Comments Add Comment

एमाओवादी र मधेसवादी दलद्वारा जनकपुर बन्द

फाइल फाेटाे
फाइल फाेटाे

राजकमल सिंह
५ मंसिर, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द गरिएपछि २२ दलीय संघीय गणतान्त्रिक मोर्चा सहित स्थानीयवासीले आज जनकपुर बन्द गराएका छन् । सरकारी षडयन्त्रको कारण मोदीको भ्रमण रद्द भएको दाबी सहित  एकीकृत नेकपा माओवादीको नेतृत्वमा बन्द गरिएको हो ।

बन्दका कारण जनकपुर सहित मध्य तराईको जनजीबन प्रभावित भएको छ । जनकपुरबाट चल्ने छोटो तथा लामो दूरीका यातायातका साधन ठप्प छन् भने उद्योग, कलकारखाना, शिक्षण संस्था र पसल पूर्ण रुपमा बन्द छन् ।

सार्क शिखर सम्मेलनको क्रममा भारतीय प्रधानमन्त्री मोदी नेपाल-भारत सिमानाका हुदै मंसिर ९ गते जनकपुर आउने कार्यक्रम तय भएको थियो । जनकपुरमा नागरिक अभिनन्दन कहाँ गर्ने भन्नेमा प्रमुख राजनीतिक दलहरुबीच विवाद भएपछि भारतीय राजदूतावासले मोदीको भ्रमण रद्द भएको जानकारी गराएको थियो ।

मोदीलाई जनकपुरमा स्वागत गर्ने जिम्मा पाएका यातायात मन्त्री विमलेन्द्र निधिले विज्ञप्ति निकालेर २२ दलीय मोर्चाको विरोधका कारण मोदीको भ्रमण रद्द हुनु दुःखद भएको बताएका थिए । जनकपुरसहित सार्क शिखर सम्मेलन पछि हुने भनिएको लुम्विनी र मुक्तिनाथ जाने मोदीको कार्यक्रम पनि रद्द भएको छ ।

तर बन्दकर्ताहरुले मोदीलाई जनकपुर भ्रमण गराउनुपर्ने माग गर्दै बन्द आह्वान गरेका छन् । बन्दकर्ताहरुले मोटरसाईकल जुलुस प्रदर्शन गदैं पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको ढल्केवरमा समेत चक्काजाम गरी यातायात आवगमनमा रोक लगाएका छन् । जसको कारण जनकपुर सहित धनुषा, महोत्तरी, सर्लाही, सिरहा लगायतका जिल्लाहरुको जनजीबन प्रभावित बनेको छ ।

मोदीको जनकपुर भ्रमण स्थगित गरिएपछि संघीय गणतान्त्रिक मोर्चाले हिजो साँझदेखि नै विरोध प्रदर्शन गर्दै शुरू गरेको थियो । आन्दोलनकारीहरुले प्रधानमन्त्री सुशील कोइराला, गृहमन्त्री वामदेव गौतम तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीको पुत्लासमेत जलाएका थिए ।

मोदीको जनकपुर भ्रमण रद्द गरिनु सरकारी षड्यन्त्र भएकोले आन्दोलनमा उत्रिनु परेको २२ दलीय मोर्चाका संयोजक तथा एमाओवादी नेता झलकु यादवले बताए ।

यता, मोदीको भ्रमण रद्द पश्चात देखिएको जनकपुरको गतिविधिलाई लिएर सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।

यो पनि पढ्नु होस्
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment