Comments Add Comment

दुईजिउकी जौकलाले खोक्दा कहालिन्छ कल्सेको मन

Kalse-Nepali, MUGU-650
कल्से नेपाली र उनकी पत्नी जौकला

मात्रिका पौडेल
७ मंसिर, मुगु । दुईजिउकी जौकलाले ख्वाक्क खोक्दा दृष्टिविहीन पति कल्से नेपालीको छाती चिरिन्छ । ‘सूर्ती नखाउ भन्या मान्या होइनन्, पहिला बच्चा पनि खेर गया, यसपाला के हुन्या हो,’ रारा तालको किनारामा सुस्ताउँदै दृष्टिविहीन कल्सेले एक वर्षअघिको कहानी सुनाए ।

जौकला अघिल्लो वर्ष पनि दुई जिउकी थिइन् । सुत्केरी व्यथाले च्यापेका बेला अस्पताल लैजान भनेर कल्सेले उनलाई गमगढीबाट ताल्चा विमानस्थलसम्म नल्याएका होइनन् । तर दुई दिनसम्म प्लेन नआएपछि जौकला जमीनमा ढलिन् ।

उनलाई गाउँले सुडेनीहरुले समाते । र, पाठेघरमा हात हालेर मरेको बच्चा निकाले । अत्यधीक रक्तस्राव भए पनि जौकलालाई बचाउन सफल भए कल्से ।

दुई वर्षकै उमेरमा दुबै आँखाको ज्योती गुमाएका कल्से नेपाली मुगुका मात्र होइन, कर्णालीकै सेलिब्रिटी गायक हुन् ।

सेलिब्रिटी त भन्नुमात्रै, कर्णालीको भाकामा ठाउँ ठाउँ गीतका तुक्का भर्छन्, सभा समारोह, मेला महोत्सवमा मान्छेलाई हसाउँछन्, नचाउँछन् । अनि दुई चार सय रुपैयाँ बटुलेर ज्यान पालेका छन् उनले ।

मुगुका स्थानीय रेडियोमा कल्सेको स्वर नगुन्जिएको दिनै हुँदैन । स्थानीय विज्ञापन कल्सेकै स्वरमा रडियोमा गुन्जिन्छन् । सरकारी कार्यालयहरुले पनि कुनै प्रचार प्रसार गर्नुपरेमा कल्सेकै स्वर खोज्छन् रेडियोमा ।

पत्नी जौकलाको सहरामा गाउँ गाउँमा गीत गाउन पुग्ने कल्सेलाई तब ऐठन शुरु हुन्छ, जब दुई जिउकी पत्नी खोक्न थाल्छिन् । अघिल्लो वर्ष फागुन १६ गते सुत्केरी गराउन नसकेर पहिलो बच्चा खेर गएकाले उनी यसपालि कुनै पनि हालतमा दोस्रो सन्तान खेर जान दिने पक्षमा छैनन् ।

‘बरु हप्पै पैसा खर्च गरेर तल बडा अस्पताल झार्न्या हो,’ कल्सेले रारा किनारामा सुस्ताउँदै मुगाली लवजमा अनलाइनखबरसँग भने, ‘सूर्ती नतान् भन्या मान्या होइन, सूर्तीका धुँवा पेटभित्रका बच्चाकन असर गर्छ भन्छन् ।’ उनी ‘सबै’ भन्नुपर्दा स्थानीय स्वरमा ‘हप्पै’ भन्छन् ।

Kalse-Nepali-MUGU, 450कल्से र जौकला दुबै ‘चेन स्मोकर’ हुन् । दृष्टिविहीन पतिलाई जौकला नै चुरोट, सूर्ती सल्काएर दिन्छिन् र आफू पनि निष्फिक्री भएर धूँवामा जिन्दगीको कल्पना गर्छिन् ।

‘सरले भनी हाल्यौ, अब बच्चा हुन्जेललाई छाड्न्या हो,’ अनलाइनखबरकर्मीले धुमपान त्याग्न गरेको आग्रह स्वीकार्दै जौकलाले भनिन्, ‘क्या गर्न्या हजुर तल् तल् लागिहाल्छ ।’

अघिल्लो वर्ष सुत्केरी व्यथा लाग्दा समयमै उपचार नपाएर कल्से र जौकलाले दुःख पाएको समाचार आएपछि केही सहयोगीहरुले उनलाई आर्थिक सहायता गरेका थिए ।

त्यो पैसाले उनले जौकलालाई आधा तोलाको छड्के तिलहरी बनाइदिएका छन् । ‘बुढेसकालकी जोई हजुर, यसो छड्के तिलहरी दिएर पनि फकाउनैपर्‍यो,’ रोमान्टिक पारामा कल्से बहकिए, ‘पहिलाकी पनि लाउन खान नपाएर बाजुराको नाठोकन पोइल गई ।’

त्यसो त जौकलालाई आफ्नी बनाउन कल्सेले सानोतिनो प्रतियोगिता नै जितेका रहेछन् । ४९ वर्षीय कल्सेले २४ वर्षीया जौकलाको मन जित्न गाएको गीत अहिले पनि सम्झन्छन् उनी ।

मुगु खत्याडका कल्से जौकलाको गाउँमा मेला भर्न गएका थिए । जौकलाको रुप नदेखे पनि उनका बारेमा वर्णन सुनेपछि फकाउन उनले अनेक गीत गाए ।

जोई-पोइ हुनुभन्दा अघि उनीहरुबीच दोहोरी नै चल्यो । कल्सेलाई इन्कार गर्दै जौकलाले गाएको गीत यस्तो थियो-

जौ चालौला गहुँ चालौला, कोद्या के चालौला
तुम्बा पोइल जान्याकन क्या गरी पालौला ?

कल्सेले लगत्तै जवाफ फर्काए, जुन जवाफले जौकला उनकी भइन् ।

निकै खाउली निकै लाउली खुर्सीमै बसौली
मेरा पोइल गयौ भन्या चमौली घसौली ।

आखिर कल्सेले भनेजस्तै भयो । गमगढीमा डेरा लिएर बसेका दृष्टिविहीन कल्सेले आफ्नो जीवनकी सहारा बनेकी जौकलालाई राम्रै खुवाएका छन् । निकै लगाएका छन् ।

स्थानीय भाषामा राम्रोलाई ‘निको’ भन्छन् । खुर्सी अर्थात कुर्सीमै बस्न पाएकी छन् जौकला । ‘म गायक परेँ हजुर, मलाई डोर्‍याउन्या भएपछि उनीकन कुर्सी दिहाल्छन् बस्नलाई’ कल्सेले भने ।

Kalse-Nepali, MUGU KARNALIकल्से नेपालीलाई नचिन्ने मुगुका सायदै कोही छन् । उनी सबै राजनीतिक दल र सरकारी अड्डाहरुका कार्यक्रममा नछुटाइने गायक हुन् ।

लक्ष्मीप्रसाद देवकोटालाई आशुकवि भनेजस्तै कल्सेलाई आशु गायक भन्दा पनि हुन्छ । जुनसुकै विषय र कार्यक्रममा पुगे पनि उनी तत्कालै सोही सन्दर्भको गीतका तुक्का सोचेर मीठो स्वरमा गाउँछन् ।

केही साताअघि रारा तालको किनारामा कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) र वातावरण मन्त्रालयले आयोजना गरेको जलवायु परिवर्तनबाट उच्च पहाडी जीबन खतरामा परेको सन्दर्भमा आयोजित राष्ट्रिय सम्मेलनमा पनि कल्से पुगेका थिए ।

‘बोलाएर होइन हजुर आफैं आया हुँ,’ यति भन्दै उनले एउटा गीत गाउने अनुमति मागे । किर्डाकका कार्यकारी निर्देशक मीनबहादुर शाहीले उनको प्रतिभालाई राष्ट्रिय मिडियामा पुर्‍याउन अवसर दिए ।

आयोजकले अनुमति दिएपछि नीति निर्मातालाई समेत साम्नेमा राखेर उनले असिनाबाट मुगुमा भएको करोडौंको धानबाली नष्ट भएको कुरालाई सुरिलो स्वरमा उतारे ।

कात्तिक ८ को असिनाले भिनाजु
बाली सखापै भया ।
खत्याड गाउँका भिनाजु
मार्सी धानको ज्युला सखापै भया ।
नपरे असिना भिनाजु
राराताल ढल्काउन्या गरी ।
गरिबका पसीना भिनाजु
कहिले जान्या हुन् क्या गरी ।

दुःखको पहाडमाथि बसे पनि कल्सेलाई अरु केहीको चिन्ता छैन । चिन्ता छ त एउटै मात्र, कतै यसपालि पनि जौकलाले समयमै उपचार नपाएर अर्को सन्तान पनि खेर जाने पो हो कि ?

के थाहा उसलाई नै केही भइहाल्ने पो कि ? बुढेसकालकी सहारा जौकलाको चिन्ताले जति नै सताए पनि उनीसँग जौकलालाई नेपालगञ्ज वा अन्य सुविधा सम्पन्न शहरमा लगेर सुत्केरी गराउन लैजाने आर्थिक हैसियत छैन ।

‘गरीबका सपना त हजुर, नदेख्दै राम्रो हुन्या,’ लामो सुस्केरा हाल्दै कल्से र जौकलाले धुँवामा आफ्ना सपना उडाउन थाले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment