Comments Add Comment

वैद्य र विप्लववीच बैठकमै जुहारी

७ मंसिर, काठमाडौ । नेकपा-माओवादी केन्द्रीय समितिको विस्तारित बैठकमा आइतबार अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दको जुहारी चलेको छ । Baidhya N  Biplab
सचिव चन्दले आफ्नो समूहको कपिलवस्तुमा छुट्टै गोप्य भेला गरेपछि फुटको संघारमा पुगेको माओवादीको आइतबारबाट कुपण्डोलस्थित नेवाः राज्य समितिको कार्यालयमा सुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकमा बैद्य र चन्दबीच भनाभन भएको हो ।
बैठकमा ‘नयाँ जनवादी क्रान्तिको तयारी र पश्चगामी संविधानसभाको विघटनका लागि संघर्ष गर्दै पार्टीलाई क्रान्तिकारी अनुशासित र एकताबद्ध बनाउँ’ शीर्षकको ६ पृष्ठ लामो दस्तावेज पेश गरेका अध्यक्ष वैद्यले सचिव चन्दलाई दक्षिणपन्थी अवसरवादीको आक्षेप लगाए ।
‘माक्र्सवाद लागू गर संसोधनवाद होइन, एकतावद्ध होउ- नफुट, खुला र स्पष्ट होउ- छलछाम र षड्यन्त्र नगर’ भन्ने माओको उद्धरणबाट दस्तावेजको व्याख्या थालेका वैद्यले फुटपरस्त गतिविधि गरेको भन्दै विप्लवको कडा आलोचना गरेका छन् ।
पार्टीका नेता कार्यकर्ताहरुले पार्टी अनुशाशन पालना गर्नुपर्ने वैद्यको जिकिर छ । वैद्यले पार्टीभित्र गल्ती कमीकमजोरीहरु भएको स्वीकार गर्दै पार्टी विधि पद्धतिभन्दा बाहिर गएको गएको स्पष्ट गरेका छन् ।
अध्यक्ष वैद्यले पार्टी फुटको संघारमा पुगिसकेको अवस्थामा एकै ठाउँमा बसेर छलफल गरिनु सकारात्मक पक्ष बताएको प्रवक्ता पम्फा भुसाले जानकारी दिइन् ।
वैद्यले आफ्नो राजनीतिक दस्तावेज पेस गरेपछि आफ्नो धारणा राखेका सचिव चन्दले अध्यक्ष वैद्यलाई पाखण्डीको संज्ञा दिएका छन् । उनले नेतृत्वले पार्टीलाई ढुलमुलमा पारेको आक्षेप लगाए ।
विप्लवले आफूहरुले गरेको अन्तरक्रिया र छलफलको जवाफ दिनुको आवश्यकतासमेत नरहेको उल्लेख गरे ।
‘क-कसले के-के गर्यो, कस कसले के-के गरे, ती कुरा छाड्दिनुस्,’ सचिव चन्दले भने, ‘कतिपय सुरक्षाका सवाल पनि हुन्छन्, सेना निर्माणजस्ता प्राविधिक कुराहरुबारे बताइरहनुपर्छ भन्ने छैन ।’

सोमबार केन्द्रीय सदस्यको बोल्ने पालो
बैठकको पहिलो दिन पार्टी अध्यक्ष वैद्य र असन्तुष्ट पक्षका नेता चन्दले धारणा राखिसकेपछि सोमबारदेखि सबै केन्द्रीय सदस्यहरुले धारणा राख्ने माओवादीले जनाएको छ ।
प्रष्टरुपमै दुई कित्तामा देखिएको माओवादी पार्टी विभाजन हुने/नहुने टुङ्गो पनि यही बैठकले नै लगाउने विश्लेषण गरिएको छ ।
चन्द पक्षले यसअघिको पदाधिकारी, पोलिटब्युरो तथा केन्द्रीय समितिको बैठक बहिष्कार गरेको थियो । पछिल्लो केन्द्रीय समिति बैठकले असन्तुष्ट नेताहरुले समानान्तर संगठन चलाएको भन्दै आत्मालोचनासहित लिखित स्पष्टीकरण दिएर मात्रै केन्द्रीय समितिको विस्तारित बैठकमा सहभागी हुन निर्देशन दिएको थियो ।
तर, स्पष्टीकरण दिनुपर्ने आवश्यकता नभएको भन्दै वैठकमै सहभागी नहुने चन्द पक्षको अडानपछि शनिबार दुई पक्षबीच बैठकमै स्पष्टीकरण र आत्मालोचना तथा आ-आफ्नो धारणा राख्ने सहमति भएको थियो ।
उक्त सहमतिपछि चन्द पक्ष पनि विस्तारित वैठकमा सहभागी भएको हो ।
अध्यक्ष वैद्य पार्टीको सातौं महाधिवेशनले पारित गरेको ‘जनयुद्धको जगमा जनविद्रोह’ को कार्यदिशा नै लागू गर्नुपर्ने पक्षमा छन् भने सचिव चन्दले तत्काल विद्रोहमा जानुपर्ने अडानका साथ एकीकृत क्रान्तिको अवधारणा अघि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment