Comments Add Comment

सार्कका पाहुनालाई रक्सीमा १५ प्रतिशत छुट, भीभीआईपीको खाना जाँच्न विज्ञको टोली

Saarc_Sumit_Nepal

७ मंसिर, काठमाडौं । सार्क सम्मेलनमा आउने विशिष्ट पाहुनाका लागि सरकारले उच्च गुणस्तरका ड्युटी फ्री (भन्सार छुट) मदिरामा विशेष छुट दिने भएको छ। विशिष्ट पाहुन र राजधानीस्थित कूटनीतिक नियोगका अधिकारीलाई उच्चस्तरका मदिरा खरिदमा सरकारले १५ प्रतिशत छुट दिन लागेको हो।

नेसनल ट्रेडिङ लिमिटेडले विशिष्ट पाहुनाका लागि शनिबारदेखि आगामी सोमबारसम्म यो छुटको व्यवस्था गरेको छ। यसअघि ड्युटी फ्रीमा आएको मदिरा सोही सुविधाअन्तर्गत रकम लिएर उपलब्ध गराउने व्यवस्था रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।

नेसनल ट्रेडिङका निमित्त महाप्रबन्धक सत्यनारायण मेहताले भने, ‘सार्क सम्मेलनमा आउने विशिष्ट पाहुनाका लागि विशेष व्यवस्था गरिएको हो। यस्तो छुट सम्मेलनमा सहभागी हुन आएका पाहुना तथा कूटनीतिक नियोगका पदाधिकारीले मात्रै पाउनेछन्।’

नेसनल ट्रेडिङले यस्तो सुविधा रामशाहपथस्थित ‘बन्डेड वेयर हाउस तथा ड्युटी फ्री सप सेन्टर’ मार्फत उपलब्ध गराउनेछ।

उनका अनुसार पाहुनालाई मदिराको अभाव हुन नदिन उनीहरूले बढी रुचाएका र महँगा विभिन्न ब्रान्डका मदिरा मगाइएको छ। विशिष्ट पाहुनाका लागि खाडी मुलुक दुबईबाट उच्चस्तरका मदिरा ‘अर्डर’ गरिएको निमित्त महाप्रबन्धक मेहताले बताए।

भीभीआईपीको खाना जाँच्न विज्ञको टोली

 शिखर सम्मेलनमा सहभागी हुने सार्क मुलुकका आठै राष्ट्रप्रमुखसहित अतिविशिष्ट श्रेणीका सबै पाहुना (भीभीआईपी) लाई खुवाउने खाना नेपाली खाद्यविज्ञको प्रत्यक्ष रेखदेखमा तयार गरिनेछ।

पाहुनालाई प्रत्यक्ष रेखदेखमा खाना तयार गर्न सरकारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्यविज्ञ तथा उपसचिव कृष्ण राईको संयोजकत्वमा २९ सदस्यीय उच्चस्तरीय ‘खाद्य तथा पेय पदार्थ सुरक्षा टोली’ बनाएको  छ।

समूहमा विभागबाट राईसहित चारजना वरिष्ठ खाद्यविज्ञ, नेपाली सेनाका एक, नेपाल प्रहरीका एक र सशस्त्र प्रहरीका एक गरी तीनजना पोषणविज्ञ खटिएका छन्। नेपाल प्रहरीबाट एकजना विष (प्वाइजन) विज्ञ र लागूऔषध नियन्त्रण ब्युरोबाट एकजना नार्कोटिक विज्ञ पनि समूहमा छन्। समूहमा नेपाली सेनाका मेजरको नेतृत्वमा सादा पोसाकमा प्रहरीका नौ र सशस्त्रका १० जना सम्मिलित विशेष सुरक्षा समन्वय समिति परिचालन गरिएको छ।
खाना पकाउने क्रममा खटिएका होटेलका कामदार, भान्छाकोठा र खाद्य पदार्थको सरसफाइ तथा गुणस्तर निर्धारण, खाना पाक्ने र भण्डारण कक्षको तापक्रम निर्धारण, खाना र पेयपदार्थ तयार गर्ने बेलामा प्रयोग गरिने कच्चा पदार्थको गुणस्तर निर्धारण, पाकेको र तयार भएको पेय पदार्थको परीक्षण र नमुना लिने जिम्मेवारी टोलीलाई दिइएको छ।

‘तयार पारिएका खाना र पेय पदार्थ पुन: सातदोबाटोस्थित विधिविज्ञान प्रयोगशालाको फोरेन्सिक ल्याब तथा विभागको फुड ल्याबमा परीक्षण गरेर कुनै त्रुटि नपाइएको अवस्थामा मात्र अतिविशिष्ट पाहुनालाई उपलब्ध गराइनेछ’, संयोजक राईले जानकारी दिए।

खानाको गुणस्तर निर्धारण तथा स्वच्छताका लागि फुड ल्याब र फोरेन्सिक ल्याब सुविधा सम्पन्न बनाएर तयारी अवस्थामा राखिएको छ। टोलीले आइतबार काम थाल्नेछ। टोलीलाई २४ घन्टे जिम्मेवारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment