Comments Add Comment

सार्क परराष्ट्र सचिवस्तरीय ४१ औं बैठक सुरु

७ मंसिर, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को आइतबारदेखि परराष्ट्र सचिवस्तरीय ४१ औं स्थायी समितिको बैठक सुरु भएको छ । बैठक साेमबार पनि बस्नेछ ।

बैठकमा सार्क महासचिव अर्जुनबहादुर थापाले आफ्नो आवधिक विश्लेषणात्मक प्रतिवेदन पेस गरेका छन् । सो प्रतिवेदनमाथि सदस्य राष्ट्रले छलफलसहित सुझाव दिइसकेपछि त्यसलार्इ पारित गरिनेछ।

दुई दिनसम्म चल्ने बैठकले निकाल्ने अन्तिम निष्कर्षलाई सार्क मन्त्रीस्तरीय बैठकले अनुमोदन गरेपछि शिखर सम्मेलनबाट काठमाडौं घोषणापत्र जारी हुनेछ ।

परराष्ट्र सचिवस्तरीय ४१ औं बैठकमा सहभागी हुनुअघि सन्चारकर्मीसँग कुरा गर्दै सार्क महासचिव अर्जुनबहादुर थापाले सार्क शिखर सम्मेलनका अवसरमा ऊर्जा सहयोग, रेल र सडक यातायातसम्बन्धी सम्झौताका लागि मस्यौदा तयार भएको जानकारी दिए ।

‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ भन्ने नारा साथ मंसिर ९ र १० गते १८ औं सार्क शिखर सम्मेलन काठमाडौंमा हुनेछ ।

सार्क शिखर सम्मेलनअन्तर्गत शनिबार कार्यक्रम समितिको बैठक सम्पन्न भएको थियो । बैठकले सार्कअन्तर्गतका अभिलेख, सूचना र मानव संसाधन गरी तीनवटा केन्द्रलाई बन्द गर्न सिफारिस गरेको थियो । ती केन्द्रका कार्यालय क्रमशः नेपाल, पाकिस्तान र भारतमा छन् ।

त्यस्तै भुटान, भारत, माल्दिभ्स र बंगलादेशमा रहेका वन व्यवस्थापन, विपद् व्यवस्थापन, तटीय क्षेत्र व्यवस्थापन र जलवायु अनुसन्धान केन्द्रलाई गाभेर ‘वातावरण तथा विपद् व्यवस्थापन केन्द्र’ नामक नयाँ केन्द्र बनाउन सिफारिस बैठकले गरेको थियो ।

नयाँ केन्द्रको कार्यालय स्थापनाका लागि भारत, पाकिस्तान, बंगलादेश र भुटानले इच्छा देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment