Comments Add Comment

व्याकुल माइलाले माग्दै हिँडेको ठीक लागेन : मोदनाथ प्रश्रित

BYAKUL-MAILA६ मंसिर, काठमाडौं । राष्ट्रिय गानका सर्जक ब्याकुल माइलालाई राज्यसँग मासिक २५ हजार रुपैयाँ माग्दै हिँडेको आफूलाई ठीक नलागेको साहित्यकार मोदनाथ प्रश्रितले बताएका छन् ।

राष्ट्रिय गानका लेखक ब्याकुल माइलाले आफूलाई जीवन धान्न गाह्रो भएको भन्दै टेलिभिजनको अन्तरवार्तामा आँसु झारेपछि सरकारले हालै उनलाई मासिक २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

माइलाले विभिन्न निकायमा अनुनय विनय गर्दै निवेदन दिएपछि सरकारले उनलाई यस्तो सुविधा दिने निर्णय गरेको हो । तर, राष्ट्रिय गानका लेखकले त्यसरी रुँदै हिँड्नु स्वाभिमानी सर्जकलाई नसुहाउने प्रश्रितको तर्क छ ।

‘सरकारले आफैं दिनु बेग्लै कुरा हो, तर उनी सार्वजनिक भाषण गरेर माग्दै हिँडे, कतिपय ठाउँमा निवेदन पनि दिए,’ प्रश्रितले ब्याकुल माइलाको आलोचना गर्दै भने-‘राष्ट्रिय स्वाभिमानको गीत लेख्ने मान्छेले आफू पनि स्वाभिमानमा बस्न सक्नुपर्छ । मलाई उनको यो कार्य राम्रो लागेन ।’

Modnath-prasit
मोदनाथ प्रश्रित

राष्ट्रिय गान नै राज्यको सम्मान

व्याकुल माइलाले राज्यबाट केही पाइएन भन्दै गुनासो गर्नु बेकार रहेको भन्दै प्रश्रित भन्छन्-‘उनले लेखेको गीतलाई राष्ट्रिय गानको मान्यता दिनु नै राज्यले उनीमाथि गरेको सबैभन्दा ठूलो सम्मान हो । यति ठूलो सम्मान पाइसकेपछि राज्यले पैसा दिनुपर्छ भन्दै हिँड्नु लाजमर्दो कुरा हो ।’
चर्चित साहित्यकार एवं संस्कृतिविद समेत रहेका प्रश्रितले राष्ट्रिय गान छनोट समितिमा समेत जिम्मेवारी निर्वाह गरेका थिए । त्यसबेला करिब तीन सयवटा गीतमध्येबाट व्याकुल माइलाको गीत छानिएको प्रश्रितले बताए ।
‘तर, यो गीत व्याकुल माइलाले मात्रै लेखेका हैनन्, प्रश्रितले भने, हामीले पनि केही शब्द थपिदिएका हौं, अन्तिमको अग्रगामी शब्द मैले थपेको हुँ ।’

राज्यले अरुलाई पनि पैसा दिनुपर्छ : मुकारुङ

राष्ट्रिय गान छनौट समितिमा रहेर काम गरेका अर्का स्रष्टा श्रवण मुकारुङले भने सरकारले स्रष्टालाई यसरी पैसा दिनु राम्रो कार्य भन्दे सरकारलाई धन्यवाद दिए ।

श्रवण मुकारूङ
श्रवण मुकारूङ

‘यो एकदम राम्रो काम हो, राज्यले यसरी स्रष्टालाई सम्झनु राम्रो कुरा हो,’ मुकारुङले अनलाइनखबरसँग भने,’तर, अरु पनि धेरै स्रष्टाहरु छन्, उनीहरुलाई पनि राज्यले यसैगरी सम्झनुपर्छ ।’

संस्कृतिविद सत्य मोहन जोशीको विचारमा पनि व्याकुल माइलालाई राज्यले मासिक २५ हजार दिनु सकारात्मक कार्य हो । ‘राज्यले दिएकोमा प्रश्न उठाउन आवश्यक छैन, यो राम्रो काम हो ।’

‘राज्यले रोजगारी दिएको भए हुन्थ्यो’

हरिगाेविन्द लुइँटेल
हरिगाेविन्द लुइँटेल

साहित्यकार एवं लेखक हरिगोविन्द लुईटेलको विचारमा व्याकुल माइलालाई राज्यले कुनै रोजगारी दिनु उपयुक्त हुन्थ्यो । साझा प्रकाशन वा एकेडेमीमा कुनै भूमिका दिएर त्यसवापत राज्यले उनलाई पारितोषिक दिएको भए राम्रो हुने लुइँटेलको भनाइ छ ।

‘राष्ट्रिय गानका सर्जक भोकै हिँड्नुपर्ने एउटा ‘अति’बाट राज्य अर्को ‘अति’मा गयो, लुईँटेलले अनलाइनखबरसँग भने-‘अहिले वृत्ति प्रदान गरेजस्तो भयो, तर यो वृत्तिसँगै राज्यले उहाँबाट यो काम लिँदैछ भन्ने भएको भए विवाद आउने थिएन ।’

अन्तर्राष्ट्रिय प्रचलन हेर्नुहोस्ः माइला
सरकारले दिएको वृत्तिका विषयमा सर्जक व्याकुल माइलाले अनलाइनखबरसँग भने-‘राष्ट्रिय गानका लेखकलाई राज्यले कस्तो व्यवहार गर्छ भन्ने अन्तर्राष्ट्रिय ‘प्राक्टिस’समेत हेरिनुपर्छ ।’
सरकारले दिएको रकम धेरै भयो या थोरै भयो भन्ने विषयमा उठेका सबै प्रतिक्रियाको आफूले जवाफ दिइरहन आवश्यक नभएको माइलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment