Comments Add Comment

प्रचण्डले बोली फेरे कि सिटौलाले डुबाए ?

PRACHAND-&-SITAULA-FINAL७ मंसिर, काठमाडौं । बालुवाटार सहमतिमा प्रचण्ड १२ घण्टा पनि टिक्न नसकेको भन्दै कांग्रेस र एमालेले संविधानसभाबाट संविधान बनाउन एमाओवादी चाहँदैन भन्ने कुरा पुष्टि भएको आरोप लगाएका छन् ।

यता एमाओवादी अध्यक्ष प्रचण्डले भने शनिवार राति अन्तिम सहमति नभएको दावी गर्दै कांग्रेस-एमालेको साझा प्रस्तावलाई तपशीलमा राखेर संविधानसभामा पठाउने कि अनूसूचीमा राख्ने भन्ने विवाद रहेको बताएका छन् ।

सिंहदरबार परिसरमा आइतबार बिहान पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले कांग्रेस-एमालेले आफ्नो प्रस्तावलाई तपसीलमा राख्न चाहेको तर २२ दलीय मोर्चाले अनुसूचीमा राख्नुपर्ने भनेकाले संवाद समिति बैठक बस्न नसकेको बताए ।

‘हिजो अन्तिम सहमति भएको थिएन, सभामुखले कांग्रेस-एमालेको साझा प्रस्तावलाई तपसीलमै भनेर पठाउदा पनि मतदानमा जानका लागि फेरि समितिमै आउने हो भनेपछि मैले मानेको हो,’ दाहालले भने, ‘तर यसैलाई अन्तिम सहमतिका रुपमा नबुझियोस् मैले २० दलमा पनि छलफल गर्नुपर्छ भनेको थिएँ तर मिडियामा सबै सहमति भयो भनेर आयो ।’

सार्क सम्मेलनअघि सहमति नहुने

२२ दलीय मोर्चाका संवाद समितिमा रहेका २० दलबीच विहान छलफल गर्दा उनीहरुले कांग्रेस एमालेको प्रस्तावलाई तपसीलमा होइन अनुसूचीमा मात्र राख्नुपर्छ भनेपछि कुरा नमिलेको दाहालले बताए ।

उनले अब सार्क सम्मेलनअघि सहमति नहुने संकेत गरे । अन्तिम सहमति नहुँदै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले सहमति भएको भनेर मिडियामा प्रचार गरेको आरोप एमाओवादीले लगाएको छ । स्रोतका अनुसार सिटौलाले षडयन्त्रपूर्वक डुबाउन खोजेको आरोप एमाओवादी नेतृत्वले लगाएको छ ।

यसैबीच एमालेका प्रमुख सचेतक अग्नि खरेलले प्रचण्डले १२ घण्टामै बोली फेरेको भन्दै सहमतिमा टिक्न नसक्नेको भर नहुने प्रतिक्रिया दिए ।

अनलाइनखबरसँग कुरा गर्दै खरेलले भने, ‘एमाओवादी संविधानसभाबाट संविधान बनाउने पक्षमा छैन भन्ने प्रमाण यही हो, हिजोको सहमति बमोजिम आज सम्वाद समितिकाे बैठक बस्ने भनिएको थियो, तर उनीहरु पछि हटे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment