Comments Add Comment

अर्थमन्त्रीले भने- एयरपोर्ट बनेपछि पोखरा विश्वकै सुन्दर पर्यटकीय शहर बन्नेछ

Pokhara-mela

४ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्षेत्रिय विमानस्थल निर्माण हुने पक्का भइसकेको बताएका छन् । विमानस्थल बनेपछि पोखरा विश्वकै सुन्दर पर्यटकीय शहर बन्नुका साथै अन्तर्राष्ट्रिय गन्तव्य स्थल बन्ने उनको भनाई थियो ।

बिहीबार पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै अर्थमन्त्री महतले विमानस्थल निर्माण पश्चात पोखरा पर्यटकीय स्थलमात्र नभई स्वास्थोपचार, शैक्षिक तथा खेलकुदको केन्द्र बन्नुपर्ने बताए ।

अर्थमन्त्री महतले पोखराका साथसाथै भैरहवामा पनि अन्तर्राष्ट्रिय स्तरको क्षेत्रिय विमानस्थल निर्माण अगाडी बढेको हुँदा मुलुकलाई समुन्नतीतर्फ जान कसैले पनि रोक्न नसक्ने ठोकुवा गरे ।

पछिल्लो समय नेपालले क्रिकेटमा राम्रो प्रगती गर्दै गइरहेको उल्लेख गर्दै अर्थमन्त्री महतले नेपाल क्रिकेटको सेन्टर बन्नुपर्ने बताए । ‘काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बन्दैछ’ उनले भने- ‘पोखरा र भैरहवामा पनि त्यस्तो मैदान बन्नुपर्छ ।’ क्रिकेटको माध्यमबाट पनि मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने उनको भनाई थियो ।

नेपालमा अहिले ६ अर्ब रुपैयाँ भन्दा बढी व्यापार घाटा रहेको बताउँदै महतले कृषि, पर्यटनको माध्यमबाट व्यापार घाटा कम गराउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

सभाषद यज्ञ बहादुर थापाले पोखरामा लगानीको वातावरण सिर्जना भएको बताए । त्यस्तै, अर्का सभासद् एवं संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले अबको समय कुरा भन्दा पनि काम गरेर देखाउने भएको बताए ।

उद्योगी आनन्दराज मुल्मीले पोखराको पर्यटन विकासका लागि सार्क सम्मेलनमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पोखरा ल्याउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

मेलामा औद्योगिक तथा व्यापारिक, हस्तकला, कृषि, पूष्प, अटो, सूचना-प्रविधि, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्था, स्थानीय कला र संस्कृति झल्कने स्टल लगायत दैनिक उपभोग्य वस्तु, घरायसी सर-सामान, लत्ताकपडा, श्रृंगारका  सामानसहितका २९५ वटा स्टलहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment