Comments Add Comment

मोदीलाई साक्षात रामअवतार मान्ने को-को ?

मात्रिका पौडेल/टिप्पणी

५ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण स्थगनको अन्तर्य जेसुकै भए पनि सतहमा देखिएको कुरा एउटै हो ‘रामजानकी मन्दिरमा मोदीको भक्तिभाव कसले बढी गर्ने भन्ने होडबाजीको निर्लज्ज प्रहसन’ सुरु भएको छ ।

matrika-poudel
मात्रिका पौडेल

मोदी कुनै धार्मिक समूहका नेता वा विदेशी विज्ञ वा प्रवचक होइनन् । न उनी कुनै बाबाजी नै हुन् । छिमेकी देशका प्रधानमन्त्रीको औपचारिक वा अनौपचारिक राजनीतिक भ्रमणको सबै चाँजोपाँजो मिलाउने दायित्व सरकारको हो । उनलाई कुन ठाउँमा भ्रमण गराउने वा कहाँ नगराउने भन्ने निर्णय गर्ने अधिकार पनि सरकारलाई मात्र थियो र छ ।

यसबीच जनकपुर, लुम्बिनी र मुक्तिनाथमा मोदीको स्वागतका लागि पूर्वाधारदेखिका सबै तयारी भइरहेका बेला जनकपुरमा विपक्षी दलका नाममा जुन हर्कतहरु भए, ती हर्कत कुटनीतिक मर्यादाको धज्जी उडाउने अराजकतापूर्ण केटौले क्रियाकलाप थिए ।

शुरुमा मोदीलाई जनकपुरमा कसले स्वागत गर्ने भन्नेमा सरकारका तीन मन्त्रीबीचमै हानाथाप भयो । मानौं मोदी यो मुलुकका मुक्तिदाता हुन् र उनको चरणकमलमा पहिलोपटक स्पर्श गर्न पाउने व्यक्ति नै ‘अहो भाग्यशाली’ हो भन्नेखालको मानसिकता थियो त्यो ।

दुई उपप्रधानमन्त्रीलाई उछिन्दै जनकपुरकै बासिन्दा र भारत वर्षका ज्वाइँ भौतिक पूर्वाधार मन्त्री विमलेन्द्र निधीले मोदीको मानसम्मान गर्ने मौका पाए । भौतिक पूर्वाधार मन्त्री हुनु समेतको फाइदा उठाउँदै निधीले जनकपुरको पूर्वाधार निर्माणका लागि पनि थोरबहुत पैसा लगे ।

मोदीको जनकपुर कार्यक्रम यस्तो थियो कि, मानौं उनी जनकपुरमा चुनाव लड्नका लागि आउँदै छन् । बाह्रबिघा मैदानमा हजारौं नेपाली जनता जम्मा गरेर भाषण गर्ने, साइकल बाँड्ने र आफ्ना अनुयायीलाई आशिर्वाद दिने..आदि आदि ।

एमालेको चतुर्‍याइँ

नेपाली राजनीतिमा चलाखीको पर्याय बनेको नेकपा एमालेले चतुर कुटनीतिक शैलीमा राज्य व्यवस्था समितिको बैठकमा मोदीको सार्वजनिक भाषण र साइकल बाँड्ने कार्यक्रमबारे अकाट्य आपत्ति जनायो । अन्ततः एमालेको कुटनीति सफल भयो र मोदीको भाषण रामजानकी मन्दिरभित्रै सीमित गरियो । साइकल उनले होइन, प्रमुख जिल्ला अधिकारीले बाँड्ने भनियो ।

एमालेको सफलतापछि मोदीका भक्तजनहरुमा भने आक्रोशको ज्वाला दन्कियो । यदि मोदीलाई मन्दिरभित्रै सीमित गरिए उनको चरणकमलमा शाष्टाङ्ग दण्डवत गर्न पाउने भाग्यशाली मनुवाहरु छाँटिने निश्चित थियो । त्यसपछि मोदीलाई सत्तापक्ष र प्रतिपक्ष कसको कित्तामा ल्याउने भन्ने कुरुप नाटकको रिहर्सल शुरु भयो ।

भारतको रासनकार्ड बोकेका, सर्वोच्चमा नागरिकता मुद्दा खेपिरहेका र गौर हत्या काण्डको बात लागेपछि एमाओवादीमा लागेर एमाओवादीकै बेइज्जत गरिरहेका केही नेताको नेतृत्वमा विपक्षी दलहरुको एउटा झुण्ड वीरगञ्जथित भारतीय कन्सुलर कार्यालयमै गएर ‘ख्वामितको दर्शन बाह्रबिघा मैदानमै गर्न पाउँ’ भन्दै बिन्तीपत्र हाल्ने काम भयो ।

त्यही टोलीले सिडिओ कार्यालयमा गएर ज्ञापनपमात्र बुझाएन, महानानव मोदीको साक्षात दर्शन गर्न नपाए सुरक्षा घेरा तोड्ने र बाह्रबिघामा समानान्तर कार्यक्रम आयोजना गर्ने धम्कीसमेत दियो ।

NARERNDRA MODI
नरेन्द्र मोदी

यसबीच मोदीका हकवाला अरु पनि निस्किए जनकपुरमा । अधोध्याबाट जन्तीसहित आउन लागेका मोदीलाई साक्षात राम अवतार ठान्ने दास मानसिकताको विद्रूप दृश्य जनकपुरमा देखियो । जहाँ नेपाली स्वाभिमान छिया छिया भएर फालिएको थियो ।

नेपाल भारत सम्बन्धको मानक, सीताको माइतीघर तथा रामजानकी मन्दिरमा धार्मिक उद्देश्यले आउन लागेका मोदीलाई साक्षात राम मानेर कसले बढी तपस्या गरी प्रशन्न बनाउने भन्ने निर्लज्ज प्रतिस्पर्धा देखिएपछि सायद मोदीको टिमले लज्जा महसुस गर्‍यो । त्यसपछि भ्रमण नै स्थगन गर्ने अनौपचारिक सूचना प्रवाह गरिएको हुनुपर्छ ।

अठारौं सार्क शिखर सम्मेलनको मौका पारेर मोदीले नेपालका तीन प्रमुख धार्मिक स्थलको तीर्थाटन गर्न चाहेका थिए । उनको चाहना अनुसार सरकारले ऐतिहासिक धार्मिक नगरी जनकपुर, बुद्ध जन्मस्थल लुम्बिनी र हिन्दू तथा बौद्ध धर्मावलम्बीका साझा शक्तिपीठ मुक्तिनाथको भ्रमणको प्रबन्ध मिलाएको थियो ।

लुम्बिनी र मुक्तिनाथमा कुनै विवाद छैन । त्यहाँ कसले मोदीको पूजा आराधना गर्ने भन्ने प्रतिस्पर्धा पनि छैन । सायद ती दुई ठाउँमा धर्म निरपेक्षता लागु भइसकेर होला । तर, जनकपुरका ‘राजनीतिक धर्मभीरु’हरुले कुटनीतिको सुरुवाल खोलेर नेपालको इज्जत प्रतिष्ठाको चीरहरण गरेकाले लुम्बिनी र मुक्तिनाथले पनि यसको सजायँ भोग्लान् ।

सार्कको मौकामा श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षेले पनि लुम्बिनी भ्रमण गर्ने कार्यक्रम तय भइसकेको छ । अन्य राष्ट्रध्यक्ष तथा उनका परिवारले उपत्यकाका मठ मन्दिर, पर्यटकीय केन्द्रहरुको भ्रमण र किनमेल गर्ने कार्यक्रम पनि तय भइसकेको छ । त्यसैगरी धुलिखेलमा सार्कका सबै नेताहरुको रिट्रिटको कार्यक्रम पनि विवादमा छैन ।

आखिर मोदीकै नाममा जनकपुरमा किन यस्तो घीनलाग्दो खेल खेलियो त ? यो प्रश्न त अनुत्तरित नै छ । तर एउटा कुरा के प्रष्ट छ भने,नेपालमा रहेको भारतविरोधी भावनालाई कम गर्न र आफ्नो प्रभाव बढाउन हिन्दू कट्टरपन्थी नेता नरेन्द्र मोदीले जुन छडी चलाए, त्यसको तेजबाट उनका केही अनुयायीहरु हर्षले पागल भए । त्यही पागलपनको नजिता हो, मोदीको तीर्थाटन स्थगनको अवस्था आउनु ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भनेजस्तै मोदीको जनकपुर भ्रमण स्थगन भएको हो भने त्यो सकारात्मक कुरा हो । जुनसुकै कारणले स्थगित भए पनि मोदीले जनकपुरमा जे गर्न खोज्दै थिए, वा जे गराउन खोजिँदै थियो, त्यो एउटा सार्वभौम मुलुकका लागि सैहृय कुरा थिएन । गीता सारमा भनिएजस्तै जे भयो ठिकै भयो, जे हुनेवाला छ, त्यो पनि ठिकै होला ।

जनकपुरका जनताको चिन्ता जायज

यो कुरा निश्चित थियो कि नरेन्द्र मोदीले जनकपुरको भ्रमण गर्दा त्यस ठाउँको अन्तरराष्ट्रिय प्रचार एवं महत्व बढ्ने निश्चित थियो । यसले गर्दा जनकपुरको धार्मिक एवं पर्यटकीय विकासमा फाइदा पुर्‍याउने पनि निश्चित थियो । यही कारणले जनकपुरवासीले मोदीको भ्रमणलाई उत्साहका साथ हेरेका थिए ।

तर, जनकपुरका जनताको चाहनामाथि चिसो पानी खन्याउने र मोदीको भ्रमणलाई विवादमा तान्ने काम कसले गर्‍यो ? जसले मोदीलाई स्वागत गर्ने सरकारी कार्यक्रमको विरोध गर्दै २२ दलका नाममा बितण्डता मच्चायो, तिनै नेताका कारण आज जनकपुरवासीले एउटा राम्रो अवसर गुमाउने स्थिति बन्यो । तर, यसमा नेपाल सरकारको विरोध गर्दै बन्द र हडतालको अर्को जुन प्रहसन थालिएको छ, यसले जनकपुरको भलाइ हैन, थप बदनाम गर्ने सम्भावना छ ।

अबको आवश्यकता जनकपुरमा टायर बाल्ने होइन, जानकी विवाह महोत्सवको सफलताका लागि शान्तिको धूप जलाइनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment