Comments Add Comment

प्रेस युनियन चितवनका अध्यक्षमाथि आक्रमण

५ मंसिर, चितवन । प्रेस युनियन चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीलाई साङ्घातिक आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही गर्न पत्रकार सम्बद्ध संघ संगठनले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

हाम्रो एफएमका स्टेशन म्यानेजर समेत रहेका अधिकारीलाई विहीबार साँझ अपरिचित समूहले आक्रमण गरेको थियो । दायाँ हातमा चोट लागेका अधिकारीको भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।

कार्यालयको काम सकेर घरतर्फ जाँदै गर्दा अल्फाबेट नखुलेको ८५५४ नम्बरको रातो पल्सरमा आएका दुई जना व्यक्तिले भरतपुर ११ मुक्तिनगरमा अधिकारीलाई आक्रमण गरेका थिए ।

नेपाल पत्रकार महासंघ चितवनको नेतृत्वमा शुक्रबार जिल्ला प्रशासन कार्यालय पुगेका पत्रकारहरुको टोलीले प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकेलाई भेटेर आक्रमणकारीलाई कारवाहीको दायरामा ल्याउन ध्यानाकर्षण गराएका हुन् ।

प्रमुख जिल्ला अधिकारी विकेले दोषिलाई कारवाही गर्ने प्रतिबद्धता जनाउँदै जिल्लाको शान्ति सुरक्षा थप मजबुत बनाउने बताएको पत्रकार महासंघ चितवनका सचिव गोविन्द घिमिरेले जानकारी दिए ।

ज्ञापनपत्र बुझाउन चितवन-गैंडाकोट रेडियो प्रसारक संघ का अध्यक्ष भोजराज कौडेल, प्रेस चौतारी नेपाल नारायणी अञ्चल संयोजक तिलक रिमाल, क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य चिन्तामणि पौडेल, क्रान्तिकारी पत्रकार महासंघका उपाध्यक्ष प्रकाश ज्ञवाली, स्वतन्त्र पत्रकार संघका अध्यक्ष सूर्यप्रकाश कँडेल, रिपोर्टर्स क्लब चितवनका अध्यक्ष राजु चौधरी जिल्ला प्रशासन कार्यालय गएका थिए ।

नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी चितवनका नेताहरुले पनि संयुक्त विज्ञप्ति निकालेर आक्रमणकारीलाई कारवाही गर्न प्रशासनसँग माग गरेका छन् । त्यस्तै साप्ताहिक सञ्जाल चितवनले पनि घटनाको भर्त्सना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment