Comments Add Comment

बुद्धका मूर्तिदेखि पाकिस्तानी छालासम्म (फोटो फिचर)

Hastakala Mela (6)

४ मंसिर, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि सार्क हस्तकला प्रर्दशनी सुरु भएको छ । सार्क राष्ट्रहरुको सहभागिता रहेको मेलाको उदघाटन उद्योग मन्त्री महेश बस्नेतले गरे ।

प्रर्दशनीमा सार्क राष्ट्रहरुले आ-आफ्नो देशमा उत्पादित हस्तकलाका सामाग्री प्रर्दशनी तथा बिक्रीमा राखेका छन् । प्रर्दशनीमा ६ वटा प्याभिलियन सहित २ सय ९ वटा स्टल रहेका छन् । प्रर्दशनीमा भुटान, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंकालगायत सार्क राष्ट्रका ४० वटा स्टल रहेका छन् । बाँकी नेपाली स्टलहरु छन् ।

पाकिस्तानका व्यवसायीले छालाबाट निर्मित ज्याकेट, ब्याग, बेल्टलगायतका वस्तुहरु प्रर्दशनी र बिक्रीमा राखेका छन् । भारतबाट हस्तनिर्मित लत्ताकपडा, सजावटका सामाग्री प्रर्दशनीमा राखिएको छ । बंगलादेश र भुटानले पनि आ-आफ्नो देशमा उत्पादित कपडा, ब्याग, सजावटका सामाग्रहरु प्रर्दशनीमा राखेका छन् ।

नेपालका व्यवसायीले पस्मिनाका कपडाहरु, उनी तथा अल्लोका कपडाहरु, छाला जुत्ता-चप्पल, सजावटका सामाग्री, भगवान तथा मठमन्दिरका मुर्तिहरु, काठका समाग्रीहरु, सुनचाँदीका गरगहना लगायतका हस्तनिर्मित वस्तुहरु प्रर्दशनी तथा बिक्रीमा राखेका छन् ।

मेला उदघाटन समारोहलाई सम्बोधन गर्दै उद्योगमन्त्री बस्नेतले हस्तकला व्यवसायले मुलुकमा रोजगारी सिर्जना गरी गरिवी निवारणमा ठूलो सहयोग पुर्‍याउँदै आएको बताए । उनले हस्तकलाको निर्यातको प्रशस्त सम्भावना रहेको बताउँदै यस क्षेत्रको विकासमा सरकारले सहयोग गर्ने आश्वासन दिए ।

हस्तकलाको विकास गर्न पाँच विकास क्षेत्रमा एक/एकवटा हस्तकला ग्राम र काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको प्रर्दशनीस्थल निर्माण कार्यलाई अगाडि बढाएको मन्त्री बस्नेतको भनाइ थियो ।

Hastakala Mela (7)

मेलाले खरिदकर्ता र आपूर्तिकर्तालाई एउटै फोरममा भेला गराएर बजार प्रवर्द्धनमा सहयोग पुर्‍याएको बस्नेतले बताए । उनले चाँडै नै औद्योगिक व्यवसाय ऐन कार्यान्वयनमा आउने दाबी गर्दै यसलाई छिटो पारित गर्न आवश्यक गृहकार्य भइरहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले मुलुकमा हस्तकला ग्राम निर्माण गर्न सकेमा यस क्षेत्रको विकास तथा प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । अहिले उद्योग मन्त्रालयले जुझारु र उद्योग व्यवय बुझेको मन्त्री पाएको बताउँदै उनले औद्यागिक विकासमा महेश बस्नेतले उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रर्दशनी आयोजक नेपाल हस्तकला महासंघका अध्यक्ष हेमरत्न शाक्यले विश्व बजारमा सार्क क्षेत्र हस्तकलाको लागि महत्वपूर्ण क्षेत्रका रुपमा रहेको बताए । हस्तकलाको उत्पादन बढाई निर्यात बढाउन सकेमा यस क्षेत्रमा रोजगारी अभिवृद्धि र गरिवी निवारणमा ठूलो योगदान पुग्ने उनको भनाइ थियो ।

नेपाली हस्तकला सामाग्रीको निकासी बढाउन आवश्यक पर्ने पूर्वाधारहरु निर्माण र निकासीकर्ताहरुलाई दिइने सुविधा बढाउनुपर्नेमा अध्यक्ष शाक्यले जोड दिए । यस्ता सुविधाहरुमा प्रतिस्पर्धात्मक नगद प्रोत्साहन, सहुलियत ब्याजमा ऋण, अन्तर्राष्ट्रिय मेलामा सहभागिता आदि रहेका छन् ।

Hastakala Mela (23)

सरकारले व्यवसायीहरुलाई सुविधा बढाइदिएमा आगामी आर्थिक वर्षमा हस्तकलाको निकासी कम्तिमा २० प्रतिशत वृद्धि गरी ६ अर्बको हाराहारीमा पुर्‍याउन सकिने शाक्यको भनाइ थियो । गत आर्थिक वर्षमा नेपालबाट ५ अर्ब रुपैयाँ बराबरको नेपाली हस्तकला निर्यात भएको थियो ।

निर्यात र आन्तरिक खपत गरी वर्षमा २५ अर्ब रुपैयाँ बराबरको हस्तकलाका सामाग्रीहरुको कारोबार हुने गरेको व्यवसायीहरुको दाबी छ । अहिले यस क्षेत्रमा प्रत्यक्ष ५ लाख र अप्रत्यक्ष ५ लाख गरि करिव १० लाख व्यक्तिहरुले रोजगारी पाइरहेका छन् ।

प्रर्दशनीमा नेपालका २५ भन्दा बढी जिल्लाका सामानहरु राखिएको छ । साथै, प्रर्दशनीमा ४० जना शिल्पकारहरुको पनि सहभागिता रहेको छ ।

सोही अवसरमा आर्थिक वर्ष ०७०/०७१ मा ५ करोड रुपैयाँभन्दा बढीको हस्तकला निर्यात गर्ने उत्कृष्ट निकासीकर्तालाई उद्योगमन्त्री बस्नेतको हातबाट ट्रफी र सम्मानपत्र प्रदान गरिएको थियो ।

Hastakala Mela (1) Hastakala Mela (2) Hastakala Mela (3) Hastakala Mela (4) Hastakala Mela (5) Hastakala Mela (8) Hastakala Mela (10) Hastakala Mela (11) Hastakala Mela (13) Hastakala Mela (24)

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment