Comments Add Comment

चौधरी ग्रुपको लगानीमा १५ मेगावाटको मध्यमोदी जलबिद्युत आयोजना निर्माण सुरु

middle-modi
८ मंसिर, काठमाण्डौ । चौधरी ग्रुपको लगानीमा १५.१ मेगावाटको मध्यमोदी जलबिद्युत आयोजना निर्माण हुने भएको छ ।
नेपाल जल विद्युत् पूर्वाधार तथा विकास लिमिटेडले यस परियोजना विकास गर्नेछ । चौधरी ग्रुप र कोस्टल इन्डिया यस कम्पनीका मुख्य साझेदार हुन् ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले मंसिर ७ गते मध्य मोदी जलविद्युत् परियोजनाको शिलान्यास गरे ।
मध्य मोदी जलविद्युत् परियोजना निर्माणस्थल पर्वत जिल्लाको भुकताङ्ले-१ भुरुङडाँडामा छ भने पावर हाउस पर्वत जिल्लाको देउवापुर-२ मानिनश्वाँरामा रहनेछ ।

परियोजना शिलान्यास गर्दै अध्यक्ष चौधरीले नेपालको जलविद्युत् परियोजनामा लगानी गर्ने आफ्नो सपना पुरा हुन लागेकोमा सन्तोष ब्यक्त गरे । देशका लागि अत्यावश्यक रहेको विद्युत् आपूर्तिमा यस परियोजनाले थोरै भए पनि योगदान पुर्‍याउने उनको विश्वास थियो ।

middle-modi2

सन् २००८ मा चौधरी ग्रुपले अन्तर्राष्ट्रिय लगानीकर्ताहरुसँगको साझेदारीमा करिब १५०० मेगावाट जल विद्युत् उत्पादन क्षमता भएका परियोजनाहरुमा लगानी गर्ने निर्णय लिइसकेको अवस्थामा त्यतिखेर देशभित्र लगानीको वातावरण बन्न नसक्दा साझेदार अन्तर्राष्ट्रिय लगानीकर्तासँगै पछि हट्नु परेको उनले बताए ।

‘त्यतिखेर अगाडि बढाइएका परियोजनाहरु सम्पन्न गर्न सकिएको भए सायद अहिले आम नेपाली नागरिकले दैनिक १६ घण्टाको लोडसेडिङ भोग्नुपर्ने थिएन’, अध्यक्ष चौधरीले भने ।

नेपालका ठूला पूर्वाधार निर्माणमा ख्यातीप्राप्त हिमाल हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले यस परियोजना निर्माण गर्ने जिम्मा पाएको छ । मध्य मोदी जल विद्युत् परियोजना निर्माण प्रारम्भ भएको तीन बर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । यस परियोजनाको लागत करिब दुई अर्ब ८० करोड रुपैयाँ रहने अनुमान गरिएको छ ।

middle-modi1

मोदी खोलामा ‘रन अफ रिभर’ मोडलमा निर्माण हुने यस परियोजनाको विद्युत् २.४ किलोमिटर लामो १३२ केभी प्रशारण लाईनमार्फत केरुङ्गामा ल्याई नेशलन ग्रिडमा जोडिनेछ ।

निकट भविष्यमै चौधरी ग्रुप साझेदारहरुसँगको सहकार्यमा ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् परियोजना निर्माणको तयारीमा रहेको चौधरी ग्रुपले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment