Comments Add Comment

सार्क मुलुकका परराष्ट्रमन्त्री आज आउँदै

Saarc_Sumit_Nepal
८ मंसिर, काठमाडौं । आगामी बुधबार र बिहीबार राजधानीमा आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँँ शिखर सम्मेलनमा भाग लिन सदस्य मुलुकका परराष्ट्र/बाहृय मामिलामन्त्रीहरू सोमबार काठमाडौं आउँदैछन् ।

१८ औं शिखर सम्मेलनको पूर्वसन्ध्यामा मंगलबार आयोजना हुने सार्क मन्त्रिपरिषद्को ३६ औँ बैठकमा सहभागी हुन सार्कका परराष्ट्र/बाहृय मामिलामन्त्रीहरू सोमबार आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा भाग लिन अफगानिस्तानका कायममुकायम परराष्ट्रमन्त्री जरार अहमद ओसमानी, बङ्गलादेशका विदेशमन्त्री अब्दुद हसन महमुद अली, भुटानका विदेशमन्त्री ल्योन्पो रिञ्जिन दोर्जी, भारतका बाहृय मामिलामन्त्री श्रीमती सुष्मा स्वराज नेपाल आउने छन् ।

यस्तै मालदिभ्सका विदेशमन्त्री सुश्री दुन्या मौमुन, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफका राष्ट्रिय सुरक्षा तथा विदेश मामिला सल्लाहकार सरताज अजिज र श्रीलङ्काका बाहृय मामिलामन्त्री प्रा गामीनी लक्ष्मण पेइरिस काठमाडौँ आउँदैछन् ।

मंगलबार हुने परराष्ट्रमन्त्री स्तरीय बैठकमा अफगान परराष्ट्रमन्त्री ओसमानीले चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ भने विदेशमन्त्री नेतृत्वको बङ्गलादेशी टोलीमा १० जना सदस्य रहनेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा चार सदस्यीय भुटानी प्रतिनिधिमण्डलको प्रतिनिधित्व रहने छ भने भारतीय प्रमण्डलमा ९ सदस्य छन् । त्यस्तै ९ सदस्यीय श्रीलङ्काली प्रतिनिधिमण्डल र सात सदस्यीय पाकिस्तानी टोली परराष्ट्र मन्त्रिस्तरीय बैठकमा सहभागी हुनेछ ।

उक्त बैठकमा १८औँ शिखर सम्मेलन आयोजक मुलुक नेपालका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले १७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

सार्क प्रावधानअनुसार कार्यक्रम समिति, स्थायी समिति, मन्त्रिपरिषद् र शिखर सम्मेलन आयोजना हुने गरेको छ । सदस्य मुलुकका सार्क महाशाखा हेर्ने सहसचिवस्तरीय कार्यक्रम समितिको बैठक गत शनिबार सम्पन्न भइसकेको छ । परराष्ट्र सचिवहरु सम्मिलित स्थायी समिति बैठक आज अपराहृन समाप्त हुनेछ ।

मंगलबार मन्त्रिपरिषद् बैठक पूरा भएपछि सार्क मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरूको बैठक अर्थात् शिखर सम्मेलन बुधबार र बिहीबार हुनेछ ।

‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ नाराका साथ यही मङ्सिर १० र ११ गते यहाँ आयोजना हुने १८औँ शिखर सम्मेलनमा सहभागी हुन सार्क मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरू मङ्गलबार राजधानी आइपुग्ने कार्यक्रम रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment