा वा राज्यलाई धर्म सापेक्ष बनाउने उद्देश्यका पक्षमा चलिरहेको आन्दोलनको मुख्य उद्देश्य प्रतिगामी भएको कुरामा कुनै शङ्का रहन्न ।
भारतमा भारतीय जनता पार्टीको सरकार बनेपछि नेपालमा हिन्दू धर्मको पक्षको आन्दोलन अरू तीव्र बनेको छ । त्यस सन्दर्भमा नेपाली काङ्ग्रेसभित्र हिन्दू धर्मका पक्षमा चलेको आन्दोलन विशेष रूपले उल्लेखनीय छ । त्यसभित्रको एउटा पक्षले खुला रूपले नै राज्यलाई हिन्दू धर्म सापेक्ष बनाउनका लागि अभियान चलाइरहेको छ भने त्यसको नेतृत्व पंक्तिले त्यस प्रकारको अभियानका विरुद्ध कुनै कडा नीति अपनाएको देखिन्न । त्यसका पछाडि मोदी सरकार असन्तुष्ट हुने वा मोदी सरकारको अनुग्रहबाट वञ्चित हुने आशङ्काले उनीहरूमा काम गरेको ता होइन ? त्यो शङ्का गर्नका लागि ठाउँ छ । एमालेले पनि हिन्दू धर्मका पक्षमा देखा परेका गतिविधिहरूका विरुद्ध कुनै ठोस र स्पष्ट नीति अपनाएको देखिन्न । बताइरहनु पर्ने आवश्यकता छैन कि एमाले वा ने.का.भित्र हिन्दू धर्मका पक्षमा देखापरिरहेका गतिविधिहरूबारे स्पष्ट नीति नलिनुका पछाडि मोदी सरकारको प्रभावले नै काम गरेको छ । यहाँ यो उल्लेखनीय छ कि भारत स्वयं धर्म निरपेक्ष देश हो । त्यो अवस्थामा त्यहाँ कुनै बेला हिन्दू धर्मवादी राजनीतिक पार्टी सत्तामा आएको कारणले नै त्यस प्रति सम्झौतापरस्त नीति अपनाउनु अत्यन्त निम्न प्रकारको राजनीतिक सोचाइ हो । स्वयं भारतीय जनता पार्टीले भारतमा हिन्दू राज्यको स्थापना गर्ने दिशामा कुनै आवाज उठाउन सकेको छैन । त्यो अवस्थामा पहिले धर्मनिरपेक्षताको पक्षमा निर्णयलिने राजनीतिक शक्तिहरूले त्यसबारे दृढ र सम्झौताहीन प्रकारको नीति लिन नसक्नुले उनीहरूको अत्यन्त कमजोर र अवसरवादी राजनीतिक चरित्रलाई नै बताउँछ ।
धर्मनिरपेक्षतामा जोड दिनुको अर्थ कुनै धर्मको नै विरोध गर्नु होइन । त्यसको अर्थ खालि राज्य धर्मको प्रश्नमा तटस्थ हुने कुरामा जोड दिनु नै हो । राज्यले कुनै धर्मलाई विरोध गर्नु वा कुनै धर्मको पक्ष लिनु-दुवै कुराहरू धर्मनिरपेक्षताभित्र आउने कुराहरू होइनन् । यस सन्दर्भमा महात्मा गान्धीको भनाई उल्लेखनीय छ । उनले यो भनेका थिए : ‘मैले धर्मलाई मान्दछु र त्यसका लागि मर्न पनि म तयार छु । तर राज्यको त्यससित कुनै सम्बन्ध रहन हुन्न ।’ त्यसरी महात्मा गाँधी स्वयं धर्मालम्बी भएपनि राज्यलाई धर्मबाट अलग राख्नुपर्ने वा त्यसप्रति तटस्थ रहनुपर्ने कुरामा जोड दिएका थिए ।
त्यसरी भारतमा धर्मनिरपेक्षताको ठूलो जग बनेको छ । त्यसैले गर्दा आफ्नो कट्टर हिन्दूवादी दृष्टिकोणका बाबजुद मोदी सरकारलाई भारतमा हिन्दू धर्मलाई राज्यको धर्म बनाउने वा धर्मनिरपेक्षताको सिद्धान्तलाई बदल्नका लागि केही गर्नु सम्भव भएको छैन । जे काम उनीहरूले त्यहाँ गर्न सकेका छैनन्, उनीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष प्रकारले नेपाललाई हिन्दू राज्य बनाउन प्रयत्न गर्दैछन् । त्यहाँको सरकारले त्यसबारे खुला रूपले कुनै नीति नअपनाए पनि भारतीय जनता पार्टीसित सम्बन्धित कतिपय हिन्दूवादी सङ्गठनहरूले नेपाललाई हिन्दू राज्य बनाउन वा हिन्दू राजाका रूपमा राजतन्त्रको पुनस्र्थापनाका लागि खुला रूपले नै आवाज उठाउने वा नेपालका पुनरुत्थानवादी शक्तिहरूसित साठगाँठ गर्ने काम गरिरहेका छन् । मोदी पशुपतिनाथ वा जनकपुरमा पूजा गर्न जान्छन् भने त्यो उनको व्यक्तिगत आस्थासित जोडिएको कुरा हो । तर उनीहरूको असरमा परेर वा मोदी सरकारको अनुग्रह प्राप्त गर्नका लागि जुन तत्वहरूले नेपालमा हिन्दू राज्य बनाउने अभियान चलाइरहेका छन् त्यो गम्भीर रूपले आपत्तिजनक कुरा हो ।
धर्मनिरपेक्षताको अर्थ कुनै धर्ममाथि नियन्त्रण वा धार्मिक स्वतन्त्रतामा हस्तक्षेप गर्नु होइन । त्यस अनुसार नेपालका अन्य सबै धर्महरूलाई जस्तै हिन्दू धर्मावलम्बीहरूलाई पनि आफ्नो आस्था अनुसार धार्मिक कार्यहरू गर्ने अधिकार रहन्छ । तर धर्मको नाममा अन्य धर्मावलम्बीहरूको स्वतन्त्रतामा आघात पुर्याउने वा सामाजिक हितहरूमा कुठाराघात गर्ने कार्यलाई कुनै पनि अवस्थामा सही र न्यायोचित भन्न सकिन्न । राज्य धर्मनिरपेक्ष हुनुपर्दछ भन्नुको अर्थ यो पनि हो कि त्यसले (राज्यले) धर्मका नाममा गरिने त्यस प्रकारका सबै प्रकारका अन्याय र अत्याचारहरूलाई रोक्नु पर्दछ । त्यसरी नै सबै धर्महरूको धार्मिक स्वतन्त्रता सुरक्षित रहन सक्दछ ।
जस्तो कि माथि बताइयो, देशमा सनातन हिन्दू धर्मलाई राज्यको धर्म बनाउने कार्य, प्रथम, जनताको व्यापक हितमा छैन । सनातन हिन्दू धर्मले ऐतिहासिक कालदेखि नै जनताका विभिन्न समूहमाथि जसरी निर्मम र अमानवीय प्रकारका अत्याचारहरू गर्दै आएको छ र अहिले पनि एक वा अर्को प्रकारले त्यस प्रकारका कार्यहरूलाई बल पर्‍याउने र कायम राख्ने कार्यहरू गरिरहेको छ, त्यो अवस्थामा सनातन हिन्दू धर्मलाई राज्यको धर्म बनाउनुको परिणामस्वरूप समाजमा धर्मको नाममा हुने सबै अन्याय र उत्पीडनहरू कायम रहने नै सम्भावना रहने छ । द्वितीय, कुनै एउटा धर्म, जस्तै कि हिन्दू धर्मलाई राज्यको धर्म बनाउनुको परिणामस्वरूप अन्य धर्मावलम्बीहरू असन्तुष्ट हुने र त्यसरी देशमा धार्मिक द्वन्द्वको स्थिति उत्पन्न हुने सम्भावना रहने छ । त्यसबाट राष्ट्रिय एकता र सद्भाव धेरै नै खल्बलिने सम्भावना रहने छ । तृतीय, राजतन्त्र र त्यसको निरङ्कुश शासनको पुनस्र्थापनाका लागि बल पुग्नेछ ।
देशमा राजतन्त्रको परिणामस्वरूप इतिहासमा जसरी व्यापक रूपमा दमन हुने गरेको छ, ठूलो पैमानामा राष्ट्रिय सम्पत्तिको दुरूपयोग र भ्रष्टाचार हुने गरेको छ, गम्भीर प्रकारका काण्डहरू हुने गरेका छन् वा व्यक्तिगत स्वतन्त्रता र प्रजातन्त्र समेतमाथि साङ्घातिक हमला हुने गरेको छ, तिनीहरूमाथि विचार गर्दा राजतन्त्रको पुनस्र्थापनाले देशलाई प्रतिगमनतिर नै लैजाने कुरा स्पष्ट छ र अहिले हिन्दू धर्मलाई राज्यको धर्म बनाउनुको मुख्य उद्देश्य पनि त्यही नै हो ।

उक्त सबै प्रकारका नकारात्मक सम्भावनाहरूलाई रोक्नका लागि धर्मनिरपेक्षताका विरुद्ध हिन्दू धर्मलाई राज्यको धर्म बनाउने प्रयत्नहरूका विरुद्ध व्यापक जनजागरण ल्याउनुपर्ने वा आन्दोलन सङ्गठित गर्नुपर्ने आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment